वाउ ! आई लव दिस् पिक्चर…!
उत्तेजना र ख़ुशी मिश्रित स्वरमा बोल्दै कम्प्युटरको डेस्कटप ब्याक ग्राउंडमा सजिएको इगल नेबुलाको मनमोहक फोटो नजिकै आई एक टक हेर्दै थिईऊ!
डु यु लाइक एस्ट्रोनोमी? मुस्कुराउदै अलिक असजिलो अंग्रेजी भाकामा सोधि उसले !
अँ.. हो ! प्रत्युत्तर दिन्छु
हो र? आँखामा चमक थपियो । मलाई पनि खुबै मन पर्छ, कहिले कहीं घंटौसम्म रमाएर डुब्न सक्छु म यी चिजहरूमा !
ओ हो ! खुशी लाग्यो है, तिमीलाई पनि एस्ट्रोनोमी मन पर्ने रहेछ, अरु पनि फोटोहरू छन हेर्ने? म सोध्छु ।
भैगो अहिलेलाई, कुनै दिन फुर्सदमा आएर हेरौला ! इटलीबाट म यहाँ आएको जम्मा ३ दिन मात्र हुँदै छ तिम्रो पसल यहाँ छ भनेर सुनेको थिएँ त्यसैले हेर्न मात्र आएको, फेरी फोन गर्न वा मेल गर्न आई रहन्छु, अहिलेलाई बाई है?
ओके बाई !
कति फरासिली, सफा, निस्खोट, अनुहारमा, हंसाइमा बोलाईमा कुनै बनावटीपनको भेउ पनि पाईन्न, लाग्थ्यो कुनै दुधे बालकको मुहार नियालिरहेछु, मैले यती सोची सक्दाऊलच्किँदै बाहिर पुगी सकेकी थिई
यतिनै थियो लिओनोरा र म बिचको पहिलो भेट्को कुराकानी ! दुई दिन पछी ऊ फेरी आई उनी चिर-परिचित ले झै मुस्कुराउदै हेलो हाउ आर यु?
मेरो नाम लिओनोरा, इटलीबाट ६ महिनाको कोर्ष गर्न आएको भन्दै उसले मसंग आफ्नो शीतल र नरम हात मिलाइ, अझै कोठा लथालिंग छ किनमेल बाँकी छ सररर… भनी सिध्याइ, मैले मेरो छोटो परिचय दिई नसक्दै उसको हात मेरोबाट छुट्टीइ सकेको थियो, ऊ फोन क्याबिन भित्र पसी अनि मै तिरै फर्केर गफिन थाली । यस पटक ऊ निकै सुन्दर देखिन्थि, तर इटालियन भन्दा पनि स्पेनिश रूप रंग झल्किन्थ्यो उसमा ! तत्पश्चात पनि निक्कै बेर हाम्रो कुराकानी भएको थियो त्यों सांझ, अन्य ग्राहकहरूले गर्दा बेला बेलामा कुरा कानी मा ठेश लाग्थ्यो तै पनि एस्ट्रोनोमी सम्बन्धी गफ भए, आकाशको असीमितता, ब्ल्याक होल, आकाश गंगा अनि नेबुलाहरूको सुन्दरता, यु एफ ओं र एलियन लाइफ सम्बन्धी कुरा गर्दै चिलेको अटाकामा सम्म संसारकै विशाल टेलिस्कोपको बखान गर्दै पुगियो ।
सामान्यतया केटाहरूको दाँजोमा केटीहरू धेरै परिपक्व हुन्छन् भन्ने ठान्छु म, तर पनि लिओनोरा त्यों भन्दा धेरै अनुभव बोकेकी एक सरल र सुन्दर युवती रहिछ भन्ने अनुभव गरें मैले यसपटक । छ सात पटकको आउने क्रम पछि मैले उनमा के आभाष पाउन थालें भने यस देशमा म नै उसको सब भन्दा नजिकको मान्छे हुँ वा म नै उसको हितैषी हुँ । उसको व्यवहार ले नै त्यों जाहेर गर्थ्यो, किनकी अब हरेक स्थानीय जानकारी वा कुनै सानो तीनो सरसल्लाह अनि सहयोग चाहिएमा सोध्नु पर्ने सजिलो मान्छे म नै हुन्थेँ उसको लागि । विस्तारै यो पनि सोच्न थालें की मेरो ऊ प्रतिको सरल र सहयोगी भावनाले नै शायद मलाई केहि झंझट बढेको भने पक्कै हो तर त्यस्तो पटक्कै भएन । सिधै एकटक आँखा मै हेरेर कुरा गर्ने उसको स्वभावले भने कहिले काहीं अप्ठ्यारो अनुभूति गराउथ्यो र विषय वस्तुमा ध्यान केन्द्रित गर्न गार्हो पर्थ्यो । अनि म अनुमान गर्थें की कुनै सुन्दर लाग्ने युवतीसंग आँखा जुधाएर कुरा गर्न एक प्रकारको ध्यान या तालिमनै आवश्यक पर्नेरहेछ ।
