मान्छे मान्छे बीचको वर्णभेद, विभेद र श्रेणीकरण सामाजिक जीवनको सर्वाधिक कुरूप कुरीति हो । आस्थागत र नैतिकरूपमा जेसुकै भए पनि पूर्वीय दर्शनको कतिपय सुन्दरतालाई यसले प्रभावित गर्दछ । एक्काइसौँ शताब्दीमा समेत दक्षिण एसियाली परिवेशमा जातिवादका जुन दुष्परिणाम छन् त्यसले भविष्यको लामो कालावधि अझै ग्रस्त हुने लक्षण छ । विश्व जीवनको कतिपय मुलुकमा जातिपाति, छुवाछूत, रङ्गभेद, लैङ्गकि भेद र साम्प्रदायिक विभेद यथावत् छन् एवं नेपाल स्वयं यसबाट पृथक् छैन । प्रथमतः पर्यावरणीय सचेतना (इनभाइरोमेन्टल कन्ससनेस), समाजार्थिक सन्दर्भ (सोसियोइकोनोमिक कन्टेष्ट) र प्रविधि संस्कृति (टेक्नो कल्चर) ले मान्छेमान्छेबीच विविध पार्थक्यको अभेद्य पर्खाल तेर्सिएको मानिन्छ ।
नेपालको प्राज्ञिकजगत्का सर्वमान्य महापुरुष महाकवि लक्ष्मी प्र. देवकोटाले सामाजिक सुधारको क्षेत्रमा क्रान्तिकारी भूमिका खेलेको पाइन्छ । उदार र सहृदय कवि विश्वभरिका समस्त मान्छेलाई फगत एकैनासको माया र सद्भावयोग्य प्राणी ठान्दथे । कालक्रममा देवकोटीय समुज्ज्वल परम्परामा सम, पौडेल, घिमिरे, मिश्र, व्यथित, श्रेष्ठ र रिमाल भन्नु र भनिनुमा यही मानवतावादी स्वच्छन्द गुणवत्ता अन्तर्निहित रहेको मान्नुपर्छ । देवकोटाको सिर्जनामा स्वच्छन्दतावादी प्रगतिवाद र अस्तित्ववादी सचेतनासहित अन्य प्रवृत्तिहरूको जुन अपूर्व रन्को एवं सुवास छ त्यसले प्रजाति र महाप्रजाति तथा आर्य तथा आर्येतर वा कुनै पनि किसिमको मान्छेमान्छेबीचको धागोतुल्य गौण विषम दुर्भावलाई कहीँ कतै ठाउँ दिएको भेटिँदैन । प्रकृति निर्मित जैविक भेद नर र नारी एवं समाजसिर्जित जाति र वर्गमा धनी तथा गरिबको असमानताको परिभाषालाई देवकोटीय चिन्तनले सङ्गालेको पाइन्छ ।
‘एक सुन्दरी च्यामिनीप्रति’ कविताको कथ्यले देवकोटीय हृदयको सरलता र निर्मलतालाई सङ्केत गर्दछ । कुजात युवतीको अनुराग र मोहेच्छामा कोरिएको यो आधुनिक नेपाली साहित्यको चर्चित एवं सुन्दर रचना हो । यस कविताले मानवीय जीवनको बहुपक्षीय लचिलो आयाम र विचारणीय क्षितिजलाई स्पर्श गरेको देखिन्छ । वैज्ञानिकहरूको भनाइअनुसार मानवजाति विकासवादी सिद्धान्तअनुरूप नरबाँदर (रामापिकेथस)बाट क्रमिकरूपमा अन्तर्विकसित भएको हो । यथार्थ तथा सम्पूर्ण मान्छेको आधार र धरातल यौटै भएकोले प्रवृत्तिगत नैसर्गिक दोष र गुण समस्तरमा प्रस्फुटित हुन्छ तथा बाहृयान्तरिक दृष्टिले यसको आफ्नो क्रमबद्धता छ । सामान्य र विशिष्ट प्रत्येक मान्छेको वर्गीय दृष्टिले आत्मबोध एवं त्यसको मौलिकता हुन्छ । महापुरुष र प्रणेताहरूको अन्तर्बोध अरूभन्दा बढी प्रखर र सुकिलो बनेको देखिन्छ ।
