न वर रहेछन न पीपल बचेछ्न
न बाघचाल खेल्ने ठुल्दाइ रहेछन
मुरी मानो र पैचो हराए जस्तै
घोपा लठ्ठी डन्डीबियो पनि हराएका रहेछ्न
कबड्डी र टिकापासका कुनै धर्काहरु सजीव छैनन
साँघुरा गल्लि बढेका छ्न आँगन खुम्चिएका छ्न
गर्मीमा थकान र दु:ख बिसाउने चौतारा छैनन
धारा र पधेरा उखेलिएका छ्न
मङ्गल चौथीमा लिची आँप चोर्ने केटाकेटी छैनन
सन्दुक र थैली आत्मीयता खोज्दै भौतारिरहेकाछ्न
हजुरआमाका मनपर्ने मडवारी र ढुङ्ग्री कतै देखिदैनन
सल्लो छ त्यो नि अचेल खल्लो छ
गाउँ पुरै अन्जान बनेको छ
आउने जानेको परिचय माग्न उसलाई पटक्कै फुर्सद छैन
गाउँ आफ्नो पहिचान खोज्दै शहर तर्फ हुइकिदै रहेछ
सायद उसका पनि बच्चा भोकाए होलान
घरको मुली तिर्खाए होलान
वा सायद उसलाइ पनि कसैले बहकाउदै लगिरहेको छ
कता कता आत्मियता एक्लिएको छ
शहरले गाउँ लाई सर्कक्कै निलेको रहेछ
त्यो सुनाखरी फाट ,त्यो चिप्लेटी खेत
भटमास मकै र सिमखेतको लह लह धान सम्झिए
अहिले चिरै चिरा परेर सतासी ठाउँमा मुजा परेका रहेछ्न
सायद कसैको आगमनमा नजर गाडेर बसेका होलान
मन भरिका पिर र व्यथा सुनाउनलाइ …
कुनै बेला कुलो बनेको धारा
अहिले आफैं सुकेर प्याक प्याक्क्ती भएको रहेछ
बेलौती नास्पाती र कट्टुस लटरम्मै फल्ने त्यो देउरालीमा
जेसीबी र एक्सकाभेटर फ्याँ फ्याँ गरिरहेका रहेछ्न
राइटर बाजेको कलम लाहुरेको रेडियो
सिपाही माइलाको बन्दुक मास्टर बाजेको छ्डी
सबै चोरी भएको रहेछ
पाखा पुरै खाली छ्न
दलिन र भित्तामा सिमली परेका रहेछ्न
थापा काजीको दरबार सुनसान रहेछ
बा का लङ्गौटिया दौँतरी कतै भेटिएनन
दमाहा नरसिंह सङ्गै बज्ने बेठी गीत
चौबन्दी र पटुकी जस्तै बिलाउन थालेछ्न
हातमा कुटो कोदाली कतै थिएनन
बाउसेहरु हरिया र राता पासपोर्ट बोकेर
शाहुको मेला जान लाम बद्ध थिए
गाउँमा बसेका कतै कसैका खुट्टा छैनन
कसैका हात र कसैका औंला छैनन
छोराछोरी छ्न बाउ आमा छैनन
बाउ आमा छ्न छोराछोरी छैनन
माया सङ्ग ममता छैन
ममता सङ्ग करुणा छैन
प्रेम सङ्ग सामीप्यता छैन
यौवन सङ्ग जवानी छैन
राम सङ्ग सीता छैनन
राधा सङ्ग कृष्ण छैनन
मदन अझै ल्याह्सा मै छ्न
अनि मुना…
मुना पहिला जस्तै एक्लै रहिछ्न