ऊ आउने क्रम बाक्लिन थाले पछि एकदिन मैले नसोधीकनै उसले आफ्नो घर र परिवार वारे सुनाउन थालि र एकदम घरको यादले सताउने कुरा गरि, लाग्थ्यो उसमा औपचारिकता निभाउने भन्दा पनि भावना पोख्ने हतारो थियो । बा आमा र सानो भाई मात्र मेरो सानो संसार हो अनि स्कुल कलेजका केही घनिष्ट साथिहरू छन् अनि तुरुन्तै पर्स मा राखिएको फोटो ख़ुशी हुँदै देखाइ उसले, मलाई लाग्यो उसको मन उडेर त्यहीं उसको सुन्दर लाग्ने गाउँ मै पुगिरहेछ ।उसको भनाइ अनुसार मनमनै अड्कल काटेँ कि उसको कुनै प्रेमी चाहिं रहेनछ वा त्यस्तै केहि ।
एक किसिमको अन्जान संतोष र जिज्ञाशा एकै साथ पलाउँछ फेरी । स्वभावत म एकै छिनको लागि भएपनि ख़ुशी नै हुनु पर्ने हो केहि स्वार्थ र लिनु दिनु नहुँदा पनि, तर उसको सुन्दरताले त्यों लोग्ने मान्छे भित्र दबिएर रहने एक किसिमको स्वार्थि ईच्छालाई गलाई दिएको देख्छु मानौ उसलाई देख्दा म मा कुनै प्रकारको नकारात्मक भाव ले कतै स्थान नै पाउदैन । स्वीटज़रल्याण्डको सिमाना नजिकै इटलीको सानो सुन्दर शहर तिरानोबाट आएकी बताउँदा उसको अनुहारमा त्यस्तै शांत र सुन्दर भावको छाल कुदिरहेको देखिन्थ्यो भने उसको सोचाई, व्यवहार त्यस्तै स्वच्छ र सरल लाग्थ्यो, कुनै सुन्दर पोखरी छेउ फक्रिएको फूलको थुंगा झैं । अब मेरो दिमागी संसारमा पनि कल्पनाको उसको गाउँ त्यस्तै सुन्दर तरंगमा तरंगित हुन् थाल्यो त्यहाँ म धेरै थोक भने देख्दीन, हरिया पहाड़ी काखको एक पाखामा त्यों सुन्दर सानो शहर तुवांलो भित्र झैं अस्पस्ट रुपमा देख्छु । ऊ फोनमा व्यस्त हुँदा गुगल मा तिरानो शहर खोजेर हेर्दै थिएँ, कति सुन्दर, कल्पनाको विकसित नेपालको कुनै सानो शहर झैं सम्झी मनमनै एकै छिन रमाएँ पनि ।
प्राय लियोनारा दुई नंबर कै क्याबिन बाट फोन गर्ने गर्थि यो उसको मन पर्ने क्याबिन हुन सक्छ । कुराकानिमा व्यस्त रहँदा मतिरै फर्केर बिभिन्न भावमा बोल्थि ऊ, मलाई भने काउंटरबाट सोझै देखिने क्याबिनहरूमा बंद भएर कुरा गर्ने जो कोही पनि समयको बन्दि झैँ लाग्थ्यो र कसै सित बिलौना गरि रहेको भान पर्थ्यो । पसलको सानो तीनो व्यस्ततामा पनि लियोनारा र म बिच पटक पटक आँखा जुधाई भै नै रहन्छ र हरेक पटक हलुका मुस्कानमा टुंगिन्छ । तर म यसलाई एक सामान्य मानव स्वभाव कै रुपमा लिन्छु र त्यसमा क्षणिक भावनात्मक जवारभाटको सानो अंश बाहेक केही छैन भन्ने सोच्छु, तैपनि उसको सौन्दर्यताले ध्यान नतान्ने भने अवस्य हैन जसलाई म प्रकृतिकै अनौठो र सुन्दर नियम ठान्छु र त्यस नियमको आदर गर्दै सौन्दर्यपान गरिदिन्छु !
