Skip to content

प्रलय र सृष्टि

श्रुति मैले सुकेका पोखरीहरूमा कमल फुलाउन खोजेँ… तिमीलाई माया गर्नु त त्यस्तै थियो… जस्तो मरुभूमिमा वर र पीपलको छायाँ खोज्नु।

शायद तिमीलाई यी सबै कुराहरू पढ्दा यो अतिशयोक्ति लाग्ला, तर यदि तिमी मेरो ठाउँमा बसेर यी सबै महसुस गर्ने प्रयास गर्यौ भने थाहा पाउँछ्यौ, म साँच्चै कति सत्य बोलिरहेको छु। तिमीलाई थाहा थिएन होला, तर तिमी सँग दैनिक बोल्न पाउनु मेरो लागि कति आवश्यक हुन्थ्यो। तिमीलाई थाहा थिएन तिमी सँग दुई मिनेट कुरा गर्न नपाउनु पनि कहिलेकाहीँ कति पीडा दिने हुन्थ्यो।
तिमीलाई के थाहा, म दिनभर केवल यही आशामा बिताउँथेँ कि अब तिम्रो फोन आउनेछ, र तिमी मसँग मज्जाले समय दिएर, मन खोलेर कुरा गरौंला …
तर फोन आउँथ्यो, अनि तिमी भन्न थाल्थ्यौ आज म लास्टै बिजी छु मलाई १० मिनेट मात्र समय छ। त्यस वाक्यले मेरो सबै आशाहरूको घाँटी यस्तो थिचिदिन्थ्यो,जस्तै चितुवाको मुखमा फसेको हरिणको अन्तिम सास हो।

हो, म बुझ्थेँ, तिम्रा लागि ती १० मिनेट पनि धेरै गाह्रो थिए। तर मेरा लागि त ती १० मिनेट भूकम्प जस्तै थिए आउथे, हल्लाउथे, र धेरै कुरा लुटेर जान्थे। म साँच्चै नै भत्किन्थेँ।

म तिमीलाई धेरै कुरा भन्न चाहन्थेँ,तिमीबाट धेरै कुरा सुन्न चाहन्थेँ,अनि बेकारका फन्टुस कुराहरू बोलेर तिमी सङ्ग कुरा गरिरहन चाहन्थेँ ; केवल तिमी सँग…तिमीलाई थाहा छैन,तर मैले दिनभर त्यो एक क्षणको पर्खाइमा बिताउँथेँ जहाँ म तिमी सँग लामो कुराकानी गर्न सकुँ।तर त्यो क्षण, त्यो साँझ बस १० मिनेटमै सिमित रहन्थ्यो।र ती १० मिनेट, कहिल्यै पर्याप्त थिएनन्।

हो, यो पनि सत्य हो कि तिमीले धेरैपटक मलाई बुझाउने प्रयास गर्यौ कि मैले नै बुझ्नुपर्छ, मैले नै स्थिति स्वीकार गर्नुपर्छ,र मैले जे जे तिमीबाट मागिरहेछु,त्यो तिमी दिन सक्दिनौ।

जब तिमी अस्ट्रेलिया गयौं तब मैले अझै तिम्रो सामिप्यता मागेँ तिमीले भन्यौ, म सूर्यबाट चिसो खोज्दैछु। जब मैले तिमीबाट तिम्रो एक पूरा दिन मागेँ तिमीले भन्यौ, म समुद्रबाट मीठो पानी खोज्दैछु। म यी सबै बुझ्न खोज्दा–खोज्दै,यती अल्झिएँ कि मैले आफैलाई बिर्सिन थालेँ। तिम्रा बाध्यता मलाई बहाना लाग्न थाले,र तिम्रो अनुशानमा पनि तिम्रो डर देखिन थाल्यो। म आफैं भित्र हराउँदै गएँ तिम्रा “हुन्छ” हरूको खोलमा लुकेका “हुँदैन” हरूले मलाई अलपत्र बनाउँथे।
खैर,
कसैले भनेका थिए सयौं वर्ष पछि फेरि प्रलय आउनेछ, फेरि यो सृष्टिको पुनः रचना हुनेछ,र यो चक्र अनन्तकाल सम्म दोहोरिरहनेछ। त्यसैले हाम्रो सम्बन्धको अन्त्य पनि त निश्चित थियो सायद यसपटक मेरो दोष मेरो भागमा पर्यो।
तर के थाहा,
अर्कोपटक जब यो सृष्टि पुनः हुँदा तिमीमाथि त्यति धेरै बन्धन नहुन सक्छन्, र एउटा नयाँ कथा जन्मिन सक्छ।
त्यस नयाँ कथाका लागि,यस कथाको अन्त्य चाहिँ अपरिहार्य थियो।

श्रुति ,अर्कोपटक जब यो सृष्टि दोहोरिएला म तिमीबाट तिम्रो दिन या रात होइन, तिमीलाई नै माग्नेछु।
के थाहा,
जसरी यो जीवन एक–एक पल तिमी बिना तड्पिदै बित्यो, त्यो जीवनचक्रमा हामीले पूरै जिन्दगी सँगै बिताउन पाउला…

श्रुति उच्च शिक्षाका लागि अष्ट्रेलिया गएको १८ महिना भयो। यो १८ महिनाको बिच ६ महिना राम्रै सङ्ग बित्यो त्यसपछिका दिनहरू सम्बन्धमा धेरै उतार चढाव आरोह अवरोह आए । कुनै समय रगत र मुटु जस्तै सम्बन्ध भएका मोहन र श्रुतिलाई नेपाल र अस्ट्रेलियाको भौतिक दुरिले छिन्न भिन्न पारिदियो।

आज एका बिहानै मोहनको घरमा मानिसहरुको भिड लागेको छ, कोठामा उसको डायरीको पन्ना हावाले एक एक गर्दै पल्टाइ रहेको छ ,

“श्रुति म तिम्रो १० मिनेटको उज्यालो दुनियाँभन्दा पनि आफ्नो अनन्त अँध्यारो रोज्दैछु। किनभने अँध्यारोमा तिमी पूरै देखिन्छौ… र सबै १० मिनेटहरू एउटै क्षणमा जीवित हुन्छन्। अनि श्रुति कुनैदिन तिमी फर्केपछि यो डायरी अवस्य पढनु ल! मलाई माफ गर्न सक्छौ? तिमीले दिन नसकेको समय मैले आफैंले लिएँ। अर्को जन्ममा हामी “समय” भन्ने शब्दै बिर्सौंला।”

आफ्नो प्राणवायुलाइ सिलिङ फ्यानमा गाठो पारेर प्रेमको भव सागरमा उ निस्प्राण झुलिरहेको छ।

प्रलय आयो।
यो सृष्टि सकियो।
अर्को सृष्टिको प्रतीक्षा छ ।

जहाँ मोहन फेरि ब्युतिएर उठोस …..

Leave a Reply

Your email address will not be published. Required fields are marked *