सपनालाई व्याख्या गर्दै हिँडु
के औचित्य ठानुँ ?
मैले अर्थ्याएको सपना
अरु निमित्त अनौचित्य
पनि हुन सक्छ,. यो भूगोल भित्र सबै
आफ्ना आफ्नै विश्वासमा
दृढ दौडन्छन्, अरु गलत देख्न
पनि सक्छन्… यो दौड वास्तविकमा
पट्टी बाँधिएका आँखाहरूका दौड न हुन्
सबै आफैँ सटिक ठानी ।
कसले सुल्झ्याउन आएको छ
आजसम्म
यही बाटो
अनन्तदेखि आजसम्म
छ अनवरत जिज्ञासा ?
विश्वास !
त्यसैमा अडेको सबै ।
देह रहँदा रहँदै
शून्य भान हुन्छ
दैहिक अस्तित्व रहन्छ
“म” मर्दिन भन्ने भावना
शरीरलाई होइन
आत्मालाई हुन्छ
आत्मा अजर, अमर नै हो
शून्यभाव … न जन्मन्छ, न मर्छ ।
अस्तित्वभित्र
अस्तित्व रहन्छ ।
तत्वहरूको हेरफेर भइरहन्छन्
जन्मन्छन् अवसान पनि हुन्छन् ।
नित्सेले भगवान्को
मृत्यु घोषणा गरे
अनि, पदार्थको मात्र अस्तित्व निश्चित गरे ।
तर सन् २५ अगस्ट १९०० मा नित्सेको
देह अन्त भो अनि
भौतिक विज्ञानीहरूले निष्कर्षमा भने
भगवान्को विषयमा अनभिज्ञ छौं
एक थोक तर निश्चित छ
पदार्थको मृत्यु भएको छ ।
यो शून्य पर्दामा इच्छा शक्तिले
कल्पनाले कोर्छन् अनेक रङहरू
केही बेर रम्दै
तर पर्दा सफाचट सधैँ
परिकल्पित हुन् विश्व सबै ।
निदाइञ्जेल सपना सत्यझैँ ।
सपना देख्नु, देखिनु बेठिक होइन
सपना भनी बुझ्नु नै
बुद्धत्व हो, शून्यमा शून्य भई विलाउनु ।
भगवान् मरे वा बाँचे फरक छैन
मलाई बचाउ भन्न आउँदैन
तर स्व ः आलोकित भए
अन्तरचक्षुले सबै प्रष्टिन्छ ।
स्वाध्याय हो यो
स्व ः निहित
समर्थन, असमर्थनरहित्
तर्कभन्दा पर
स्वानुभूति- ‘म’
‘मेरो’ – मात्र सपना हो
बन्छ, भत्कन्छ ।
-त्रिपुरेश्वर