त्यों नै सौन्दर्यताको प्रशंशा गर्नुहो त्यसको सम्मान गर्नुहो माया दिनु हो, लियोनारालाई हेर्नु, आँखा जुध्नुको सम्बन्धमा पनि यही अर्थ लुकी रहेकोहुन्छ त्यसैले म कुनै अपराधबोधको अनुभव गर्दिन ।
विगत केहि दिनयता लियोनाराको म कहाँ आउने क्रम र गफिँदै घंटों सम्म बस्ने क्रम तन्किन थालेको आभास गर्छु, र अब मलाई पनि भान पर्न थालीसक्योकी यो सब भै रहेको अलिक अस्वाभाविक छ, अनि कता कता अंतस्करणमा लियोनाराले मलाई असाध्यै मनपराई रहेकी छ भन्ने शंका बालियों भै रहेको थियो । २/४ हप्ता बित्यो तर झन झन त्यों अनुमानले गहिरो जरा गाढ्न थाल्यो !
यो अनुमान पक्का हो भन्ने लागेपछि एक्कासी मनमा आंधी वेरी झैँ विचारहरू मढारिन थाल्यो, मानवीय सम्बेग का सुषुप्त प्रत्येक तन्तुहरू, कोशिकाहरू बर्सौ पछि क्रियाशील भै रहेको अनुभव हुन् थाल्यो ! आज म यस्तो आवेगमा आफैलाई पाउनुमा मेरो सहमति छैन, किन म यस्तो अनुभव गर्ने ? कुनै कारणले एउटा केटी कुनै केटाको नजिक पर्नु अनि त्यों सम्बन्ध लाई एउटा राम्रो साथीको रूपले मात्र हेर्न सकिन्न ? कति सम्म भने एक पटक लिओनोराले “” मलाई . त तिमी जस्तै रूप रंगको एशियालिहरू मन पर्छ “” भनेर भन्दा पनि मैले अलि लापरवाही पूर्वक हाँस्दै भनेथें — ” उसो भए चाइना टाऊन तीर गए हुन्छ नी त ” ! अब आज यही कुरा सुन्न र दोहोरयाउन मलाई हम्मे पर्नेछ ! किन यस्तो अनुभूति भै रहेछ मलाई ? की मलाई ऊसंग भित्र भित्रै प्रेम भै रहेछ? कुनै सुन्दरिले मन पराईदिनु मेरो लागि मेरो सोचाई माथिकै एक किसिमको बिजय हो किनकी म जस्तो खालको मान्छे जसको नत सुन्दर जिउडाल र अनुहार नत वाक पटुता नत अरु विशेष आकर्षण नै छ, त्यसैले जहिले पनि कुनै राम्री, सुंदरी केटीहरूको मनको रोजाईमा पर्दे पर्दिन भन्ने सोचाई ले स्कुल कलेज जीवन देखिने मनमा जरा गाडी सकेको थियो तर यहाँ यो भंग हुँदैछ र म कताकता एक प्रकारको ख़ुशी पनि अनुभव गरिरहेछु । कसै लाई कसैले एक तर्फी नै भएपनि मन पराउछ भने त्यों उसको मानवीय र प्रकृति प्रदत अधिकार हो त्यस्तो भावना लाई रोकन गार्हो पर्छ,यदि पक्कै मन पराएकी नै रहिछ भने पनि मानव जगतमा यो हुनु सामान्य कुरा हो भन्ने सोचाई राखेर बस्छु यस्तै सोचाई हुनैपर्छ त्यसैले म सम्हालिन्छु । तर यदि मन पराएकि नै हो भने पनि किन खुलस्त भन्न सक्दिनन त? युरोपको खुला समाजमा हुर्केकी उसलाई तीनवटा शब्दको एक हरफ भन्न कत्रो महाभारत पर्ला र? नत्र त्यस्ता भावना पोख्ने अरु पनि माध्यमहरू हुन्छन यी सवै मेरा आवश्कता र ईच्छा भित्र पर्ने विषय थिएनन तै पनि वे-फ्वांकमा आफ्नै गिदी