Skip to content

नेपाल निर्माणमा प्रयोग भएको ऐतिहासिक औजार : “चन्द्रहास खड्ग”

नेपाल निर्माणमा प्रयोग भएको ऐतिहासिक औजार : “चन्द्रहास खड्ग”

— प्रकाशमान शिल्पकार

नेपालको उत्पत्ति सम्बन्धी प्राचीन किंवदन्ती, पुराण तथा वंशावलीहरूमा वर्णित कथाअनुसार आदिकालमा आजको काठमाडौं उपत्यका विशाल जलाशय अर्थात् कालीदहको रूपमा रहेको थियो। त्यही समयमा विपश्वी बुद्धले यहाँ कमलको बीउ रोप्नुभएको र त्यसै कमलबाट धर्मधातु ज्योतिको रूपमा श्रीस्वयम्भू प्रकट हुनुभएको विश्वास गरिन्छ।

श्रीस्वयम्भूको दर्शन गर्ने अभिलाषा लिएर पञ्चशील पर्वत (हालको चीन क्षेत्र) बाट महामञ्जुश्री आफ्ना दुई शक्तिस्वरूपा बरदा र मोक्षदासहित नेपाल आउनुभएको कथन पाइन्छ। उहाँ हालको भक्तपुर जिल्लाको सुडाल क्षेत्रमा रहेको भूगर्भीय मार्ग हुँदै उपत्यकामा प्रवेश गर्नुभएको मानिन्छ। त्यस मार्गको द्वारलाई आज पनि “ल्हासापा सरस्वती” को रूपमा पूजा गर्ने परम्परा जीवित छ।
महामञ्जुश्रीले “ॐ मणि पद्मे हुँ” मन्त्र उच्चारण गर्दै स्वयम्भू ज्योतिको दर्शन गरेपछि कालीदहको वरिपरि रहेका पहाडहरू अवलोकन गर्नुभयो। उपत्यकाको विशाल जलराशि हटाउन सके यहाँ मानव बस्ती बसाल्न सकिने निष्कर्षमा पुगेर उहाँले विभिन्न स्थानको निरीक्षण गर्नुभयो। अन्ततः चोभारस्थित क्वयना न्हसिकाप (चोभार गल्छी) उपत्यकाको पानी निकासका लागि सबैभन्दा उपयुक्त स्थान रहेको ठहर गर्नुभयो।

कथाअनुसार महामञ्जुश्रीले आफ्नी शक्तिहरू बरदा र मोक्षदालाई चोभार वरिपरिका पहाडमा स्थापना गरी आफ्नो दिव्य अस्त्र “चन्द्रहास खड्ग” द्वारा चोभारको पहाड चिरेर पानी बाहिर जाने मार्ग खोल्नुभयो। त्यसपछि कालीदहको पानी बाहिर बग्यो र मानव बस्तीका लागि उपयुक्त उपत्यकाको निर्माण भयो। यसरी नेपाल निर्माणको महान् कार्यमा प्रयोग भएको ऐतिहासिक तथा पौराणिक औजारका रूपमा “चन्द्रहास खड्ग” लाई स्मरण गरिन्छ।
बरदा र मोक्षदालाई स्थापना गरिएका पहाडहरू क्रमशः फुच्वः र धिलाच्वःका नामले प्रसिद्ध भए। साथै जामाचो, सिधिफुचो लगायतका डाँडाहरू पनि काठमाडौं उपत्यकालाई घेरेर रहेका महत्वपूर्ण सांस्कृतिक पहिचानका रूपमा परिचित छन्। यी विषयहरूको उल्लेख स्वयम्भू पुराण मा समेत पाइन्छ।
नेपालको सृष्टि तथा मानव सभ्यताको प्रारम्भिक योजनाकारका रूपमा महामञ्जुश्रीलाई यहाँ विश्वकर्मास्वरूप महान् शिल्पीका रूपमा सम्मान गरिन्छ। आधुनिक भाषामा भन्नुपर्दा उहाँलाई नेपालको पहिलो योजनाकार, वास्तुविद् तथा इन्जिनियरका रूपमा पनि व्याख्या गर्न सकिन्छ।

उहाँले कालीदहको पानी निकास गरी उपत्यकालाई मानव बसोबास योग्य बनाउनुका साथै मञ्जुपत्तन नामक नगर स्थापना गरी धर्माकरलाई त्यस नगरको राजा बनाएको किंवदन्ती पाइन्छ। वर्तमान काठमाडौं महानगरपालिका–२१ अन्तर्गत पर्ने मञ्जुश्री टोललाई त्यसै मञ्जुपत्तनको अपभ्रंश मान्ने सांस्कृतिक विश्वास समेत विद्यमान छ।

गोपाल राजवंशावली लगायतका ऐतिहासिक वंशावलीहरूमा नेपालमण्डल क्षेत्रमा गोपाल, महिषपाल, आभीर, किरात, सोमवंशी तथा लिच्छवि वंशहरूले शासन गरेको उल्लेख पाइन्छ। मानव बस्ती स्थापना गरी लोकसमाजलाई शिल्पकला, वास्तुकला तथा विविध विद्याको ज्ञान दिने व्यक्तित्वका रूपमा महामञ्जुश्रीलाई स्मरण गरिन्छ।

विशेषतः नेवार समाजभित्रको शिल्पकार समुदायले महामञ्जुश्रीलाई विद्याका अधिष्ठाता तथा विश्वकर्मालाई कुलगुरुका रूपमा श्रद्धापूर्वक मान्दै आएको सांस्कृतिक परम्परा आज पनि जीवित छ।
चन्द्रहास खड्गको स्वरूप पनि अत्यन्त अर्थपूर्ण मानिन्छ। यसको धारको दुवैतर्फ अग्निज्वालाजस्तो आकृति, टुप्पोमा अर्धवज्र चिन्ह तथा बीच भागमा चट्याङ (मलः) जस्ता अलंकरणहरू देखिन्छन्। महामञ्जुश्रीका अधिकांश मूर्तिहरू तथा चित्रहरूमा उहाँलाई यही खड्ग दाहिने हातमा उठाएर प्रहार गर्न तयार भएको मुद्रामा देखाइएको पाइन्छ।

नेपाल कम्युनिस्ट आन्दोलनका प्रमुख चिन्तक पुष्पलाल श्रेष्ठ ले भने महामञ्जुश्रीको कथालाई दैवी शक्तिको चमत्कारभन्दा पनि तत्कालीन समाजका एक दक्ष र दूरदर्शी इन्जिनियरद्वारा सम्पन्न जलनिकास तथा भू–व्यवस्थापन कार्यका रूपमा व्याख्या गरेको उल्लेख पाइन्छ।

किंवदन्तीअनुसार नेपाल निर्माणको प्रतीक मानिने यही “चन्द्रहास खड्ग” आज पनि मञ्जुश्रीनाक (विश्वकर्मा-विकमा बाःहा:) बिहार मा सम्मानपूर्वक सुरक्षित रहेको जनविश्वास रहिआएको छ।
नेपालको उत्पत्ति, सभ्यता निर्माण र सांस्कृतिक इतिहाससँग गाँसिएको “चन्द्रहास खड्ग” केवल एक पौराणिक अस्त्र मात्र नभई नेपाली सभ्यताको आरम्भ, शिल्प परम्परा र सृजनशीलताको प्रतीकका रूपमा आज पनि स्मरण गरिन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *