ज्यान कतिबेला जाने हो, कुनै ठेगान नहुने । लुकेर कतिखेर प्रहार गर्ने हुन्, कुनै पत्तो छैन । त्यस युद्धमा बिताएको तीन वर्ष ज्यादै कष्टकर रह्यो ।
उमेर ७५ वर्ष पुग्दा पनि अहिलेको अवस्थामा पुराना कुराहरू सम्झिंदा कसैका लागि त केही गरियो भन्ने लाग्छ । कुनै लोभलालच र स्वार्थ थिएन । एकोहोरो शत्रु पक्षकालाई पराजित गर्ने ध्याउन्न मात्रै हुन्थ्यो । त्यो जायज, नाजायज के हो भनेर छुट्याउने अवस्था हुँदैनथ्यो । त्यसैले पनि सधैँ आफ्नाविरुद्ध उभिनेहरूप्रति खबरदारी गर्न सिकिएको छ । युद्धमा लागेर संयोगले बाँचेकाले अहिलेको जीवन बिताउन पाइएको छ । यस मानेमा खुसी नै मान्नुपर्छ ।
तर, कहिलेकाहीँ पुराना कुराहरू स्मरण गर्दा दुःख पनि लाग्छ । त्यत्रो योगदान पुर्याएका गोर्खालीहरूलाई फेरि आफ्नो अधिकारका लागि लड्नुपर्यो । विदेशमा त त्यस्तो अवस्था भोगियो, भोगियो, स्वदेशमा पनि हाम्रा जायज कुराहरू प्रकाशमा ल्याउन ज्यादै गाह्रो भयो । खै के नमिलेको हो, थाहा छैन ।
हाम्रो पालामा पढ्ने भन्ने कुरै थिएन । त्यसमा पनि हाम्रोजस्तो समुदायमा त्यस्तो झन् सम्भव नै थिएन । फेरि, पढ्ने स्कुल पनि थिएनन् । घरमै यसो साँवा अक्षर चिन्नुपर्ने हुन्थ्यो । मैले पनि त्यसै गरी साँवा अक्षर चिनेको हुँ । त्यसबेला हामीले गर्ने खास काम त गाईबाख्रा चराउने नै हुन्थ्यो । मेरो बाल्यकाल पनि त्यसै गरी बित्यो । पाँचथरको च्याङथापु गाविसमा जन्मेको म प्रायः गाईगोठमै बस्थेँ । दिनभरि गाई चरायो, राती धुनी बालेर सुत्यो ।
सन् १९५७ सालतिरको कुरा हो । ब्रिटिस आर्मीमा भर्ती गर्नका लागि गल्लावाल हाम्रो गाउँतिर खूब आउँथे । हाटबजार, गाईगोठ धाइरहनु त तिनीहरूको दिनचर्या नै थियो । किनभने, त्यसबेलाको नियम नै रहेछ, एक गल्लावालले २२ जनासम्म केटाहरू खोजेर लैजानुपर्ने । दुई जना ब्वाय, अरू फिट । कहाँ पाउनु त्यत्तिका केटा ? ललाइ-फकाई नै गर्नुपर्ने । भर्ती हुन कोही मान्दै नमान्ने । एकदिनको कुरा हो । त्यत्तिकैमा ती गल्लावालले मलाई पनि फकाउन थाले । २२ वर्षको थिएँ । यसो सोचेँ, गाईबाख्रा चराउनुभन्दा त पल्टनमा भर्ती हुनु नै बेस होला । किनभने, मेरो पारिवारिक वातावरण पनि पल्टनियाँ नै थियो । बुबा स्वयं अवकाशप्राप्त सैनिक हुनुहुन्थ्यो । पहिलो विश्वयुद्धमा लडेको उहाँको अनुभव थियो । त्यस युद्धका पीडादायी घटनाहरू कथाजसरी हामी सुन्थ्यौँ । ती सुन्दै रगत उम्लिने खालका हुन्थे । त्यसले पनि मलाई आर्मीमा भर्ती हुन मद्दत पुर्याएको हुनुपर्छ ।
त्यसबेलाको चलन नै रहेछ, १७ वर्ष नपुगेकालाई ब्वायमा भर्ना गर्ने र १७ वर्ष काटेकालाई फिटमा । ब्वायमा १३ वर्ष उमेरकालाई पनि लिने चलन रहेछ । १३ देखि १७ वर्षसम्म तालिम दिने र फिटमा लैजाने । नापजोखको कुनै चलन नै थिएन । आँखा देख्नुपर्यो, हातखुट्टा चल्नुपर्यो । त्यति भए पुग्थ्यो, भर्ती हुन कुनै समस्यै थिएन । म फिटमा भर्ना भएँ । दार्जीलिङबाट रेलमा सिलगुडी हुँदै गोरखपुर, नौतनवा भएर पक्लिहवा पुर्याइयो । खास भर्तीको प्रक्रिया त्यहाँ पूरा भयो । त्यसपूर्व दार्जीलिङ र लेरामा ब्रिटिस आर्मीको क्याम्प बसेको थियो, त्यहीँ भर्ती गर्ने चलन रहेछ । तर, हाम्रो पालामा त्यहाँबाट सारिएको थियो । हामीलाई लेरा हुँदै कोलकाता पुर्याइयो । त्यहाँ जम्मा गरिएका अरूहरूका साथ हामीलाई १० दिन १० रात पानीजहाजमा राखेर मलाया (मलेसिया) पुर्याइयो ।
