ए समय,
तिमी मेरो मनको अँध्यारो कुनाभित्र पसेर
सूर्यको किरण छताछूल्ल पारिदिने
वाचा गरिदिन सक्छौ?
या बॉच्न र हाँस्न चाहिने आशा दिन सक्छौ?
यदि सक्दैनौ भने ,तिम्रो आगमनको कुनै उत्साह छैन
तिमीलाई स्वागत गर्ने जाँगर पनि छैन।
चालमारेर विदा भएको तिम्रो विगत जस्तै
चुपचाप आउ,
तिम्रो आगमन अवश्यंभावी छ
न कसैले रोक्न सक्छ,
न कसैले जित्न सक्छ
किनकि, तिमी समय हौ
र, हामी तिम्रा दास हौँ
‘दास प्रथा’ उन्मुलन गर्छु भनेर कुर्लनेहरु पनि
तिम्रा सामू हार्नेछन्
सँधै हॉसेर जिउँछु भन्नेहरु पनि
तिम्रा अगाडी ऑशुमा डुब्नेछन्
मेरो मनमा तिम्रो उपस्थिति,
पाउजुप लगाएको झँकृत पदचाप जस्तो हुने छैन
तरपनि, म विवश छु, बाध्य छु
तिम्रो स्वागत गर्न
किनकि,
तिमी समय हौ र म तिम्रो दास
त्यसैले समय, अभिमान प्रदर्शन गरेर
मेरो मन अरु नरुवाउ!
म कति बाँचु, देखावटी खुसीको आडमा?
म कति हाँसु,
कुनै सुन्दरीको बोटोक्स’ ले भरिदिएको ओठमा?
मेरो आँखामा डुबेर त हेर!
अनि देख्नेछौ,
आँखा हाँस्नु र ओठ तन्काउनुको फरक !
यदि फरक छुट्याउने ईच्छा राख्दैनौ भने,
फेरि भन्छु, कुनै रहर छैन तिम्रो आगमनको
कुनै ईच्छा छैन तिम्रो स्वागतको
मेरो लागि तिम्रो आगमनले,
कुनै आनन्द छर्ने छैन
मेरो हृदयमा, तिम्रो उपस्थितिले
मन्दिरको घन्ट बज्ने छैन
हेर त, आकास रोइरहेछ!
धर्ती सुकिरहेछ!
मेरो विन्ति लाग्छ भने,
मलाई तिम्रो दास नबनाउ!
