Skip to content

पुनर्विवाह

  • by
LaxmiRijal


मेरा लखुरामे,

मलाई विश्वास छ, तिमी जहाँ भए पनि उच्च र सम्मानित स्थानमा छौ । आफ्नो स्वास्थ्यको ख्याल गर्न कमी गरेका छैनौ होला । तिमी यहाँ रहुन्जेलसम्म मलाई पूरै भरोसा दिएका थियौ । मलाई आधा जिन्दगी होइन तीन चौथाइ हिस्सा ठानेका थियौ ।

डेढ दशकसम्म सँगैसँगै दाम्पत्य रथ गुडाउँदा मैले तिमीलाई नजिकबाट चिनेकी छु । नौ महिनासम्म कोखमा राख्ने आमाले पनि महसुस नगरेकी होलिन्, त्यति स्पष्टसँग मैले तिम्रो हृदयको अन्तरकुन्तर स्पर्श गरेकी छु । तिम्रो मन कञ्चन थियो । बियाँ र ढुङ्गा–माटो बिनाको टुठफुट नभएको चामल थियो । भर्खरै मूलबाट निस्केको सङ्लो पानी थियो ।

लखुरामे ! एकाएक के निर्णय लियौ ? चटक्कै छाडेर हिँडेको पनि तीन महिना नाघेछ । त्यत्ति दयालु मान्छे कसरी निर्दयी बन्यौ ? तिमीलाई केको अभाव थियो र ? तिमीलाई कुन सेवा उपलब्ध थिएन र ?

म त ठान्छु– तिमी स्वय म सर्वगुणले सम्पन्न थियौ । मैले दिन सक्ने हरेक सेवा पाउमै टक्र्याएकी थिएँ । मनको वेदना मनमै पचाएर मुस्कुराएकै थिएँ । आफ्नो अमनचयन भुलेर रातो दिन तिम्रै हितमा डटेर खटेकै थिएँ ।

तिमी मावि तहको सरकारी शिक्षक भएकै थियौ । जवानीमा बाइस वर्षसम्म बोर्डिङ स्कुलमा कठोर श्रम गरेपनि उमेर ढल्कँदै जाँदा अहिले सुखपूर्वक जागिर गर्न पाएकै थियौ । आफूले नसक्दा म पढाइदिन सकिहाल्थेँ । र, अल्पकालका पढाउन पाउने सुविधा विद्यालयले उपलब्ध गराएकै थियो ।

भलै, कसैकसैका मुखबाट दुईचार कुरा भने सुन्नुपर्थ्यो– पोइ उपचारार्थ देशविदेश धाउने, यता पोइको जागिर जोईले पकाउने ! क्या भाग्यमानी माष्टर रहेछ अनि लोग्नेको बिँडो थाम्ने कस्ती दक्ष स्वास्नीमान्छे रहिछे । सबैले यस्तै पति र पत्नी पाए समाजले काँचुली फेर्न कतिबेर लाग्छ र ?

हाम्रा बारेमा मान्छेले गरेका यस्ता टीकाटिप्पणी सुनेर म सारा पीडाहरू बिर्सन्थेँ । तिमीजस्तो नामी र दामी पति पाएकोमा भित्रभित्रै पुलकित हुन्थेँ । र, एकान्त पाउनासाथ सोह्र वर्षे तरुनीझैँ एक फेरा नाचिदिन्थेँ । सानी छोरीले ‘के गरेको मामू !’भन्दा पो झसँग हुन्थेँ र लाजले मुन्टो निहुर्याउँदै सुसेधन्दामा व्यस्त हुन्थेँ ।
लखुरामे ! हाम्रो जीवनमा २०७४ कार्तिक १० गते रोक्नै नसकिने आँधीबेहरी आयो । त्यसले तिमीलाई दीर्घरोगी मात्र पारेन, अपाङ्गै पारेर छाड्यो । उच्च रक्तचाप नियन्त्रणमा आउँदै आएन । फलत: तिमी पक्षाघातले जकडियौ । शरीरको दाहिने पाटो घिसार्दै पाइला चाल्ने भयौ । म तिमीलाई ओखती खुवाउने, मालिस गर्ने र अन्य वैयक्तिक काममा सघाउने सेविका भएँ ।