गलाई रहेछु । तर जे भएपनि कथंकदाचित उसले प्रेम प्रस्ताव राखीहाले भने त्यसको चित्त बुझ्दो उत्तर दिनुपर्नेछ र मैले उसको प्रेम प्रस्ताव अस्वीकार गर्नुको कारण पनि त खुलस्त पार्नु आवश्यक हुन्छ नत्र उसको सम्झनामा म जहिले पनि एउटा नराम्रो पात्रको रुपमा रहीरहनेछु । अब आजकलऊआउदा पहिलेको जस्तो खुल्ला अनुभव कम हुन थाल्यो त्यसै गरी अलिक संकोच मिश्रित भयले सताउन पनि थालिसकेको थियो । एक दिन एक्कासी उसले न्यास्रो र चिंतित अनुहारमा भनि “अब मेरो घर फर्किने समय पनि आउन लाग्यो अर्को हफ्ता मेरो भाई र बुबा आउनुहुन्छ र त्यसको १ महिना पछि म फर्किनु पर्छ ।”
उसले बताए अनुसारनै अर्को हफ्ता उनिहरू आइपुगे, स्टेशनबाट सिधै मै कहाँ ल्याएर चिनापर्ची गराइ उसले, बाउ र भाई एक टक मलाई हेर्दै आँखैले कृतज्ञता व्यक्त गरे झै गर्छन । मलाई लाग्यो लिओनाराले मेरो बारेमा निकै बखान गरीरहेछे । २,३ दिन पछि उनिहरू फर्के, लिओनारा अब अझ सुर्तालु र मलिन देखिन्थी, म भित्र पहिले जस्तै सान्त्वना दिने शक्ति पनि हराए झै अनुभव गरें यो पटक ।
हेरन होल्यांडको फूलमेला हेर्ने एक्दमै ईच्छा छ अर्को हफ्ताको सप्ताहन्तमा जाने योजना बनाएकिछु तिमी म संग जाऊं न है । तिमी गयौ भने मलाई साथी पनि हुन्थ्यो अनि धेरै सजिलो र रमाइलो हुन्थ्यो मलाई । म एक छीन अवाक भएँ, यस्तो आग्रह्को बनि बनाऊ जवाफ थिएन मसंग, जाने चाहना हुँदा हुँदै पनि फुर्सदनै नमिल्ने जस्तो बहाना गर्नु पर्ने भयो र जसो तसो भोलि जवाफ दिन्छु भनीदिएँ । एक मनले लाग्यो हेर मलाई माफ़ गरिदेउ, मैले तिमीलाई म बिवाहित हुँ भनेर भन्ने मौका नै पाएको थिईन, म एक विवाहित मान्छे यसरी तिमीसंग घूमफिर गर्न उचित हुन्न भनेर भनि दिन्छु तर यो भन्न पनि निकै ढिलो भैसकेको थियो । तर वास्तविकता भन्नु पर्दा म उसलाई दुखी बनाउन पनि चाहन्नथें र घुमेर साथदिन पनि सक्दिन थिएँ । भनौ अब म असहज स्थितिमा अल्झिएको थिएँ र त्यसको निश्छल, सुन्दर निकास खोजीरहेको थिएँ ।
हेर लियोनारा म तिमीसंग जान सक्दिन तर तिमी चाहन्छौ भने मेरो साथिलाई तिमी संग पठाई दिन्छु । मलाई माफ़ गर है? त्यसपछि न केही बोलि न केही सोधि उसले । चिसो कोला जूस या अरु कही पिउने की भनी सोधें मैले तर उसले अनिच्छापूर्बक मुन्टो हल्लाई, केही मिनेट पछि बाई भन्दै बाहिरीई ऊ ।
