गोधूलि साँझमा बाटोको पासमा
आफूलाई हेर्छु अनि हाम्रा पाइला हेर्छु
पाइला हेर्छु अनि तिमीलाई हेर्छु
सृष्टिको उषाकालमै जन्मेका हाम्रा कलिला पाइला
जति छिप्पिँदै जान्छन् उति एक अर्कासँग दूरी बढ्दै जान्छ
पाइला छिप्पिँदै जान्छन् दूरी बढ्दै जान्छ
हाम्रो साथलाई अभौतिक, अमूर्त ठान्ने मैले
त्यस दूरीलाई बेवास्ता गरिरहेँ
तिम्रो सामिप्यताको आभास गरिरहेँ
दूरीलाई बेवास्ता गरिरहेँ
मैले यसलाई अनुराग ठानेँ, विश्वास ठानेँ
तिमीले अह म भन्यौ !
तिमीले अह म भन्यौ, तिमीले आवेश रोज्यौ
आज मेरो आर्तनाद
अनि तिम्रो आकांक्षा
न सुनिदिने तिमी छौ
न बुझिदिने म छु
तर तिमी मलाई आफूसँग नदाँज्नू
तिमी हिमालको चुचुरोमा झण्डा गाड्नू
म समुद्रको फेदमा मुस्कुराउँला
हिमाल चढ्दा तल भीर मुनि सुसाउँदै बगेको मलाई देख्नेछौ
नडगमगाउनू !
तिमी उकालै चढ्नू म ओरालो झरूँला
किनभने तिम्रो सफलता सगरको शिखरमा छ
अनि मेरो सफलता सागरको सालीनतामा
सफलता ! प्रश्न उठ्नेछ ;
आखिर सफलताको मापन के ?
तिमी भन्नेछौ उचाई म भन्नेछु गहिराई
हामी सफलताको चरम सीमामा पुग्नेछौँ
जब उचाई चढ्न अनि गहिराई नाप्न कतै बाँकिरहने छैन
तब छाउनेछ सन्नाटा, निर्जन कहालीलाग्दो शून्यता
तत्क्षण म आफ्नो मर्यादाको बाँध नाघ्नेछु
तिमी अहमताको सिँढी ओर्लनू
म तिम्रो काँधमा चढी बाटो हेर्नेछु
नजर मेरा हुनेछन् अनि कदम तिम्रा
मेरा रूढी तिमी हटाउनू
तिम्रा त्रुटि म सच्च्याउँला
नवीन कागजमा इतिहास रचौँला
मेसोपोटामिया फेरि बनिनेछ
रोमन एम्पाएर फेरि खडा हुनेछ
राम राज्य गर्नेछन् अनि कृष्ण लीला गर्नेछन्
तर यसपालि राधा र रुक्मिणिमा भेद हुनेछैन
सीतालाई फेरि वनवाश पठाइनेछैन
धनवन्तरीले रस पाउनेछन् अनि ग्यालिलियोले जस पाउनेछन्
आइन्सटाइनको थ्योरीले नागासाकीमा विध्वंश मच्चाउनेछैन
कुरूक्षेत्रमा युद्धको विगूल होइन
भ्रातृत्वको शंखघोष हुनेछ
अनि बुझ्नेछौ तिमीले
बुझ्नेछु मैले
र बुझ्नेछ जगतले पनि ;
तिमी र म फरक थियौँ
हामी फरक भइकन पूरक थियौँ
हामी पूरक थियौँ र त एक भयौँ
हामी फरक थियौँ र त एक भयौँ ।
