– नेमप्लेट टाँगिएको थियो डा. नेपाल। उसले नेमप्लेट हेर्यो। मुन्टो हल्लायो। त्यसपछि ढोकामा दबाब दियो। ढोका उघ्रियो। भित्र पस्यो। सँगैको कोठामा ढोका खुल्ला थियो। त्यहाँ उसले एउटा व्यक्ति निमग्न भई बसिरहेको देख्यो। त्यस व्यक्तिको ध्यान आफूतिर आकर्षित गर्न उसले ढोकामा टक…टक… आवाज दियो।
आवाज सुनेर त्यस व्यक्तिले पुलुक्क हेर्यो। – नमस्ते डाक्टर साहेब।
– नमस्ते ! नमस्ते !! आउनुहोस्, भित्र आउनुहोस्। ऊ भित्र पस्यो अनि सोफामा बस्यो।
– म तपाईँलाई भेट्न आएको।
– तर यहाँलाई मैले चिनिनँ नि ?
– मेरो नाम नेपाली हो। हेर्नुहोस् न मेरो यो रोग….
– ओहो ! तपाईँ भ्रममा पर्नुभएछ। तपाईँले खोजेको जस्तो डाक्टर म होइन।
– मतलब।
– मैले अर्थशास्त्रमा पि.एच.डी गरेर डाक्टर भएको हुँ।
– ठीकै छ। म कुनै भ्रममा परेको छैन। मैले अरू नभई तपाईँजस्तै डाक्टर खोजेको हुँ।
– मतलब !
– मेरो यो रोग कुनै शारीरिक तथा मानसिक नभई आर्थिक हो। अब त कुरा बुझ्नुभो ?
मधुपर्क लघुकथा अङ्क – २०५६।