कामले हामीलाई सघाउने अरू को नै थिए र ? ससुरा बा असी कटेका दमका विरामी भइहाले । सासू आमा पचहत्तर नाघेकी उच्च रक्तचापकै रोगी भइहालिन् । तिम्रा दाजुभाइ उहिल्यै छुट्टिएर आ–आफ्नो घरजम गरेर कोही विदेश पसेका कोही घरमै रहेका थिए । तिम्रो सेवामा रातोदिन समय दिन सक्दैनथे ।
भएको मेरो एउटा भाइ र बहिनी रोजिरोटीका लागि विदेश पसेका थिए । जेठी छोरीलाई आमाबुबाले पढाइदिने बिँडो थामिदिनु भएकै थियो । मेरा मावलीहरूले तिमीलाई उपचारार्थ काठमाडौँ, विराटनगर र भारतको दरभङ्गा–समस्तीपुर पुर्याएकै हुन् । सकेजति र भ्याए जति आडभरोसा गरेकै हुन् । उनीहरूले पनि आ–आफनो जागिर पक्रनै पर्यो । कसलाई के भन्ने ! जीवन रहेसम्म सुख–दु:खमा साथ दिन्छु भनेर कसम खाएकी एउटी म परेँ । मैले आफ्नो कर्तव्य पूरा गर्न कतै चुकेजस्तो लाग्दैन ।

तिमी भन्ने गर्थ्यौ– उत्तिखेर सानैमा घर छाडियो । बोर्डिङे माष्टर छँदा आमाबालाई पाल्न सक्ने अवस्था नै थिएन । र, खाँचो पनि थिएन किनभने उनीहरू सारसौँदै थिए । यता आएर सरकारी माष्टर पनि भइयो, आमाबा पनि बुढेसकालमा प्रवेश गरे । अरू छोराहरू पनि आ–आफ्नो लगनी गर्न थाले । अब सेवा गर्नुपर्ने बेला थियो, आफैँ ढल्नुपर्यो । एउटा छोराको जीवनमा यसभन्दा बढता दुर्भाग्यको घडी अरू के हुन्छ ?

म जवाफ दिन्थेँ– बुढेसकालमा हेरविचार गर्छु, सुखसुविस्था दिन्छु, बुढेसकालमा सधैँ खुशीयाली नै खुशीयाली दिन्छु भनेर आमाबालाई आफ्नो कार्यस्थलमा ल्याएकै हो । एउटा घरै खोजेर बस्ने वातावरण मिलाएकै हो । आमाबालाई ल्याएको तीन घण्टामै आफैँ हल नचल भएर विराट नर्सिङ होममा भर्ना हुनुपरेपछि कसको के लाग्दो रहेछ र ! आफू फर्केकै एम्बुलेन्समा राखेर बाआमालाई पूर्ववत् घर फर्काएकै हो । गर्न खोजेकै हो, नजुरेपछि चित्त नदुखाऊ । आफू सारसौँदो भएपछि आमाबाको सेवा गर्दा भइगयो नि !

एक समय तिमीले भनेको वचन मनमै गडेको छ– मान्छेको मन स्वच्छन्द रूपमा वनमा घुम्ने, सागरमा बग्ने र आकाशमा उड्ने गर्छ । बन्धनमा रहनु भनेको चरालाई पखेटा काटी पिँजडामा कैद गरेजस्तो हुन्छ । स्वतन्त्र हुन चाहनु मान्छेको स्वभाव हो यद्यपि मान्छे कहिल्यै स्वतन्त्र नभई आर्यघाटमा सेलाउँछ । मास्टर्नी मान्छे, यत्ति त कुरो बुझ्छ्यौ होला नि । अन्नपानीले बनेको शरीर हो, सास बचाउन खानैपर्छ भनेर गलगिद्ध खुवाउन खोज्छ्यौ । खायो कि रक्तचाप बढेर टुप्पामा पुग्छ । अनि केका लागि खानू ! धेरै मान्छे धेरै खाएर मर्छन्, खानै नपाएर विरलै मान्छे मर्छन् । तिमी कुरै बुझ्दिनौ । मलाई सुन्दर बनाउन खोज्छ्यौ । यो थोत्रै शरीरलाई जतिसुकै रंगरोगन–सिँगारपटार गरे पनि एक दिन ढल्नैपर्छ, जल्नैपर्छ र भष्ममा परिणत हुनैपर्छ । रित्तो आएको मान्छे, रित्तै हात फर्कनुपर्छ । त्यसैले मलाई सारा बन्धन चुडालेर स्वच्छन्द आकाशमा कावा खान मन लाग्छ ।

तिमीलाई आफ्नो अन्तरात्माको आवाज बोल्न छुट थियो । हरेक कोणबाट जाँच्दा तिम्रो कुरा खँदिलो र गहकिलो लाग्थ्यो । यद्यपि दुवै छोरीहरूको अनुहार सामुन्नेमा आएपछि भने तिमीलाई चिथोरेर रक्ताम्मे पार्न मन लाग्थ्यो । अँझ मेरो पेटमा हुर्कंदै गरेको हाम्रो अर्को सन्तानको अवस्था सम्झेर तिम्रो सोच र समझलाई थुक्न मन लाग्थ्यो । प्रथम श्रेणीमा डिग्री गरेको तिम्रो दिमाखमा भुस भरिएको पाउँथेँ । तिमीले साहित्यका विविध विधामा कलम चलाएर स्वदेश र विदेशमा साहित्यिक छवि बनाएको सबै ढोंग लाग्थ्यो । मनगढन्ते कथाकहानी कथेर र आकाश पाताल एक पारेर जगत्लाई एकैछिन लठ्ठ र मस्त पार्ने तिम्रो कलमी तागतलाई केवल रङ उड्दै गएको कागजको फूल सम्झन्थेँ ।

लखुरामे ! मैले त्यस्तो सोच जन्माएको थाहा पाएर तिम्रो रिसले पारो तात्यो होला । कारण आफैँ बुझ न ! गरिमा र गजल मेरा मात्र रहरका उपज होइनन् । मेरो पेटमा लात हानिरहेको बच्चो मैले कतैबाट खोजेर पेटमा हालेको हैन । यी सबै हाम्रो सम्बन्धका, सद्भावका, चाहना र अनिवार्यताका उपज हुन् । तिनलाई हातपाउ टेकाउने, समाजमा स्थापित गर्ने र सनातनी परम्परामा लाग्न प्रेरित गर्ने कर्तव्य मेरो मात्र नभई तिम्रो पनि हो । आफ्नो सुख र सन्तोषको लागि जिम्मेवारबाट पन्छन खोज्ने बाबुलाई नधिकारेर के पूजा गरी बसूँ त ?

लखुरामे ! हुन त तिमीले आफ्नो जागिर मलाई दिएका छौ । म पढाउँदै छु, तलब पनि पाउँदै छु । नेपाली विषयमै स्नातक गरेकी र बोर्डिङ स्कुलमा पनि एक दशक पढाएकी हुनाले मलाई पढाउन कठिनाइ छैन । अँझ तिमी लौरो टेकेर कक्षाकोठामा पस्दा रहेछौ । सेतोपाटीमा पनि विद्यार्थीलाई नै लेख्न लगाउँदा रहेछौ । हाजिरी गर्न पनि विद्यार्थीलाई नै अघि सार्दा रहेछौ । दिइएको गृहकार्य होस् कि कक्षाकार्य नै किन नहोस्, जान्ने विद्यार्थीबाटै निरीक्षण गराएर काम चलाउँदा रहेछौ । तिमी केवल मौखिकरूपमा मार्गनिर्देश गर्दा रहेछौ । तिम्रो दाहिने हात नचल्दाको विवशता विद्यार्थीहरू पनि बुझ्दा रहेछन् ।