मलायामा १० महिना तालिम दिएर हामीलाई विभिन्न पल्टनमा खटाइयो । म सेकेन्ड बटालियनमा पठाइएँ । नयाँ भएकाले नै होला, दिनरात केही भन्न पाइँदैनथ्यो । ब्रिटिस उपनिवेशमा रहेको मलायामा त्यसबेला एउटा प्रतिबन्धित समूहले गुरिल्ला युद्ध सञ्चालन गरेको थियो । त्यसैका विरुद्धको लडाइँमा हाम्रो पल्टनलाई खटाइएको थियो । मलायामा ठूलो जंगल रहेछ । त्यसको फाइदा गुरिल्लाहरूले उठाएका थिए । त्यसका विरुद्ध कसरी लड्ने, कसरी तिनीहरूलाई पराजित गर्ने भन्ने ठूलो चिन्ता ब्रिटिसहरूमा रहेछ । त्यसैले उनीहरूले संसारमै बहादुर भनेर चिनिएका गोर्खालाई त्यहाँ प्रयोग गरेका रहेछन् ।
त्यस बटालियनमा रहेर सुरुमा म पनि छिपा थाप्ने, सुरुङ खन्नेजस्ता काममै सरिक भएँ । मलायामा चर्केको गुरिल्ला युद्ध संसारभरि नै चर्चाको विषय बनेको थियो । लुकेर प्रहार गर्ने काममा गुरिल्लाहरू ज्यादै निपूण थिए । पहिलो मुकाबिला नै तिनीहरूसँग गर्नुपर्यो । जीवनमा ज्यादै जोखिमको सामना गर्नुपरेको अनुभूति मलाई त्यहीबेला भयो । ज्यान कतिबेला जाने हो, कुनै ठेगान नहुने । लुकेर कतिखेर प्रहार गर्ने हुन्, कुनै पत्तो छैन । त्यस युद्धमा बिताएको तीन वर्ष ज्यादै कष्टकर रह्यो । मानिस मार्ने र मर्ने कुरा सामान्य हुन्थ्यो । रगतको आहाल पार गरेर हिँड्नु त दैनिकी नै बनेको थियो । तीन वर्ष बिताएपछि छ महिनाका लागि छुट्टी पाइँदो रहेछ । तर, पहिलो छुट्टी आउनुपूर्व नै म संलग्न त्यस बटालियनले त्यस समूहविरुद्ध विजय प्राप्त गर्यो । सन् १९५९ सालको अन्त्यतिर हुनुपर्छ, हामीले जितेको । त्यो क्षण ज्यादै रोमाञ्चक लाग्छ । त्यसपछिका धेरैजसो युद्धहरूमा त्यही जितले ऊर्जाको काम गर्यो ।
मेरो जीवनकै ज्यादै महत्त्वपूर्ण घटना हो, भीसीको पद्वी प्राप्ति । जीवनमा कुनै बेला म ज्यादै खुसी भएँ भने त्यहीबेला भएको थिएँ । सुरुमै जोखिमपूर्ण युद्धमा सामेल भएकाले मलाई युद्धहरू सामान्य लाग्दै गए । पहिलो छुट्टी बिताउन जब म घर आएँ, मलाई यहाँ बस्न त्यति मन लागेन । कतिखेर युद्धक्षेत्रमा फर्कूं भन्ने नै हुँदो रहेछ ।
ब्रिटेनकी महारानीका नाममा स्थापना गरिएको भीसी (भिक्टोरिया क्रस)को पद्वी पाउँदाको कथा ज्यादै रोचक छ । अहिलेसम्म ब्रिटिस-गोर्खा रेजिमेन्टले २६ वटा भिक्टोरिया क्रस पाएको छ । त्यसमध्ये १३ वटा हामी गोर्खा सैनिकले जितेका छौँ भने बाँकी गोरा अफिसरहरूले । युद्धमा कुनै करिश्मा गर्ने सैनिकले नै त्यो पद्वी पाउँछ भन्ने किंवदन्ती थियो । मैले त्यो पद्वी पाउँदाको कथा पनि रोचक छ ।
प्रस्तुतिः ईश्वरी ज्ञवाली
नेपाल साप्ताहिक ३६१
