आज जनआन्दोलन भाग-दुईको आठौँ दिन । बाध्यात्मक परिस्थितिले गर्दा आन्तरिक उडानबाट दिउँसै बास बस्न आइपुगेँ सुनौलीमा । यहाँ त दलहरूले आमहड्ताल थालेदेखि नै डेरा जमाएर बस्न बाध्य रहेछन्-छुट्टीमा आएका इन्डिन आर्मी, लाहुरे अनि उता अध्ययनरत विद्यार्थीहरू । विस्तारै साँझ पर्न लाग्यो, होटलको आँगनमा एकपछि अर्को गर्दै जम्मा हुन थाले लजवासीहरू । हैन, बासीहरू भन्नु उपयुक्त होला । पाल्पा, लमजुङ, पर्वत, तनहूँ कहाँकहाँ हुन्, कहाँ कहाँका ।
म पनि त्यही हूलमा मिसिएँ तर तिनीहरूले मलाई सहजै सकारेनन् । यतिसम्म कि म को, किन, कहाँ जान लागेको ? कसरी त्यहाँ आइपुगेँ, कसैले पनि चासो देखाएनन् । अर्थात् देखाउन चाहेनन् । कसैको अनुहारमा निराशा झल्किन्थ्यो भने कसैकोमा उदासीपन । नगण्य मात्र अझै भोलि नै बन्द खुल्छ कि ? झिनो आशा साँची अन्यलाई ढाडस दिइरहेका थिए ।
म पुग्दा नपुग्दै लज मालिकले एक बग्रेल्ती लजवासीहरूलाई उनीहरूको गन्तव्यतर्फ पुर्याउन हतारहतार रिक्सामा राख्दै एअरपोर्टतर्फ पठाउँदै थिए । पोखराबाट एउटा चार्टर विमान आउँदैछ रे, डबल भाडा तिरेर भए पनि जाने भनेर केहीँ लजवासीहरू एअरपोर्टतर्फ हानिँदै थिए ।
यतिकैमा लज मालिक आएर भनेँ- “हिजो राति नारायणघाटतर्फ गएका दुईवटा ट्रकलाई बाटैमा जलाइदिएछन् ।” त्यतिकैमा एक जना लजवासी पीडा एवं रिस मिश्रति स्वरमा भन्दै थिए- “होइन साहूजी कहिलेकाहीँ त राम्रो समाचार पनि सुनाउने गर्नुस् न हो ।” लजमालिक पनि खिसि्रक्क परे । नपरुन् पनि किन, तिनै ग्राहक सुरुमा बास बस्न आउँदा लजमा पाइलो राख्ने ठाउँ थिएन । छतमा समेत डबल भाडा तिरी बस्न तयार थिए । सुरुका दिनहरूमा बिहान बेलुकै खसीको मासुसँगै भात र बेलुका सितनसँग सोमरस घुट्क्याउनेहरू पैसा सिद्धिने डरले आजकल सादा दालभात खान पनि अल्छी मान्दै थिए । यस्तो अवस्थामा लज मालिकलाई पनि थाकिसकेको गाईजस्तो ग्राहक देखेर झिँजो लाग्दो हो । त्यसैले पनि बासी ग्राहकहरूलाई जतिसक्दो छिटो धपाउन लागिपरेका छन् लज मालिक ।
सुरुका दिनतिर भरे नै भोलि नै, बन्द खुल्ने कत्रो आस थियो । एक/दुई गर्दै यतिका दिन भइसक्यो तर बन्द खुल्ने कुनै छाँट थिएन । वैशाख एक गते नववर्षका दिन तथाकथित विष्णु भगवान्बाट केही सुखद सन्देश आउला कि भन्ने कत्रो आश थियो तर सदाझैँ निराशा मात्र हात लाग्यो ।
त्यतिकैमा दुई जना लजवासी ब्राण्ड नयाँ साइकल चढी आए र शान लगाउँदै भन्न थाले- “बन्द खुल्ला जस्तो लागेन, अब त भोलि बिहानै लागिन्छ घर साइकल चढेरै भए पनि ।’ लजको आँगनमा एक ग्राहकले आरिसे पाराले सोधे- ‘कतिमा हान्यौ त ?’ प्रश्न भुइँमा खस्न नपाउँदै जवाफ आयो- ‘तीन हजार भा. रु. ठगे नि, बाँकी के राख्थ्यो ठग्न । अर्कोले थप्यो- ‘भोलि नै बन्द खुल्यो भने नि ?’ फेरि रेडिमेड जवाफ (नजिकैको नालीतर्फ देखाउँदै)- ‘कच्याककुचुक्क पारी त्यहीँ फालेर जाने हो, होइन भने लिएर जाने हो गाउँसम्म ।’ अन्यलाई ईर्ष्याउने नियतले साइकल डोर्याउन थाले तिनीहरू ।
यतिकैमा एअरपोर्ट लागेका यात्रुहरू रिसाउँदै फर्किए र भन्न थाले- ‘खै लज मालिक ? बेकारमा आतेजाते रिक्सा खर्च मात्रै ।’ चार्टर प्लेन नै आएनछ । लज मालिक पनि जङ्गएि जस्तै गरे- ‘प्लेन नआएकोमा मेरो के दोष त ? पैसा कहीँ जाँदैन, म जिम्मेवारी भएँ ल, भोलि आउँछ कि म बुझ्छु नि । बरु सामान चैँ थन्क्याउनु ठाउँ खोजेर ।’ जवाफ आयो- ‘हामी त यतै छिँडितिरै बस्छौँ, पैसा पनि निख्रिहाल्यो ।’
पृष्ठभूमिमा टेलिभिजनबाट समाचार आउन लाग्याथ्यो तर कसैले त्यतिसारो पहिलेजस्तो उत्सुकता र कौतूहल देखाएनन् । सबैको ध्यान एक तमास बन्द कहिले खुल्छ भन्नेमै थियो । रिसले एकसरो एकै स्वरले- “ज्ञाने चोर देश छोड, लोेकतन्त्र-ल्याउन्छौँल्याउछौँ” नारा पो घन्काउन थाले, म त अकमकिएँ एकछिन ।
काठमाडौँ तथा मोफसलमा आन्दोलनका क्रममा के कसो भए थाहा पाउनुभन्दा टिभीको च्यानल परिवर्तन गरी रेस्लिङ्ग र फेसन टिभीमा पो हौसिए तिनीहरू ।
यतिकैमा कान्छाले भात पाकेको सङ्केत दियो, फेरि पैसा खर्चिनु परेका कारण निधार खुम्च्याउन थाले । रेडियोको समाचार सुन्दै भात खाँदै थिए तिनीहरू र रेडियोमा कुन चाहिँ नेता हो कुर्लंदै थिए- ‘यो पटक अलि कष्ट सहनुपरे पनि लोकतन्त्र ल्याइछाड्छौं’ तर त्यो सुविधाभोगी नेतालाई थाहा थिएन जनता यति दुःख झेलिकन पनि आन्दोलनलाई साथ दिइरहेछन् भनेर ।
मलाई लाग्यो- तीन टुक्रा कुखुराको मासुको पैँतालीस रुपियाँ तिर्न बाध्य यी आन्दोलनकर्मीहरूको पनि कथा लेखिनुपर्छ अब ।
