हरेक साँझ सवा आठ बजे त्यो झ्याल चुइकिदै खुल्थ्यो। मेरो घरको ठीक अगाडि, कालो पर्खालको पछाडि, जहाँ टोलको स्ट्रीट लाइटको सबैभन्दा धेरै उज्यालो पर्छ, त्यही ठाउँमा खुल्ने झ्याल।
त्यो झ्यालको अर्कोपट्टि बस्थिन् एउटि परि अप्सरा , मेनका रम्भा वा अरु नै कुनै स्वर्ग कि अप्सरा तर म बारे उनी अनजान अपरिचित अनि अनभिज्ञ थिइन।
उनका आँखा निकै गहिरा थिए। यति गहिरा कि ती आँखामा हेर्दा मानौं अथाह समुद्रको तलासम्म पुगिन्थ्यो तर म त्यसो गर्न सक्दिन थिए। झ्याल खुल्नेबित्तिकै कोठाभरि यसरी उज्यालो फैलिन्थ्यो मानौँ स्वर्गलोकमा देवदूतका शक्तिले प्रकाशमय भएको हो अनि ती गहिरा आँखावाली युवती एक झलक देखिन्थिन्। त्यसपछि झ्यालबाट बाहिर निस्कँदै गरेको धुवाँको एउटा यस्तो सिलसिला चल्थ्यो मानौँ कुहिरोका स्पर्शहरु कुनै हिउँले ढाकेको सुन्दर पर्वतलाई बिस्तारै आफू तिर तानेर विलय गराइरहेको छ अनि करिब पन्ध्र मिनेटपछि झ्याल फेरि बन्द हुन्थ्यो सर्लक्कै अँध्यारोले चन्द्रमा निले जस्तै।
म त्यही बस्तीमा बस्दथे। मेरो कोठाको झ्यालबाट उनकै झ्याल सिधै देखिन्थ्यो। हरेक साँझ सवा आठ बजे म आफ्नो झ्यालको छेउमा गएर बस्ने गर्दथे, हातमा चियाको कप लिएर। त्यो पन्ध्र मिनेट मेरो हरेक दिनको सबैभन्दा प्रतिक्षित समय हुने गर्दथ्यो।
त्यो झ्यालको अर्कोपट्टि बस्ने युवती मलाइ निकै सुन्दर लाग्थिन्, बिल्कुल कुनै प्रेमकथाकी नायिका जस्तै, जसको उपस्थितिले कथामा प्राण भरिदिन्थ्यो। लाग्थ्यो, झ्यालको त्यो पारि परीकथा जस्तो कुनै संसार होला, जसको सौभाग्य त्यहाँका मानिसहरूले सवा आठ बजे पाउँछन्। झ्याल पछाडि बस्ने मानिसहरू शायद गरिबी, दुःख र सांसारिक पीडाबाट टाढा होलान्, र उनीहरूका कुरामा केवल प्रेम होला, अनि अलिकति सिगरेट वा रक्सी पनि भनौ मतलब समग्रमा भौतिक सुखै सुख।
मेरो उनीसँग कहिल्यै कुरा गर्ने मौका जुरेन तर मेरो मनमा उनको एउटा संसार बसिसकेको थियो। नाम थाहा थिएन। पृष्ठभूमि थाहा थिएन। तर उनी मेरो कल्पनाकी नायकी बनि सकेकि थिइन्। म उनको बारेमा अनेकन कथाहरू बुन्दथे कसरी उनी कुनै ठूलो सहरबाट आएकी होलिन्, कसरी यहाँ एकान्तमा बस्न रोजेकी होलिन् आदि इत्यादि … गनेरै नसकिने प्रश्नै प्रश्न हरुको चाङ केवल उनकै नामको मात्र।
आज साँझदेखि पानी परिरहेको थियो। मैले सवा आठ बजे झ्यालतिर हेरे। झ्याल खुलेन। पानीको चुहावटले होला, मैले सोचे सायद वास्तविकता लुकाउन झ्याल बन्द नै राखिएको थियो। थाहा छैन किन, खुबै छट्पटी भयो ,त्यो रात मलाइ झ्यालमाथि र त्यसपारि बस्ने ती युवतीमाथि ठूलो रिस पनि उठ्यो किन त्यसलाई खोल्ने कुनै निश्चित समय छैन? यदि छ भने, वर्षाको दिन किन अपवाद?