आधुनिक नेपाली साहित्यका मूर्धन्य स्रष्टा कृष्णचन्द्रसिंह प्रधानबाट एकचोटि मैले सुन्न पाएँ- भारतवर्षमा महात्मा गान्धीले दलित जाति (सबल्टर्न)लाई हरिजनको रूपमा नामकरण गरे पनि आर्थिक र सांस्कृतिक रूपान्तरण नहुँदा करोडौँकरोड व्यक्ति हरिजनको यथास्थितिमा भेटिन्छ । तिनलाई ब्रहृमजन, शिवजन र गणेशजन आदि जेसुकै भनिए पनि अन्तर नहुने भएकाले उत्पीडित पक्षले हरिजन र हरिजनीकरणको शाब्दिकतालाई रुढ ढङ्गमा मान्नुपर्ने स्थिति बेठीक देखिन्छ ।
हिन्दू धर्ममा शूद्र, वैश्य, क्षेत्रीय र ब्राहृमण आदि चार वर्णको जातीय व्यवस्था प्रचलित छ । शूद्र र दलित जातिअन्तर्गत रहेको च्यामे र च्यामिनीले समाजमा नेपाल भाषा अर्थात् नेवार भाषाको अनुबोध गराउँछ ।
बागमती प्रदेशको काठमाडौँ उपत्यकाको वरिपरिका प्रायःगरी कुचिकार र सफाइकर्मीलाई यस किसिमको सम्बोधन प्राप्त छ । यसमा हेय भाव प्रतिबिम्बित भेटिन्छ । परम्परितबाहेक कतिपय दीनहीन असहाय सीमान्तीकृत व्यक्ति यस सङ्कीर्ण शब्दले बोलाइएका पाइन्छन् । वर्णभेद, जातीय विभेद र विभाजनमा निर्दयी समाजले सानो ठाने पनि जैविक र प्रकृतिवादी न्याय समधर्मी हुने भएकोले दलित र उच्च जाति भनी प्राकृतिक विधानमा कम्तीमा कृपणता पाइँदैन । जन्मजात सौन्दर्यको प्रवर्तनमा यामित, अछुत र माताङ्गी कन्यालाई प्रकृतिले कुनै दुर्भाव गरेको हुँदैन । दलित र उत्पीडित परिवारकी चेली अपूर्व सुन्दरीप्रतिको वैयक्तिक अभिव्यक्तिद्वारा कविले विद्यमान समष्टिचेत सांस्कृतिक दृष्टि खुलाएका हुन् । यसबाट तात्कालिक सामाजिक संरचनाको सर्वाङ्गीण प्रवृत्ति र धारणा छर्लङ्गन्िछ ।
हुन त कविले ‘सुन्दरी च्यामिनीको सट्टा’ सुन्दरी कुचिकार्नीको शीर्षक दिन सक्दथे । यसबाट प्रतीकात्मकरूपमा उच्च जाति र सीमान्त बीचको उपेक्षा एवं खाडल सूचित गर्ने कविको आन्तरिक लालसा प्रस्टिन्छ । अग्रगामी कल्पना र भावनाको सूचनाद्वारा समतावादी र मानवाधिकारवादी रचनालाई दिशा दिएर समयचक्रको समाज, चिन्तन र अवधारणालाई कतिपय प्रतीक, बिम्ब र उपमानको माध्यमले कविले व्यक्त गरेका छन् ।
