चौंरीको पुच्छरको नाम्लोले
सालको पात छापेर
मेरो ढाड सबै ढाकिएको छ
ईच्छा शक्तिले फैलाएको छ
म अब गल्ने अवस्थामा छैन
म अब फर्कने नियतिमा छैन
कोलम्बसको यात्रा ममा स्थापित गराई
बिना हिच्किचाहट लम्किरहेको छु
समुन्द्रको धार त्यतै बगिरहेछ
मैले सिङ्गै देश बोकेको छु नि त आज ।
अक्सिजन बिनाको सफलता
सगरमाथाको चुचुरोमा
चिट चिट पसिना काढेर
मैले चुनौति दिनुछ,
सधैं हिउँ जम्ने व्यवस्थालाई
मथिङ्गलमा गहिरो छाप छोड्न
कपडाको छाप्ने हुने छैन
के-के वादमा खोसिएको छु म
अनि त हेर जोशिएको छु म
हावा अचम्ममा छ आज
बैशाखमा चिसो सिरेटो दिई रहेको छ
मैले सिङ्गै देश बोकेको छु नि त आज ।
साँच्चैको मान्छेको पृथ्वीमा
सिमारेखा बिनाको भूगोलमा
बर्गरहित चेतनाको फूल फुल्ने बगैचामा
थपक्कै राख्छु मेरो देश
तोक्मा नटेका है साथी
म टेकाउनेको रहरमा छैन
चौतारी नखोज है साथी
म बिसाउनेको शहरमा छैन
सम्हालिएर बसेका छन्
हिड्ने गोरेटोहरू,
मैले सिङ्गै देश बोकेको छु नि त आज ।
काला मान्छेका काला कर्तूतसँग
रातो मान्छेका साहश देखाउन
मेचीकालीबाट वालुवालाई छोडेर
जुरुक्कै उठाएको छु मेरो स्वाभिमान
प्रभुको भक्तहरू हामफाल्दैछन् बनेर निष्ठावान
बागमतीमा जप गरेर
विष्णुमतीको मन्त्र बिद्याले
निर्मल बन्न, त्रिशुलीको रगत पखाल्न
गंगाजल स्वात्तै उघाएर
रानी पोखरीमा राता रात खनाएका छन्
नपत्याए सोध्नु त्यो बुढो घण्टाघरलाई
घण्टै पिच्छे आव्हान गरिरहेछ,
कमैया मुक्तिको
कम्लहरी मुक्तिको
प्रस्ताव शहिद गेट हो
समर्थन धरहरा हो
ढुङ्गेधारा सुकाउने गोप्य योजना
टुडिखेलले पर्दाफास गरेको छ
सर्वश्रेष्ठ बन्नेको दस्तावेजमा
जवरजस्त ल्याप्चे लगाउनै पर्नेको
खुंखार हुंकार गर्दै,
छालाको बन्दुकले झ्याली पिटि रहेका थिए
हो मैले त्यसै बेला देश चोर्न खोज्दा
निलगिरि, माछापुच्छे तातियो
मैले सिङ्गै देश बोकेको छु नि त आज ।
आफ्नै घरमा भाडावाल बन्नुमा
आफ्नै मुटुमा अर्काको रगत बग्नुमा
आफ्नै हातले आफ्नै थालको
सीताहरू आफ्नै मुखमा नहुँदा
लुम्बिनी दिउँसै भासिएर गायव हुँदा
साँच्चै भन्दा आफ्नै पैतलाले आफ्नै भूमिमा
निर्धक्कको पाईला नपाउँदा
टेक्ने ठाउँ नपाएर
म कता कता हल्लिन्दै
मेरो टाउकोको सहनशील धर्ती फुट्ला जस्तो
भुकम्प छुट्ला जस्तो छ
आग्नेय चट्टान यताउता पारेर
सुनामी आउला आउला जस्तो छ
त्यसैले छुद्र चक्षुको दृष्टि भन्दा टाढा
नढाँटी भन्दा,
देश मै बसेर बिदेशी बन्न खोज्ने भन्दा टाढा
एटलान्टिक समुन्द्रको निलो सौभ्य दह खोजेर
सुन्दर टापुमा,
मेरो देश सरक्क सार्ने छु
कपडा ओढ्ने रामपिथेकसलाई आमन्त्रणा गरी
अर्कै समाज निर्धारण गर्ने छु
ताराहरूले तालीले स्वागत गरेको छ
चन्द्रमुखले चुम्बन गरेको छ
मैले सिङ्गै देश बोकेको छु नि त आज ।
ए अल्छेहरू
खाली काँध बोकेर मेरो पछि नलाग्नू
ए आश्वासनको झुण्डहरू
दर्शन बिनाको दार्शनिक बनेर किर्तन नगर्नू
तिम्रो देश त्यही छ,
यो बाँचेको त मेरो हो
सुस्ता, टनकपुर हुँदा हुँदा
अब त दाङ्ग पनि दाईजो दियौ
तिम्रो सम्धीहरूलाई
त्यसैले मैले,
मेरो देश बोकेर जादैछु
निराकार क्षितिजको एक कुनामा
कर्णप्रिय ध्वनि प्रतिध्वनित हुने ठाउँमा
आजन्म-आजन्मको लागि
म मेरो देश बोकेर गइरहेको छु
प्रकृति बेतोडसँग रमाइन
सबै आकाशगंगा गीत गाइरहेछन
म मेरो देश बोकेर गइरहेको छु आज
म मेरो आमा बोकेर गइरहेको छु नि त आज ।।
स्यामुना
बिष्णुपादुका – ०४ सुनसरी
हाल: दोहा, कतार
