तिमी हिमाल हेर्दै
कति खुशी हुन्थ्यौ
तश्वीर टाँसेर भित्तामा हेर्दै
कत्ति रोमाञ्चित हुन्थ्यौ तिमी
शायद सोच्दथ्यौ होला
म पनि हिमाल जस्तै शुन्दर हुन पाउँ
हिमाल जस्तै अग्लो हुन पाउँ
आज तिम्रो यो इच्छा पूरा भएकोछ
तिमी शुन्दर अग्ला हिमालसितै
एकाकार भएका छौ ।
तिमी पहाड भीर जंगल देखेर
कत्ति भावुक हुन्थ्यौ
छातिमा पहाडको तश्वीर टाँसेर
कत्ति खुशी हुन्थ्यौ तिमी
शायद सोच्दथ्यौ होला
म पनि पहाड जस्तै शान्त हुन पाउँ
भीर पाखा जंगल जस्तै स्वच्छ हुन पाउँ
आज त्यो इच्छा पनि तिम्रो
पूरा भएको छ
तिमी शान्त भीर पहाड सितै
एकाकार भएका छौ ।
आज बीचैमा टुक्रिएको सपना जस्तो
खेल्दाखेल्दै काटिएर गएको चंङ्गा जस्तो
आकाशमा हेर्दाहेर्दै बिलाएको खुशी जस्तो
आखिर हामीले हारे पनि तिमीले जित्यौ
तिमीलाई हामी शिर निउराइ विदा गर्दैछौं
धमिला आँखाले विदा गर्दैछौं
कोही भन्छन् आँसु पुछ्ने रुमाल रहेन अब
यसरी मन मनहरू
वन वनहरू
दशैं हो कि दशा हो
सबै अल्मलिएका छन् ।
उफ् !
कसरी आज अचानक एकसाथ
हिमाल र पहाडहरू थपिएकाछन्
हिमाल र पहाडका उँचाई थपिएकाछन्
अनायास शुन्दरता बढेकोछ
तिम्रो अभावमा पाएको यो
उचाई अनि शुन्दरता देखेर
नियति स्वयम् स्तब्ध छ
शायद
तिमीलाई दिने मेरो
श्रद्धाञ्जलीको
अर्थ पनि यही हो ।
२०६२।६।१४ विराटनगर नेपाल ।
(२०६३।६।७ गते ताप्लेजुङको घुन्सामा दिवंगत भएका डा. हर्क गुरुङ लगायतका २४ जना संरक्षणमा समर्पित विशेषक्षहरूको संझनामा सपर्पित कविता)
