Skip to content

किनारको ढुङ्गे ढिस्कोमा उभिएर
हेर्दैछु मेरोअघि
अजिङ्गरझैँ मुख बाएको
विस्तीर्ण विशाल समुद्रलाई
कतिखेर लाग्छ-
समुद्रका सतहमा मेरो आँसु टिलपिलाइरहेछन्
कतिखेर देख्छु-
समुद्रका छातीभरि मेरो प्रतिबिम्ब हाँसिरहेछ
कतिखेर सुन्छु-
छालहरू सुस्साएर मसँग केही भन्न खोजिरहेछन् ।
तर म मौन छु
थाहा छैन, यो मौनताको सङ्केत
समुद्र बुझ्छ-बुझ्दैन ?
म एक्लो छु ।
थाहा छैन, यो एकान्तभित्रको रहस्य
समुद्रले बुझ्छ-बुझ्दैन ?
म निराश छु ।
समुद्रलाई मनपर्छ-पर्दैन ?
त्यसैले, समुद्र र म,
जुम्ली र खैरेझैँ भएका छौँ
दुवैलाई एक-अर्काको उपस्थिति,
मीठो संयोगझैँ लागेको छ
हामी दुवै साखुल्ले हुन चाहन्छौँ
तर दुर्भाग्य !
मेरो भाषा समुद्र बुझ्दैन
समुद्रको भाषा म बुझ्दिनँ ।

-रिमुवा, गुल्मी

Leave a Reply

Your email address will not be published. Required fields are marked *