मैले दुःखका साथ अनुमान गरेंकी,ऊमसँगै घुम्न चाहन्छे र यसको अर्थ त्यहि हो जसमा फस्नु अगावै म बिना कसूर भाग्न चाहिरहेथें । त्यों हप्ता बित्यो तर बित्न पनि युगौं बीते जस्तो लग्यो । मैले हल्यांडको सो फूलमेलाको बारे प्रसंग झिक्न पनि सकिनँ नत उसले नै त्यास बारेमा केही गरि । त्यसपछिका दिनहरूमा ऊ र म बिच केवल जिज्ञासा, प्रश्न, उत्तर, प्रत्युत्तरहरू सबै अमुक वार्तालाप्मै टुंगिए सामान्य भला कुसारी बाहेक अरु केहि भएन । पसल नजिकै बस्ने छिमेकी तम्बाबुदु जो गाम्बियाबाट आएको थियो उसले हामी बिच हुने गरेका कुराकानी र बार्तालाप देखेर तिमीहरू एक अर्कालाई प्रेम गर्छौ कि भनेर सोधेको थियो । अर्को अप्रत्यासित झटारोले म झसंग भएँ, अक्क न बक्क परें । उता लियोनारा भने चुपनै थिइ तर उसको आँखामा भने त्यो प्रश्न र म बाट आउने जवाफको पर्खाइको प्रभाव अलग्गै देखिन्थ्यो शायद ।
हैन हैन, हामी त एक आपसमा राम्रो साथि मात्र हौँ ।उनि यहाँ इटाली बाट पढ्न आएकिहुन ! त्यहि मौका देखेर तम्बाबुदुले लियोनारलाई भन्न भ्याई हाल्यो
यु आर वेरी ब्युटिफुल । डु यु हाव बोय फ्रेन्ड? लियोनाराको अनुहारमै लोभिएको नजरले हेर्दै तम्बाबुदु सोधीरहेको थियो ।
यस ! भन्दै एक निमेष मलाइ हेरिरही लियोनारा।
तम्बाबुदुको हेर्दैमा डर लाग्दो जिउडाल र गिद्दे हेराइ ले तिनी अलिक डराए झैं लाग्थ्यो । तम्बाबुदुको चरित्रसंग म धेरथोर परिचित थिएँ । विशेष गरि केटीहरू प्रतिको उसको व्यवहार प्रति । बेला बखत पसल अगाडी चुरोट तान्दै कलेज आउने जाने युवतीहरूलाई घुरेरै हेरिरहेको हुन्थ्यो र भन्थ्यो यहाँका खैरे केटीहरू लाई त सिधै भनिहाल्नु पर्छ ओ… युआर वेरी ब्युटिफुल, आइ लभ यु.. इत्यादि ।
नरम, न्यानो बिछ्यौनमा पनि असजिलो, केके नमिलेको झै लागिरहेछ आज पनि, तिन चार पटकको कोल्टे फेराईमा पनि निंद्रा लाग्न नसकेपछि फेरी त्यही कुराहरूमा ध्यान केन्द्रित हुन्छ ! शायद लियोनारा मसंग छुटिनु पर्ने पिडाले जति चिंतित हुन्थि होली त्यतिकै बेगको चिंता मलाई पनि पर्न थाल्यो तर चिन्ताको विषय भने एकै खाले थिएन, किनकी मैले सुरुबाटै आफ्नो पारिवारिक गोप्यता भंग गरेको थिइन । आफ्नो पुरा परिचय लुकाउनुमा यौटा सहज व्यापारिक कूटनीति र स्वार्थ मात्र लुकेको थियो त्यों भन्दा अरु कारण केही पनि थिएन । तर आज त्यहिनै मेरो गल्ती हो र त्यसको मानसिक सजाय यदि भोग्नु परयो भने त्यों उसले मात्रै भोग्नु पर्ने हुन्छ । अनि ओछ्यानमा अर्को पटक कोल्टे फेर्दै निर्णय गर्छु की भोलिनै उनलाई मेरो वैवाहिक स्थिति बारे भनिदिन्छु र राम्रोसंग संझाउछु, जे पर्ला पर्ला ! गल्ती मेरो हुँदैहैन ! उसले मलाई पनि पहिलै सोध्न पनि सक्थि नी मेरो गर्ल फ्रेंड छ की छैन? बिहे भा छ की छैन भनेर, पसलमा आउने जति सवै केटीहरूलाई मैले बिहे गरि सकें भनेर भनिराख्न पनि जरुरि छैन नी !