दु:ख नमान है लखुरामे, विद्यार्थीहरू मेरो पढाउने–सिकाउने कलाबाट सन्तुष्ट छन् । केहीले त प्याच्चै भने– म्याम ! त्यो लकवावाला सरको साटो सधैँ हजुरले नै पढाउँदा हुँदैन । उहाँ घरमै आराम गर्नुहुन्छ, हजुर सधैँ पढाउन आउनुस् है । हेडसरलाई भन्नु परे हामी भन्न तयार छौँ । नभन्दै अहिले तीन महिनादेखि लगातार म नै पढाइरहेकी छु । हुन त २०७४ कार्तिकदेखि नै कहिलेकाहीँ पढाउँदै आएकी हुँ । तिमीले नसक्दा काम चलाएकै हुँ ।

अब भने मेरो स्वास्थ्यले पनि साथ नदेला जस्तो छ । डाक्टरहरूले दिएको सल्लाहअनुसार २०७५ फाल्गुन मसान्ततिर म हलुकी हुँदै छु । भिडियो एक्सरे गर्दा बच्चा उल्टो बसेको देखियो । जन्माउने बेलासम्ममा सुल्टो हुने सम्भावना पनि छ रे । खै, अब के हुन्छ ? मनमा डर लागिरहेको छ । एक त तिमी पनि छैनौ । अर्कातिर मेरो हेरविचारमा खटिरहने मामु पनि बेलाबखतमा बिरामी भइरहनुहुन्छ । अब कसो गर्ने होला ? तिम्रो अभाव एकातिर खट्किएको छ, अर्कातिर तिम्रो चिन्ता गर्दागर्दै ज्यान सुकिसक्यो । हैन, लोग्नेमान्छेको मनै हुन्न कि क्या हो ? गर्भवती पत्नीलाई बालक छोरीका साथ छाडेर परदेश हिँड्न कसरीसकेको होला ? हैन, हिँड्नै परे पनि फिर्न पनि जान्नुपर्छ नि ! कि आशै नदेखाउनू, आउँदै आउन्न भनेर हिँड्नू ! केके न आपत् परेजस्तो गरेर सुटुक्क गयौ । फर्केर आउने नामै लिँदैनौ । तिम्रो आश गर्दागर्दै मन पनि थाकिसक्यो । तिम्रो बाटो हेर्दाहेर्दै आँखा टट्टाइसके । झिनो आशाको त्यान्द्रो पनि मक्कँदै गयो । भरोसामा पनि धमिराले गुँड लगाउन थाल्यो ।

लखुरामे ! अब स्थानीय तहले २०७६ बैशाखदेखि अल्पकालीन सट्टा शिक्षक राख्न नदिने रे । विद्युतीय हाजिरी र लेख्य हाजिरी दुवै सही व्यक्तिको हुनुपर्छ रे । कसैको कमजोरीलाई आँखा चिम्लेर भविष्यका कर्णधारहरूको भविष्य भत्काउने अपराध विल्कुलै नगर्ने रे । अब शिक्षकको निरगानी गर्न विद्यार्थी स्वयम्लाई सक्रिय पार्ने रे । विद्यार्थीको शैक्षिक गुणस्तर खस्किए जिम्मेवार शिक्षकलाई नै बनाउने रे । चित्तबुझ्दो स्पष्टीकरण नदिने र काममा लापर्वाही गर्ने शिक्षकलाई नियमानुसार पकाएको सुविधासहित सरकारी नोकरीका लागि भविष्यमा अयोग्य हुने ठहर गरी अवकास दिने रे !

तिमी उपचारार्थ हरिद्वार हिँडेका मान्छे उत्तै बिलायौ त । पहिले जाँदा साथमा शिवकुमार यादव थियो । सुख–दु:ख पुगेर आयौ । पक्षाघात र उच्च रक्तचाप रोकथामका दुई डोका आयुर्वेदिक ओखती ल्याएका थियौ । दुई महिनामै सिद्धियो । स्वास्थ्यमा निक्कै सुधार पनि भयो । हरिद्वार आवतजावत गर्ने ज्ञान पनि भयो । अँझ भारतमा ट्रेनमा बिकलाङ्गहरूका लागि आरक्षण सिट समेत हुने भएकाले जतिखेर जान मन लाग्यो, हिँडिदिए भई गयो भन्थ्यौ । यस पटक तिमी हिँड्ने बेला साथमा कोही पनि थिएन । साथीबेगरै जाँच गराएर पनि आउन सक्छु भन्थ्यौ ।

