आच्छ्युँ खाएँ बाँच्छ्युँ खाएँ झुसे बारुला के भो र ?
जाई कटक नगर्नु झिकी कटक गर्नु, सेखी झारुँला के भो र !
विज्ञ धेरै छन् सर्वज्ञ छैनन् भन्ने पनि त बुझ्नुपर्छ
औंल्याई देऊ मेरा कमजोरीहरू स्वीकारुँला के भो र !
के गरें र आजसम्म त गर्नु अँझै धेरै छ जीवनमा
केही निखारें अनुभवहरू अँझै निखारुँला के भो र !
नियतैले खोटी बन्नु पो हुन्न दोष होला अन्जानमा
हुने हार दैव नटार जस्तो पर्ला उस्तै टारुँला के भो र !
झिना मसिना प्रवाहै नगरौं, धैर्यता पनि चाहिन्छ
अति भए त खति पनि हुन्छ चोख्टा तारुँला के भो र !
जाई कटक नगर्नु झिकी कटक गर्नु, सेखी झारुँला के भो र !
झलक पाली ‘झरना’
लक्ष्मीनगर–३, बिनोडा, जोरायल डोटी
हाल : दिपायल सिलगढी न.पा. १, सिलगढी, डोटी
(रचना मिति : २०७३ श्रावण २१ गते)
