फर्किंदा घर वर्षौंपछि काँ’को काँ’को भएछु म ।
आफ्नैलाई कोक्याउने वनको बाँको भएछु म ।
सबको निंती छेलोखेलो खुशी ल्याएं भन्ठानेथें ,
बाँड्दै जाँदा पो पत्तो पाएँ एकै फाँको भएछु म ।
दिन नसकेको खुशी अरुको ओठ्मा खोजीहेर्दा ,
नभेटेर मुस्कान आफुचाँही डाँको भएछु म ।
लाग्थ्यो फुर्ती बेग्लै हुन्छ प्रवासबाट फर्कँदाको ,
छिमेकीका सामु तर झरेको झाँको भएछु म ।
चिरिएका ति घाउहरु धागो भई तुनुँ लाग्थ्यो ,
पुरिँदैको त्यै घाउमा फुस्केको टाँको भएछु म ।
