Skip to content


नेपाली सेनामा राणाकालमा प्रशस्त विवाद र विभाजन थियो । गुटउपगुट त त्यसको विशेषता नै बनेको थियो । जब मुख्तियारीबाट जर्नेल-कर्णेल बनाइन्छ, त्यसो हुनु स्वाभाविक पनि हो । ज-जसले जुनजुन पदमा नियुक्त गरे, उनीहरू ऊप्रति अनुगृहित हुने नै भए । साथसाथै, जबजब सत्ता परविर्तन हुन्छ वा सरकार अप्ठ्यारोमा पर्ने अवस्था आउँछ, सेनामा पनि आफ्नो नेतृत्व स्थापित गर्ने होडबाजी चल्छ ।

म स्वयं प्रधानसेनापति रुद्रशमशेरको नाति भएकाले पनि त्यस्तो कुरा नजिकबाट अनुभूत गर्ने अवसर पाएको हुँ । मेरो हजुरबुबालाई पनि असमयमै बर्खास्त गरयिो र पाल्पा पठाइयो । यो विसं १९९० को कुरा हो । त्यतिखेरको सेनामा स्पष्ट विभाजन थियो । रुद्रशमशेरतर्फ तेज, हिरण्य, प्रताप र रामशमशेर थिए भने जुद्धशमशेरलाई पद्म, मोहन, बबर, केशर र बहादुरशमशेरको साथ थियो । जुद्धशमशेरले विसं १९९० चैत ५ गते रुद्रशमशेरको छातीअगाडि पेस्तोल सोझ्याएर भने, “तिमीहरू दुईथरीलाई मिलाउन अनेक कोसिस गरेँ तर सकिनँ । तसर्थ, तिमी पाल्पा जाऊ ।” प्रधानसेनापति रुद्रशमशेरले बिन्ती गरे, “महाराजबाटै निगाह भई यो मुख्तियारी पद पाएको हुँ । छोडी जानू भन्ने हुकुम हुन्छ भने खुसीसाथ जान म तयार छु ।” यसरी रुद्रशमशेरलाई बर्खास्त गरी पद्मशमशेरलाई प्रधानसेनापति बनाइएको थियो ।

त्यसपूर्व प्रधानसेनापति धीरशमशेरको विसं १९४१ कात्तिक ११ गते मृत्युपश्चात् प्रधानसेनापति बनेका खड्गशमशेरले पनि त्यही नियति भोगेका थिए । रणोद्दीप सिंहको हत्या गराई बागदरबार पुगेपछि वीरशमशेरले आफ्नो मातहतका चार रेजिमेन्ट सेनाका जवानहरूलाई हातहतियारले लैस गराए । जब बागदरबारलाई चारैतिरबाट घेर्न लगाई धरहराबाट विगुल फुक्न लगाए, भारदारहरू, जंगी र निजामती सबै बागदरबारभित्र पसे । बाहिर निस्कने सबै बाटाहरू बन्द गरएि । अर्को कोतपर्व हुने भय सबैतिर व्याप्त भयो ।

वीरशमशेरले भाइ खड्गशमशेरलाई काकाका छोरा-भतिजा सबैलाई पक्री ल्याउन अह्राए । तर, जगतजंग र जुद्धप्रतापजंगलाई गोली हानी हत्या गरयिो । यसरी सैनिक विद्रोह गरेकै भोलिपल्ट वीरशमशेर प्रधानमन्त्री एवं सर्वोच्च प्रधानसेनापति बने । यसरी आफूलाई सघाएबापत वीरशमशेरले नयाँ रोलक्रम स्थापित गरे र खड्गशमशेरलाई २४ वर्षको उमेरमै प्रधानसेनापति बनाए । तर, जब विस्तारैविस्तारै खड्गशमशेरले श्री ३ वीरको वास्तै नराखी, सोध्नुपर्ने कार्य पनि नसोधी मनमानी गर्न थाले, वीरशमशेरले एक्कासि निजामती अड्डा पुगी खड्गशमशेरका प्रायः सबैजसो मानिसलाई बर्खास्त गरी आफ्ना मानिसहरू भर्ना गरे ।

खड्गशमशेरले पनि चन्द्रशमशेर, श्री ५ युवराज्ञी ललितराजेश्वरी शाहकी सहोदर बहिनी विष्णु दिव्यश्वरी देवी र मामा केशरसिंह थापालाई साथमा लिएका थिए । भनिन्छ, श्री ३ वीरशमशेरलाई खिताब र पदबाट बर्खास्त गरी आफैँ श्री ३ महाराज हुने उनको दाउ थियो ।