हिँड्ने बेलामा तिमीले भनेका थियौ– आफन्त छुटेपछि साथीहरू कति भेटिन्छन्, भेटिन्छन् । आपत पर्दा सघाउने मान्छे थुप्रै हुन्छन् । धनबेगरको मन मात्र भएको निर्धनका लागि न कसैको डर, न केहीको लोभ ! आनन्दै हुन्छ । केही खान नहुने बिमार लागेको छ । खायो कि रक्तचाप बढ्ने, सामान्य आहारा मात्र गरे यथावत रहने, काइदाको रोग लाग्यो । फेरि कपालभाँती, अनुलोमविलोम, भस्त्रीका जस्ता प्राणायाम गर्न न पैसा लाग्छ न शक्ति नै व्यय हुन्छ । मात्र धैर्यता चाहिन्छ, लगाव र झुकाव आवश्यक हुन्छ । माष्टरी पेशामा लागेपछि धैर्यवान् त हुनैपर्यो । लगनशील र आस्थावान् पनि बन्नै पर्यो ।

लखुरामे ! तिमी निक्कै राम्रा र आदर्शका कुरा गर्थ्यौ । यत्तिका दिनसम्म फिरेनौ । धेरै भए हप्ता दिन लाग्ने ठाउँमा तीन महिना वित्दा पनि फर्किएनौ । मेरा मनमा थरीथरीका आशंकाहरू जन्मन थालेका छन् । तिम्रा हरेक शब्दको विश्लेषणमा दिन वित्न थालेको छ । घरीघरी तिमीलाई धूर्त ठानी धिकार्छु । घरी कुनै फसादमा पो जाकियौ कि भनी भित्रभित्रै जल्छु । र,पश्चातापका आँसुले सिरानी भिजाउँछु । म के गर्न सक्छु र ? एकान्तमा बस्नू, नानाभाँतीका निष्कर्षविहीन कुरा खेलाउनू । यही र यस्तै त हो नि मेरो दिनचर्या ।

चालिस वर्ष हाराहारीका मान्छेहरू मस्तिष्कघात भएर आफ्नै आँखा मर्छन् । हत्त न पत्त सोध्न पुग्छु– उच्च रक्तचाप र मधुमेय थियो, दुई बजे विहानै मस्तिष्कघात भएछ । अर्को घटनामा मृत्युको कारण बताइन्छ– बढी टेन्सन थियो रे, अर्थोक केके थियो कुन्नि ? हृदयघात भएछ । यस्ता दर्जनौँ घटना घटिरहेका थिए । मलाई मन बुझाउन गाह्रो पर्थ्यो ।

त्यस्ताको लास जलाएको देख्दा आफ्नै मान्छे जलेजस्तो लाग्छ । मृतकका आफन्तहरूको चीत्कार र रुवावासी सुन्दा आफैँलाई अघाउँजेली चिच्याउने मन हुन्छ । किनभने तिम्रो विछोडको व्यथा भोग्नुपरेको छ । तिमी मेरो आश थियौ, सास थियौ । सबैभन्दा बढता त मेरो परिचय र पहिचानको सरोकार थियौ । दुईबाट तीनमा पुगेका कलिला अबोध बच्चाहरूको भरोसा थियौ । त्यसैले म अव्यक्त छटपटी र बेचैनीका साथ अरूकासामु नक्कली हाँसो हाँसिरहेकी छु । एकान्त भेट्यो कि मन खोलेर रुने गरेकी छु । यसो गर्दा मेरो अन्तस्करण खुल्छ । अपूर्व ऊर्जा प्राप्त भएको अनुभव हुन्छ । र, केही समय आनन्दले काममा व्यस्त हुन सक्छु ।

