भित्र चोरको रुप देखाई बाहिर वाघको गर्जन गर्नेहरू
घरमा मालिक नहुदा दुध घ्यु चोर्न पल्कनेहरू
अब त नयाँ वर्ष लाग्दैछ भनी उपहार दिन
अतिरञ्जित गुलाफका फूलहरू तयार पार्नेहरू
घरमै जून झलमल हुदाहुदै पनि
बाहिर धुमिल उज्यालो खोज्नेहरू हो
तिमीहरुलाई शुभकामना छ नयाँ वर्ष २०७७ को ।
बाहिर अति विशिष्ट सम्मान चाहिने
भित्र तुच्छ सोचको व्यवहार पाइने
हातमै मुटु भएजस्तो
तिम्रै लागि हो यो भनी च्याटमै लेखाउने
घरको फूल फक्रेजस्तो
बजारिया फूलको बासनाको चेष्टा देखाउनेहरू हो
तिमीहरुलाई शुभकामना छ नयाँ वर्ष २०७७ को ।
पवित्र नाता र मूल्य मान्यतालाई विर्सनेहरू
पदको अधिकारलाई दुरुपयोग गर्नेहरू
उमेरले डाडै काट्न लागे पनि
वासनाले मदहोस भई घुटुक्क थुक निल्दै
कल्पनामै कसैको छाती नाप्न भ्याउनेहरू
आफ्नो को हो घरको हो कि अर्को
अँझै व्दिविधामा पर्न खोज्नेहरू हो
तिमीहरुलाई शुभकामना छ नयाँ वर्ष २०७७ को ।
समय छ अँझै पनि किनकि अब त ७७ लाग्दैछ्
सुध्रन्छौ भने झन नयाँ मौका आउदैछ
त्यसैले,
भो अब त छोड गलत सोचाइलाई
सम्मान गर घरको आफ्नै भोगाइलाई
अर्कैको अगालोमा बेरिएर सुतेको बेला
मध्यरातमा निदाएउ कि नाइ नसोध कसैलाई
एउटै मुटु त हो टुक्र्याएर दिन नखोज सबैलाई
हटाऊ आफ्नै सहकर्मीमाथि बुनेको यौन जाललाई
अधिकारको सदुपयोग गर सम्मान गर आफ्नै पेशालाई
अरुको परिवार उजाड हैन समृद्ध बनाउ आफ्नै परिवारलाई
त्यसैले
विश्वव्यापी फैलिएको रोग होस या महामारीको
अरुको भर नपरी दुख कष्टको गरौ आफै सामना
नयाँ जोस जागर अनि परिवर्तित जीवनको
यही छ सबैलाई नयाँ वर्ष २०७७ को शुभकामना ।
धन्यवाद ।