धीरशमशेरको मृत्युपश्चात् १७ भाइ शमशेर राणाहरूले आफ्ना स-साना भाइहरूको हेरविचार र रेखदेखको जिम्मा लिएका थिए । खड्गशमशेरले भाइ कर्णेल शेरशमशेरको जिम्मा लिएका थिए भने अन्यले अन्य भाइहरूको । शेरशमशेरको व्रतबन्ध र वीरशमशेरभन्दा माथि भाइ जनरल जुद्धशमशेर, जो रोलवाला थिएनन्, लाई राखी भात चलाइदिने भनेर खड्गशमशेरले वीरशमशेरलाई थापाथलीस्थित आफ्नो दरबारमा निम्तो गरेका थिए ।

वीरशमशेर भिक्षा दिन र भात चलाइदिन जान ठिक्क परेका थिए, हजुरयिा कर्णेल फौदसिंह केसीले ढोकानिर पुगेर छेके । भने, “राजा हुने अनि जसले जहाँ बोलायो बुझ्दै नबुझी जाने ? आज त्यहाँ जानु हुँदैन ।” साथै, षड्यन्त्रको भित्री रहस्य पनि उनले बताए । वीरशमशेरले तुरुन्तै बग्गी फिर्ता पठाए र लगाएका कपडासमेत फुकालेर बसे । तर, फेर िकुन्नि के सोचे, गुप्तचरीका निम्ति एउटा फौजलाई त्यहाँ पठाए र सुरक्षाका साथ त्यहाँ जाने निधो गरी मेजर कीर्तिमानसिंह केसीको सुरक्षाप्रबन्धमा वीरशमशेर थापाथलीतर्फ लागे ।

सामान्यतः त्यसबेला प्रधानमन्त्री आफन्त वा कसैकहाँ निम्तो मान्न पुग्दा घरभित्र पसेपछि ढोका लगाउन नपाइने चलन थियो । शेरशमशेरलाई भिक्षा दिने कार्य सकेर जुद्धशमशेरको भात चलाउन वीरशमशेर भान्छातर्फ के लागेका थिए, बाहिरतर्फका सबै ढोका बन्द गरएिको सूचना उनले पाए । केही क्षणपश्चात् फूर्तिसाथ अर्को गुप्तचर आएर प्रधानसेनापति खड्गशमशेर गायब भएको सूचना दियो । त्यसपछि त के थियो, वीरशमशेर खाँदाखाँदैको भात छोडेर पटुका बेर्दै बग्गीमा चढिहाले । वीरशमशेरले बग्गीबाटै आदेश दिए, “ढोका खोल् ।” बिचरा पालेहरूलाई के थाहा ! वीरशमशेरको चर्को स्वर सुन्नासाथ ढोका खोलिहाले । ढोका खुल्नासाथ वीरशमशेर सरासर हिटी दरबार गए ।

त्यही घटनापछि वीरशमशेरले खड्गशमशेरलाई विसं १९४३ फागुन २० गतेका दिन हिटी दरबारमा बोलाए । वीरशमशेरले उर्दी जारी गरे, “तिमी ज्यादै असन्तोषी रहेछौ, धैर्य गर्न सक्दा रहेनछौ । तिमीले ममाथि पनि दागा गर्न खोज्यौ । तसर्थ तिमी ठाडामा जाऊ ।” यसरी प्रधानसेनापतिबाट खड्गशमशेरलाई बर्खास्त गरी म्यानमा राखेर पहाडको बाटो पोखरा हुँदै पाल्पा गौँडानजिकको ठाडामा पठाए र रणशमशेरलाई प्रधानसेनापति बनाए । तर, के कुरा अहिले पनि खुल्न सकेको छैन भने खड्गशमशेर वास्तवमै कू गर्न चाहन्थे त ?

सरकार मातहतमा बसेको कुनै पनि व्यक्ति सरकारी निर्णयमा बर्खास्त हुनु स्वाभाविक हो । तर, गल्ती गर्ने र नगर्नेका बीचमा सीमारेखा पनि त कोरनिुपर्‍यो । गल्ती नगर्नेले सजाय पायो भने सजाय दिनेले प्रायश्चित पनि गर्नुपर्छ । हामीकहाँ त साह्रै भद्रगोल छ । जसले जे गरे पनि हुन्छ । नीति-नियम र अनुशासन निमुखाहरूलाई मात्र बनेजस्तो लाग्छ ।

प्रस्तुति ः ईश्वरी ज्ञवाली

नेपाल साप्ताहिक ३४३

Leave a Reply

Your email address will not be published. Required fields are marked *