लखुरामे, मन खोलेर माया नगरीकन दिन बितेछन् । रसिला वात नगरीकन जवानी सकिएछ । अब त तिमी पाँच दशक कट्न लाग्यौ । म पनि चार दशक टेक्न लागेँ । अब हाम्रो ऊर्वरकाल खुइलिन पुग्यो । बेलामा बुद्धि पुर्याइएन । उमेर ढल्कँदै गएपछि बिहे गरियो । कामको बोझमा फँसियो । रमाइलो कुन चरीको नाम हो पत्तै नपाईकन उमेर सकियो ।

अहिले सम्झन्छु– तिमीले दैनिक खाने ओखती पनि बोकेनछौ । पर्याप्त खर्चबर्च पनि लिएनछौ । रित्तो हात लिएर सिद्धार्थ गौतम निस्केझैँ तिमी निस्केछौ । मैले सोध्दा पथपरहेजका सबै कुरा जुटाएको छु भन्थ्यौ । ठुलो सफलता आर्जन गरेजस्तो ओठमा हाँसो लिएर निस्केका थियौ ।

सिलगुडीस्थित डा. चाङकहाँ जाऔँ नभन्दा ओठ लेप्रेयाउँदै भन्थ्यौ, “कहाँको राजा, कहाँको धने कामी ! आयुर्वेदिक उपचारले ठिक हुने विमार छ, अङ्ग्रेजी दबाई खाएर शरीर खोक्र्याउन चाहन्न ।”

मैले भनेकी थिए, “उसो भए दिल्लीमा एमआरआई चाहिँ गराउनुस् न है ।”

तिम्रो उही जवाफ थियो, “विराटनगरका नामीनामी अस्पतालमा देखाएकै हो । काठमाडौँको टिचिङ पनि धाएकै हो । त्यत्तिले नपुगेर वीर अस्पतालमा समेत चेकजाँच गराएकै हो । कसैले पनि एमआरआई गराउनुपर्छ भनेनन् । आवश्यक थियो भने भनिहाल्थे नि ! मलाई यसो गर र उसो नगर भनेर डाक्टरहरूलाई नै पाठ पढाउन मिलेन क्यारे । बरू पतञ्जली आयुर्वेद, हरिद्वारमा पञ्चकर्म गर्नुपर्छ भन्थ्यो । त्यो चाहिँ गरिएन र भूल गरियो कि ?”

मैले तिम्रो बोझ उठाउन कुनै कसर बाँकी राखेको छैन । रात भनिनँ, दिन सम्झिनँ । बादल, बर्सात, हुरी केही पनि ठानिनँ । तिम्रै सेवामा निरन्तर लागिरहेँ । तिमी तन्दुरस्त भए घरका हरेक समस्याहरू चुट्कीमा समाधान हुन्छन् भन्थेँ । कुनै दिन पनि तिम्रो चेहरामा थकान आउन दिइनँ । तिमी खोच्याएर हिँड्दा लौरो बनेर सहयोग पुर्याएँ । अँध्यारामा तिम्रो टर्च बनिदिएँ । भोकमा भोजन बनेँ । शोकमा आँसु बनेँ । आनन्दमा हाँसो बनेँ । र, पनि के भनेर मलाई नै लात मारेर हिँड्यौ ? सुझबुझ नै नभएकी लाटी नै ठानेर आफ्नै मनमौजी गर्न पुग्यौ ?

यत्तिखेर मेरो मनमा अनगिन्ती प्रश्नहरू तँछाड मछाड गरिरहेका छन्– तिमीलाई कसले ओखती पियाउला ? बिहान बेलुका कसले हात–खुट्टामा तेल लगाई देला ? शरीर नै तातो होउञ्जेल कसले मालिस गरिदेला ? मध्यरातमा लघुशङ्का गराउन कसले सहयोग गर्ला ? यो खाना खाऊ र त्यो नखाऊ भनेर कसले छुट्याएर देला ? बेलाबेलामा प्रेसर जाँच गरेर कसले ओखतीको पावर घटबड गरी खान देला ? शरीर कक्रेको बेला तानतुन पारेर दुरुस्त कसले पारिदेला ? यस्तै प्रकृतिका सय थरीका काममा अचेल तिमीलाई कसले सघाउला ?

लखुरामे, जति सक्दो चाँडो घर फर्क । थाहा छैन, यो पत्र तिमीकहाँ पुग्छ कि पुग्दैन । आशा छ, संसारभरि पुग्ने गरी विभिन्न छापाहरूमा छापिने छ । तिमीले पढ्न नपाए पनि कसैले तिमीलाई सुनाउने छ । तिमी खोजी–खोजी र अरूलाई सोधी–सोधी यो पत्र पढ्ने छौ ।

तिमीलाई थाहै छ, म चैत्रमा एउटा बिरूवा थप्दै छु । २०७६ को प्रारम्भदेखि नै खाइपाई आएको तलब रोकिँदै छ । म पनि सट्टा शिक्षक बन्नबाट बञ्चित हुँदै छु । भनौँ न, न घरकी न घाटकी हुँदै छु । म न तिम्रो अंश चलाउन सक्छु, न सन्तानलाई उचित रेखदेख पुर्याउन सक्छु । मेरो न घर नै छ, न मुन्टो लुकाउने कतै झुपडी नै छ । सधैँ माइतीकहाँ मुन्टो निहुर्याएर घुस्रिन पनि मिलेन ।

तिमीले आजसम्म जम्मा पारेको रकमले पुगेसम्म कुनै कुनामा गएर छाप्रो हाल्नुपर्ला । मुखमा माड लगाउन मसँग एउटै विकल्प बाँकिरहन्छ, त्यो हो– २०७५ को अन्त्यसँगै तिमी आएनौ या कुनै माध्यमले खबर पनि गरेनौ भने म तिमीलाई मृत घोषणा गर्न वाध्य हुन्छु । किनभने तिमी नै बेपत्ता भएपछि हामी चारै जनाको जिउने आधार नै मेटिने पर्यो । नब्बे दिनपछि तिम्रो जागिर पनि सरकारी नियमत: खुस्कन्छ ।

मृत्युदर्ताको प्रमाणपत्र पेस गर्न सके मात्र सरकारी सुविधा प्राप्त होला । तिम्रो नामको अंश पनि मेरो नाममा आउला । धन्दा नमान । म तिम्रो जायजेथा बेकाममा बेच्ने छैन । बाँकी जीवन सुवर्णमय तुल्याउन अरू कसैसँग घरजम गर्ने कल्पना पनि मनमा आउन दिने छैन । तिमीले कमाएको प्रतिष्ठालाई धुलोपिठो पार्ने कर्म कदापि गर्ने छैन ।

भलै, तिम्रा सारा दुखेसाहरू आफ्ना ठाउँमा होलान् । मेरा विवशताहरूको रङ बेग्लै छ । यो पत्र मेरो दुखेसो मात्र होइन धम्की पनि हो, चेतावनी पनि हो ।

अन्त्यमा भन्दछु– तिमी कुनै दिन फर्केर आएछौ भने हाम्रा बच्चाहरूले नै हाम्रो पुन: विवाह गरिदिने छन् । र, हामी नव दम्पतिका रूपमा दु:ख–सुख साटेर दाम्पत्य रथ हाँकौँला ।

यत्तिमै पत्रान्त गर्छु । धन्यवाद !!!

उही केवल तिम्रै,
लछीमाया ।

–लक्ष्मी रिजाल

परिचय
नाम– लक्ष्मी कुमारी रिजाल
साहित्यिक नाम– लक्ष्मी रिजाल
अध्ययन : स्नातक (नेपाली)
लेखन– विभिन्न पत्रपत्रिकामा फुटकर रूपमा कविता, कथा र समीक्षा–समालोचना प्रकाशित
पेशा– शिक्षण, गृहिणी
ठेगाना– कञ्चनरूप नगरपालिका–१२, प्रगतिटोल, रूपनगर, सप्तरी ।
सम्पर्क मोवाइल नम्बर– ९८११७७७५४५

Leave a Reply

Your email address will not be published. Required fields are marked *