जातिपातिको भेदभाव र लडाईं यथावत रहेको जनाउँदै देवकोटाले ‘सेवामुखी कुचो कार्य’लाई सानो ठान्न नहुने र स्वच्छ स्थल तीर्थतुल्य रहेको तर्क दिएको भेटिन्छ । सापेक्षतः देवकोटा, नारीप्रति गम्भीर चिन्तक हुन् । सफाइकर्मी र श्रमिक वर्गकी युवतीप्रतिको अनुराग एवं आशक्तिले विसङ्गति झल्काउँछ र ज्ञात हुन्छ यस्तै अनुदार सामाजिक परिवेशको देवकोटाको गीत, प्रगति, कविता, खण्डकाव्य र महाकाव्यसम्बन्धी काव्यित्तिक चिन्तन विश्व सौन्दर्यशास्त्रको अपूर्व दस्तावेज रहेको छ । सौन्दर्य साधना र सौन्दर्यसिद्धिको परिकल्पनामा आफ्नो युग र कालावधिमा यिनी प्रायः अजेय र अद्वितीय मानिएका हुन् । सत्ता सङ्केन्द्रको पद्धति र प्रवृत्तिको शल्यक्रियाका साथै वैज्ञानिक समाजवादको सजगतालाई प्रस्तुत कविताले बोध गराउँछ ।
५७ पङ्क्ति र १२ टुक्रे पद्यांशको यस कविताले आत्मगत र वस्तुगत दृष्टिले देवकोटाको दृश्य बिम्बीय मनोभाव, काव्यिक सौष्ठव एवं स्वच्छन्द शिल्पको परिचय दिने गर्दछ । सांस्कारिक भाव, भूमि र नारी सौन्दर्यमा अल्झिएर प्रवृत्तिगत तात्विक स्वाभाविकता प्रकट गर्ने कविको निश्छल र निष्पक्ष आशक्ति, व्यामोह, पे्रमानुराग तथा आत्मोद्गारको अन्तर्वस्तु यस कवितामा विविध दृष्टिले प्रशंसनीय छ ।
आ-आफ्ना धर्म र आस्थाका ठेकेदार तथा पुरोहितहरूप्रति असीम व्यङ्ग्य गर्दै जातीय दुर्भाव र छुवाछूतको प्रसङ्गलाई सर्वथा त्याज्य ठानिएको भेटिन्छ । समानता, सद्भाव, सहपीडा र सहअस्तित्वको गरिमा संरक्षण गर्न कविता प्रत्येक दृष्टिकोणले समर्थ छ । पितृसत्तात्मक र सामान्तवादी सोचले नर र नारी एवं मान्छेमान्छेबीच दृष्टिगत भेदभाव हटाउन कविताले सकारात्मक र स्वीकारात्मक दायित्व निर्वाह गरेको छ । देवकोटीय सिर्जनाको कथ्य, अन्तर्लय, भाषाशैली, बिम्ब, प्रतीक तथा शैल्पिक उच्चताको झलक दिन कविता दविलो छ । समस्त मानव प्रकृति माताका सन्तति हुन् । एवं मान्छे, ज्ञानाचार्य र सत्ताले सिर्जित वर्ण, जात, धर्म, संस्कृति र सम्प्रदायमा समाहित विषमता र जटिलताको अन्त्य गर्दै मानवीय सभ्यतालाई अगाडि बढाउन ‘एक सुन्दरी च्यामिनीप्रति’ कविताको अन्तार्शय तथा अर्थवत्ता सफल छ । प्रबुद्ध मान्छेको चेतन, अवचेतन र अवलोकनले सामाजिक र वातावरणीय विशेषतालाई कसरी अभिग्रहण गर्दछ त्यसको सफा र विश्वसनीय सानो तस्बिर यस कवितामा अनुभूत गर्न सकिन्छ । उदारता, शिष्टाचार र विनम्रताको विपुलताले लक्ष्मी प्र. देवकोटा (संवत् १९६६-२०१६) विश्व साहित्यका महाकवि, विलक्षण बुद्धिवेत्ता र महाप्रतिभा बनेका हुन् । सुन्दरतालाई शक्ति र आदर्श मान्ने सर्जक सर्वपे्ररक ठहरिएको भेटिन्छ।