भोलिपल्ट म केही दिनका लागि बाहिर जानुपर्ने भयो। जाँदै गर्दा मनमा एउटा डर थियो झ्याल भित्र बस्ने परिको याद। तर मैले सोचे, फर्किएपछि एकपटक उनलाई अवस्य भेट्नेछु मनमा पोको पारेर गुम्स्याएका मायाका कोशेलीहरु उनकै अगाडि खोल्नेछु । झ्यालपारिको त्यो अलौकिक संसार हेर्ने मेरो लामो समयदेखिको उत्सुकताको अन्त्य गर्नेछु। नाम सोध्नेछु। कुरा गर्नेछु।
शायद प्रेमको सुरुवात पनि गर्नेछु।
एक हप्तापछि म एउटा उत्सुकता थोरै लजालु र प्रेमको झरीमा ओत लाग्ने उदेश्यले एउटा चामत्कारिक उर्जा लिएर फर्किए।
तर त्यो उर्जाले धेरै समय स्थायित्व पाउन सकेन, टोलमा पुग्दा मेरा खुट्टा आफैं रोकिए ,मेरो संसार भासिएको जस्तो लाग्यो । मैले देखे त्यो झ्यालका फ्रेमहरु खाली , उदाङ्गो र उजाड थिए त्यो घर भत्काइँदै थियो। झ्यालकी ती महिला शायद परीकथाको संसारतिर गइसकेकी थिइन्।
मेरो छातीभित्र एउटा भारीपन उठ्यो। सोध्न मन लाग्यो। घर भत्काउँदै गरेको मजदुरले यति मात्र भन्यो “ती म्याडमलाई क्यान्सर थियो। श्रीमानले पहिलो स्टेजमै सम्बन्धविच्छेद गरिदिएका थिए। यतै एक्लै बस्थिन्। एकहप्ता अगाडी आइतबार राति अचानक धेरै खोकी लागेछ, अनि बित्नुभयो।”
एकहप्ता अगाडी …आइतबार राति …..मतलब त्यो पानी परेको राति…..
मैले त्यो राति झ्याल किन खुलेन भन्ने प्रश्नको उत्तर अब कहिल्यै पाउने छैन वा सायद पाइसके । तिनको अन्तिम सासले त्यो झ्याल बन्द राख्न बाध्य भएको थियो।
मेरा गला अवरुद्ध भए आकाश मेरो टाउको मै खसेको जस्तो भारी पन हुन थाल्यो … म निःशब्द त्यहीँ उभिइरहे।
हरेक पटक झ्यालको पारिको संसार प्रेमी-प्रेमिकाले भरिएको प्रेमिल हुँदैन रहेछ। हरेक पटक परीकथामा अप्सराहरु आउँदैन रहेछ्न। हरेक पटक प्रेमकथाको कथानक भेटिँदैन रहेछ।
उनी मेरो कल्पनाकी नायकी थिइन्। तर वास्तविकतामा उनी रहिछ्न एउटी क्यान्सर पीडित, श्रीमानले त्यागेकी, एक्ली, मृत्युसँग लडिरहेकी युवती। सिगरेटको धुवाँ त्यो पीडा मेट्नको लागि थियो होला। हरेक साँझ सवा आठ बजे झ्याल खोल्नु त्यो बाँचेको प्रमाण हुन्थ्यो होला।
तर मैले त्यो कहिल्यै बुझ्न सकिन। म त केवल एउटा झ्यालबाट अर्को झ्याल हेरिरहेको थिए, दुईवटा संसारको बीचमा एउटा पातलो पर्खाल मात्र थियो, तर मैले कहिल्यै त्यो पर्खाल पार गर्न सकिन।
झ्यालको अर्कोपट्टि परीकथा थिएन। एउटी मृत्युंजयी योद्धा थिइन् जसले प्रेमको अभावमा पनि, एक्लोपनको बीचमा पनि, मृत्युको मुखमा उभिएर पनि, हरेक साँझ झ्याल खोल्थिन्। सिगरेट सल्काउँथिन्। पन्ध्र मिनेट बाँचेको स्वाद लिन्थिन्।
तर मैले उनलाई कहिल्यै चिन्न सकिन। अब सधैंको लागि ढिला भइसकेको थियो।
त्यो भत्किएको घरको अगाडि उभिएर भक्कानिएका आशुका ढिकाहरुलाइ मसीको रुपमा प्रयोग गर्दै एउटा लाइन लेखे यो कथा सधैं अपूरो रहनेछ। जस्तो त्यो झ्याल एक साँझ खुलेन, र फेरि कहिल्यै खुलेन….।
भत्किँदै गरेको घरको धुलो, भीजेको सिमेन्टको गन्ध, र खाली झ्यालको उदास फ्रेमबीच उ निःशब्द उभिइरहेको थियो। छेलो खेल्दा फालिएको ढुङ्गा जस्तै ओठको माथिल्लो पट्टि च्यापेको खैनी मुख बाट फ्याँक्दै मजदुरले सामान्य स्वरमा भन्यो
“नाम कादम्बिनी रहेछ, सर…”
मैले पहिलो पटक त्यो नाम सुनेको थिए।
बस्।
त्यति सुन्नासाथ मलाई लाग्यो, कसैले मेरो छातीभित्र वर्षौंदेखि थुनिएको कुनै ढोका अचानक खोलिदिएको छ।
कादम्बिनी।
नाम पनि उस्तै रहेछ, जस्तो उनी थिइन्।
अलिकति पुरानो कविता जस्तो।
सुनिरहन मन लाग्ने गजलका हरफ जस्तो।
अलिकति पानी परेर खुलेको आकाश जस्तो।
अलिकति अधुरो प्रेम जस्तो।
जसरी प्रेमानन्द महाराजले राधा नाम जप्न भन्नुहुन्छ त्यसरी नै मैले मनमनै त्यो नाम धेरैपटक दोहोर्याइरहे
कदम्बि……नी
कादम्…बि…नी…
काद ..म्……बि..…नी………..
का..द…..म्….बि……नि…………
