Skip to content

धुस्वाँका साथ एक सार्थक यात्रा

  • by


कति व्यक्तिका साथ मैले यात्रा गर्ने मौका पाएको छु । म साहित्यिक व्यक्तिहरूको कुरा गर्दैछु । धुस्वाँ साय्मि, वासु शशीलाई सम्झन्छु, जो अब यस संसारमा छैनन् । उनीहरूको संगत, खासगरी यात्रामा बिताएका क्षणहरूको सम्झना मलाई आज पनि बारम्बार आइरहन्छ । यहाँ म धुस्वाँ साय्मिसँगको यात्रा क्षणहरूको स्मरण गर्न चाहन्छु ।

धुस्वाँ साय्मि त्यसो त पहिलेदेखि नै परििचत हुनुहुन्थ्यो । उहाँ धेरै प्रसिद्ध साहित्यकार बनिसक्दा म भर्खर लेख्न थाल्दै थिएँ ।

संयोग कस्तो भयो भने, उहाँसित छिपछिपे परचिय मात्र हुँदा मैले उहाँको गंकी उपन्यास पढेँ र पछि बीएमा पढाउने मौका पनि पाएँ ।

एउटा उहाँको अन्तर्वार्ता मैले समीक्षामा प्रकाशित गराएको थिएँ, उहाँसँग घनिष्ठताको पृष्ठभूमि त्यसैले बनायो । उहाँ आफ्नो त्यस अन्तर्वार्ताबाट प्रभावित हुनुभयो होला । मलाई त्यसपछि एउटा पार्कर कलम नै उपहार दिनुभएको थियो ।

धुस्वाँ एक इमोसनल मानिस हुनुहुन्थ्यो । प्रायः कविहरू त्यस्ता हुन्छन् पनि । तर, उहाँ बढी नै संवेदनशील हुनुहुन्थ्यो ज्योतिषीको भाषामा भन्ने हो भने ‘हार्ट गाइडेड’ व्यक्ति ।

धुस्वाँबारे भन्नलाई मसित धेरै कुरा छन् । कति भनी पनि सकेको छु । यहाँ उहाँसँग गरेको यात्राबारे कुरा गर्न बढी रुचि राखेको छु । त्यसअघि यो एउटा बताइदिउँ, एकेडेमीमा हामी पाँच वर्ष सँगै काम गर्‍यौँ । हाम्रो परम् घनिष्टता पनि त्यही अवधिमा भयो । उहाँ मलाई स्नेह गर्नुहुन्थ्यो, निश्छल रूपमा । म उहाँको आदर गर्थें, अग्रज साहित्यकारका रूपमा ।

एउटा कुरा उहाँको कविता-यात्राबारे । त्यसपछि अन्य यात्रा । उहाँ दिनमा कैयौँ कविता लेख्न सक्नुहुन्थ्यो । थाहा पाउँदा अचम्म लाग्थ्यो । प्रायः हिन्दीमा फुर्थ्यो उहाँलाई

एकपटक भारतीय दूतावासले त्यहाँ हुने पुस्तकसम्बन्धी समारोहमा दुई साहित्यकार पठाउन अनुरोध गर्दै मलाई चिट्ठी लेख्यो । मैले आफ्नो स्वभाव अनुसार र औचित्यका दृष्टिले पनि विचार गरेर, प्राज्ञ र वरष्िठ साहित्यकारका नाताले धुस्वाँ साय्मि र बाहिरको साहित्यकारमा ध्रुव सापकोटाको नाउँ सिफारसि गरेर पठाइदिएँ । त्यसको मञ्जुरी पनि आयो । एक्कासि धुस्वाँलाई के लागेछ कुन्नि, उहाँले भन्नुभयो, “तँ नगए म पनि जान्न ।”

मलाई पर्‍यो आपत् । सब निश्चित भइसकेकामा के गरी मिलाउने ? त्यस बखत भारतीय दूतावासका दुई उच्च पदाधिकारी मधुप मोहता र श्रीमती मोनिका कपिल मोहता निकै सहयोगी साहित्यकार र कलाकार थिए । तिनीहरूसित निकटको सम्बन्ध थियो । मैले गएर मोनिकालाई आफ्नो समस्या बताएँ । उनले मलाई पनि निम्तो गरनि् र त्यो समस्या समाधान भएको थियो । अब धुस्वाँ साय्मिको नेतृत्वमा (उहाँलाई नै नेता बनाउनु उचित देखेँ मैले र त्यसै अनुसार लेखिपठाएँ), हामी जाने भयौँ । दिल्ली ओर्लेपछि धुस्वाँले हामीलाई एउटा अप्रत्यासित खबर दिनुभयो । उहाँलाई कसैले, काठमाडौँ एयरपोर्टमा एउटा ब्ल्याक लेबल उपहार दिएको थियो, त्यो पनि यस्तो भनेर ‘ध्रुवचन्द्र पनि जाँदैछ, त्यसै कसरी जानुहुन्छ ?’ धुस्वाँको भनाइ थियो, “उपहारकर्ता मलाई चिन्छन्, म चिन्दिनँ ।” हुनसक्छ, त्यस बखत मलाई लागेको थियो धुस्वाँ आफैँले किनेर हाम्रा लागि राख्नुभएको थियो ।

“आशा है आप की यात्रा सुखद रहे,” परचिारकिाले यसो भन्दा हवाईजहाज रनवेमा कुदिरहेको थियो । पहिलो दिन धुस्वाँलाई बेग्लै र हामीलाई बेग्लै ठाउँमा राखिएको थियो । केही अन्य मित्र पनि थिए अन्य संस्थाबाट आएका । उनीहरूलाई तेस्रो ठाउँमा राखिएको रहेछ । कार्यक्रम स्थलदेखि अलिक टाढा ।

ध्रुव सापकोटा र मैले त्यो एक रात ब्ल्याक लेबलको राम्रै सेवन गर्‍यौँ, रिित्तने गरी नै थियो कि ? भन्न सक्दिनँ । तिनताक सापकोटा पनि प्रिमियम सेवनकर्ता थिए । वाइनिस्ट भइसकेका थिएनन् ।

दोस्रो दिन धुस्वाँलाई नै नरमाइलो लाग्यो क्यार, उहाँले हामीलाई पनि आफू बसेकै ठाउँमा सार्न लगाइदिनुभयो । यसरी हामी त्यो यात्राभर िएक रातबाहेक सधैँ साथै रह्यौँ । यसले दिल्ली घुम्न पनि रमाइलो भयो, कार्यक्रममा जान र बेलुकी बसेर गफ गर्न पनि सुविधा भयो ।

अन्य केही मित्र गुनासो गर्थे टाढा भयो, रातभर िलामखुट्टेले टोक्छ, गर्मी छ आदि । हामीले यीमध्ये कुनैको खास सामना गर्नुपरेको थिएन । तैपनि, मित्रहरूको चित्त नदुखोस् भनेर ध्रुव सापकोटा र म हामी बसेका ठाउँका खराबीहरू गनीगनी बयान गर्थ्यौं । कुनै कारणवश व्यवस्थापन पक्षले एकै ठाउँमा बस्ने व्यवस्था गर्न सकेको थिएन ।

धुस्वाँलाई अन्त जान कठिन । धुस्वाँका कारणले हामीलाई अन्त सर्न कठिन । उहाँ हाम्रो टोलीको नेता हुनाले त्यो ठाउँमा राखेका थिए, जुन निश्चय नै सुविधाजनक थियो । हामी त धुस्वाँका कारणले त्यहाँ बस्न पाएका थियौँ । त्यसबाहेक धुस्वाँका पुत्र डा प्रकाश साय्मिका मित्र दिनदिनै त्यहाँ आउँथे, सुविधा-असुविधा सोध्न । ती सज्जन धुस्वाँलाई पितासमान मान्थे । सेभेन स्टार होटलमा डिनर दिए । घरमा पनि ख्वाए । जहिले पनि भन्थे, “आप की इच्छा ही मेरे लिये आदेश है ।” एकदिन त्यस्तो इच्छालाई उनले आदेशै ठानेर पूरा पनि गरे । धुस्वाँले फेर िहाम्रो इच्छालाई आफ्नो आदेश बनाउनुभएको थियो ।

एकदिन दुईपटकसम्म अटोमा चढेर हामी पेय पदार्थको खोजीमा निकै भौंतारियौं । परदेशमा समय कटाउने उपायमा प्रायः पेयको भूमिका रहेको छ हाम्रो अनुभवमा ।

जति भौँतारएि पनि त्यस दिन पाइएन । दुई कारण थिए । एउटा त खास समयपछि ‘विदेशी शराब की दुकान’ सारा बन्द हुन्थे । दोस्रो कारण झन् बलियो थियो । त्यस दिन ड्राइ डे थियो ।

हामी थकित र निराश भएर फक्र्यौं र कोठामा पस्यौँ । धुस्वाँलाई थाहा थियो हामी बाहिर गएका थियौँ । हामीले बताइदियौँ आज ड्राइ डे रहेछ । त्यसपछि धुस्वाँको एक्लो कोठा थियो, उहाँ जानु भयो । लगभग चानचुन एक घन्टापछि धुस्वाँले हामीलाई आफ्नो कोठामा बोलाउनुभयो । हामी विभिन्न गफ गरेर समय काटिरहेका थियौँ । खान गएका थिएनौँ । खाना पनि हामी पाएसम्म कोठैमा खान्थ्यौँ, प्रायः धुस्वाँकै कोठामा । हामीले ठान्यौँ, खान बोलाउनुभयो धुस्वाँ सरले । कोठामा जाँदा त के देख्छौँ भने, सिग्नेचरका चार हाफ र खानेकुराहरू टन्न टेबुलमा सजाएर राखिएको छ । धुस्वाँ, यीमध्ये केही पनि खानु हुन्न थियो, तैपनि ती पदार्थहरू सामुन्ने राखेर हाम्रो प्रतीक्षा गररिहनुभएको थियो । हामीले प्रसन्न त हुनु नै थियो । आश्चर्य पनि लाग्यो । सोध्यौँ, कसरी सर ?

सरले बताउनुभयो, प्रकाशको साथीलाई फोन गरेँ, मेरा मित्रहरूले पाएनन्, ड्राइ डे भएकाले । उहाँका त्यही इच्छालाई आदेश मानेर उनले पुर्‍याइदिएका रहेछन् । धुस्वाँको यो गुणै थियो, नेता हुनाले हेरविचार गर्ने दायित्व पनि मान्नुभयो होला । त्यसले हामी दिल्ली बसुन्जेललाई पुग्यो । त्यस दिन मैले त खाना पनि खाइनँ, स्न्याक्सले नै पुग्यो ।

धुस्वाँले एउटा कार्यपत्र तयार पार्नुभएको थियो अंग्रेजीमा । कार्यक्रममा उहाँले त्यसैलाई कन्ट्री पेपरका रूपमा पढ्नुभएको थियो अर्थात् हाम्रो पनि संयुक्त रूपको कार्यपत्र मानेर । निकै चर्चित र प्रशंसित भएको थियो त्यो पत्र । हामीले केही गरेका थिएनौँ, केवल एक-दुई सुझाव दिएका थियौँ । त्यो अन्तर्राष्ट्रियस्तरको कार्यक्रम थियो । बीबीसी, भ्वाइस अफ अमेरकिा आदिले अन्तर्वार्ता लिएका थिए । भ्वाइस अफ अमेरकिाले त भोलिपल्टै बिहान मेरो अन्तर्वार्ता प्रसारति गरेको थियो । नेपालमा सुन्नेहरूले पछि मलाई बताएका थिए ।

टुरिस्टजस्तो हाम्रो भ्रमण थिएन । त्यस कारण ठाउँहरू त त्यति हेर्न पाइएन । तैपनि, केही हेरयिो । जस्तो लोटस् टेम्बल । सहिद गेट त बाटैमा पथ्र्याे, त्यसैगरी अशोका होटल पनि । हो दिल्लीले आफूलाई हरयिो राख्ने भरमग्दुर प्रयत्न गरेको थियो । तर, पुगिरहेको थिएन । त्यो देखिन्थ्यो ।

एकदिन, धुस्वाँले अमृता प्रीतमलाई फोन गर्नुभयो । पुरानो मित्र । धेरैअघि उहाँ सांस्कृतिक सहपाठी भएर आउँदाखेरीको हो कि त्यसभन्दा पनि अघिको । उहाँलाई पनि भेट्न मन लागेको हुँदो हो । तर, त्यसबखत खासगरी उहाँ हामीसित भेट गराउन चाहनु हुन्थ्यो । मैले अन्तर्वार्ता लिने इच्छा प्रकट गरेको थिएँ । भेट्ने समय मिल्यो ।

अमृता प्रीतम एक्कै बस्दी रहिछन् । त्यसबखत त एक सहायक थिइन्, त्यति हो । दुवै जनाले आ-आफ्नो मित्रता बूढो भइयो, रोगी भइयो आदिजस्ता आफ्नैप्रतिका गुनासाहरूका साथ साटे । एक्लो भइयो भनेनन् । तर, एक्ली पनि देखिन्नथिन् उनी ।

मैले अन्तर्वार्ता लिएँ । त्यो प्रकाशित भएको छ । त्यसलाई म आफ्नो आगामी संग्रहमा राख्दैछु पनि । तर, त्यो कुन अखबारमा छापिएको थियो, सोधपुछ गर्नुपर्छ । त्यहीँ अमृता प्रीतमले बताएकी थिइन्, उनको एक उपन्यास धुस्वाँलाई नै केन्द्र बनाएर लेखिएको हो । धुस्वाँले बताउनु त भएको थियो तर लेखिकाकै मुखबाट सुन्दा झन् रमाइलो लाग्यो । त्यसमाथि धेरै ठूली लेखिका हुन् उनी ।

वास्तवमा त्यत्तिकैले पनि त्यो हाम्रो यात्रा सार्थक भएको थियो । आज धुस्वाँ र अमृता दुवै नहुँदा, त्यसको स्मृति छ, त्यसले पनि धुस्वाँका साथ एक सार्थक यात्रा गरएिको थियो भन्ने सम्झना भइरहन्छ ।

पुस्तक मेला पनि थियो विशाल । धुस्वाँले प्रसन्न भएर आफ्नो स्वभाव अनुसार हामीलाई भन्नुभएको थियो, “ल, ध्रुवचन्द्रलाई आईसी चार हजारसम्म र ध्रुव सापकोटालाई दुई हजारसम्मको किताब म किनिदिन्छु, तिमीहरू आफ्नो च्वाइसको छान ।”

हामी छान्नतिर लाग्यौँ । छानीछानी किताब किन्यौँ । त्यसले हाम्रो यात्रालाई प्राज्ञिकसमेत बन्नमा सहयोग पुर्‍याएको थियो । यसले धुस्वाँको स्वभावको गुणात्मक पक्ष पनि झल्किन्छ ।

ती किताबहरू अझै छन् धेरै मात्रामा । अहिले ती किताबलाई हेर्नु भनेको धुस्वाँलाई र उहाँसँगको यात्रालाई सम्झनुभएको छ ।

नेपाल साप्ताहिक ३९५

Leave a Reply

Your email address will not be published. Required fields are marked *