अनि मैले चाहेर उनीसंग नजिक भएको पनि त होइन र त्यस्तो नहुनुपर्ने गल्तीपनि के नै भएको छ र म बाट? तर त्यस्ता धेरै भोलि आए गए त्यसरी भन्न सकिन, नभनीनै छिटै त्यों समस्याको समाधान हुने आशा पनि थियो ।
नारीहरूमा हुने प्राकृतिक गुण वा भनौं नारिशुलभ गुण ” माया र समर्पणको भावना “को अति कमजोर र घातक पक्ष भनेको यही हो कि? त्यसैको फाइदा पुरुषहरूले लिए र संसार पुरुषप्रधान समाज कहलियो अनि त्यसबाट पिल्सिइ रहे, लुटीइरहे तिनै नारिहरू । तर म त्यसो सोच्न, स्वीकार्न र समर्थन गर्न सक्दिन, नारी भावना र चाहनाहरू कुल्चिनु र कोमल फुलहरू कुल्चिनु एकै सम्झंछु । अनि त्यसरी ठगिने, लुटीइने नारीहरूको लाखौ, करोडौंको भिडमा लियोनारा नपर्ली भन्ने के ठोकुवा छ यत्रो विशाल अधर्मी समाजमा ?
आँखामा त्यो काल्पनिक, असंभावित दुर्भाग्यको दृश्य मधुरो मधुरो र नरमाइलो लाग्छ, यस अर्थमा अब मलाई उसको झनै माया लाग्छ ।
फेरी चिंतित हुँदै मथिंगल घुम्न थाल्छ उसको अप्राप्ति प्रति, पाउनु अगावैको गुमाइ प्रति । लियोनारा फर्किन अब हप्ता दिन मात्र बाँकी थियो टिकट बुक भै सकेको थियो, कोर्स सकिएकोले अन्य साथिहरूसंग घुम्न हिंडेको पनि देखिन्थ्यो । एक दिन तिनीहरू सवै पसलमै आए फोटोहरू खिचे मलाई सहित सहभागी गराए त्यहि बखत लियोनारा र मेरो पनि एउटा फोटो खिच्ने भनियो सम्झनाको निमित्त, लहैलहैमा खिचियो पछिबाट अप्ठ्यारो अनुभव भयो । तुरुन्तै कपी गरेर केहि फोटोहरू राखें मैले पनि । अबऊछिटै फर्कदै छे भन्ने एक प्रकारको निरर्थक चिन्ताले थप सताई रहेथ्यो ।ऊफर्कनु एक दिन अगावै आई, दुई चार मानवीय भावनाका, सान्त्वनाका कुराहरू भए ! म, तिम्रो सहयोग र यो ठाउजीवनमा विर्सिन सक्दिन भंदैथिई मसंग लियोनारा । अब भोलि जाँदैछु तर भोलि आएर म तिमीलाई गुडबाई भन्न सक्दिन होला शायद, त्यसैले आज नै गुडबाई भन्दैछु है? त्यसो गर्दा त्यति नरमाइलो लाग्दैन ! थ्यांक यु सोमच फर एभ्रीथिंग… अलिक गह्रुङ्गो स्वरमा बोलि रहेकी थिइन् उनी
चिनो स्वरूप केहि दिनु पर्ला भनेर सानो सजाउने प्लेट किनेको थिएँ त्यहि दिंदै भनेँ -” हामी एउटा राम्रो साथि हौँ, यो सम्बन्ध यस्तै रही रहोस अनि तिम्रो जीवनको प्रत्येक पाइलामा सफलताको कामना” एक पटक हात मिलायौं ।
त्यस पछिऊबाहिरिई र फटाफट हिंडी ! फेरी एक पटक मनमनै वाई लियोनारा भनेँ ।
लियोनारा त्यों गल्लिको मुखबाट ओझेल भैसक्दा पनि म टोलाईनै रहेको रहेछु ।
** ** ** ** ** ** ** ** ** ** ** ** **
