विश्वमा नेपाल एउटा यस्तो देश हो जहाँ दिनहुँ कुनै न कुनै जिल्ला, सहर र गाउँमा कुनै न कुनै चाडपर्व, मेलापात र जात्राहरू भई नै रहेका हुन्छन् । भनिन्छ, नाचगानको सहर भक्तपुरमा मात्रै वर्षभरि कुनै न कुनै ठाउँमा, कुनै न कुनै चाडपर्व, मेला तथा जात्राहरू हुने गर्दछन् । ठीक त्यसरी नै नेपालको मिथिला प्रदेशमा पनि प्रत्येक महिना कुनै न कुनै चाडपर्व मनाइन्छ । चाडपर्व भन्नाले कुनै खास दिन तथा तिथिमा विभिन्न जातजातिका तथा समुदायका मानिसहरूले विशेष पर्वको रूपमा मान्ने र विभिन्न देवदेवीहरूको पूजाआजा गरी भोज भतेर खाई नाचगान गरी रमाइलो गर्ने दिनलाई भनिन्छ । मेलापात भन्नाले धेरै मानिसहरू एकै ठाउँमा जम्मा भई मनाउने जात्रा, यात्रा तथा उत्सवहरू हुन् । जात्रा भन्नाले साधारणतया हामी देवदेवीको रथयात्रा, खटयात्रा आदिलाई भन्दछौँ । त्यस्तै, परम्परा भन्नाले धेरै समयअघिदेखि चलिआएका विभिन्न किसिमका रीतिथिति, प्रचलन तथा प्रथाहरू हुन् ।
कुनै पनि देशको संस्कृति, त्यहाँको जनजीवन र रहनसहनबारे त्यस देशमा मनाइने विभिन्न चाडपर्व, मेलापात, जात्रा तथा परम्पराहरूले उजागर गरेको हुन्छ । जुन राष्ट्र, जाति र समुदायको संस्कृति धनी छ, विकसित छ, त्यस राष्ट्रमा यस प्रकारका सामाजिक, सांस्कृतिक एवं धार्मिक चाडपर्व, मेलापात, जात्रा र परम्पराहरू प्रशस्त मात्रामा हुने गर्दछन् । वास्तवमा यी कुराहरू नै त्यस राष्ट्र, जाति र समुदायको गौरव, इज्जत र प्रतिष्ठाका प्रतीकहरू हुन् ।
नेपालमा प्रचलित चाडपर्व, मेलापात, जात्रा र परम्पराहरूलाई राष्ट्रिय स्तर, बहुजिल्ला तथा जिल्लास्तर, सहर, नगर तथा गाउँस्तर गरी मुख्य तीनस्तरमा राख्न सकिन्छ । राष्ट्रियस्तरका चाडपर्वहरूमा वैशाख सङ्क्रान्ति अर्थात् नयाँ वर्ष, बुद्ध जयन्ती (बुद्ध पूणिर्मा), श्रावण सङ्क्रान्ति, श्रावण शुक्ल पूणिर्मा (जनैपूणिर्मा र रक्षाबन्धन) नागपञ्चमी, कृष्णाष्टमी, बडादसैँ, लक्ष्मीपूजा (तिहार), माघे सङ्क्रान्ति, फागु पूणिर्मा (होली), शिवरात्रि, चैतेदसैँ र रामनवमी आदिलाई लिन सकिन्छ । जिल्ला तथा बहुजिल्लास्तरका चाडपर्वहरूमा काठमाडौँ उपत्यकाभित्र मनाइने गाईजात्रा अथवा जनैपूणिर्मा, बौद्धमार्गीहरूले मनाउने पञ्चदान पर्व, भाद्र शुक्ल चतुर्थीमा मनाइने गणेश चतुर्थीर् (चथा), घण्टाकर्ण (गठाःमो), धान्य पूणिर्मा (योःमरी पुन्ही) आदि चाडको नेवार समुदायमा ठूलो महत्त्व छ । घण्टाकर्ण चाड खासगरी काठमाडौंँ उपत्यकाका कृषक समुदायले रोपाइ सकेपछि शुद्धीकरण गर्न र आफ्नो घर सहरबाट भूत, प्रेत, रोग व्याधीलाई भगाउन मनाउने गर्दछन् । तराईमा मधेसी समुदायले मनाउने छठपर्व र पहाडी जिल्लाहरूमा गुरुङ, शेर्पा र तामाङहरूले मनाउने ल्होसार चाड, क्षेत्री बाहुनहरूले मनाउने तीज (ऋषिपञ्चमी) थारूहरूले मनाउने ‘माघीपर्व’, सरस्वती पूजा (श्रीपञ्चमी) आदि हुन् । ल्होसार पर्व भने विभिन्न समुदायले विभिन्न तिथिमितिमा मनाउने गर्दछन् । जस्तै, गुरुङहरूले पौष १५ गतेलाई आफ्नो नयाँ वर्षको आरम्भको रूपमा तमू ल्होसार, तामाङहरूले माघशुक्ल प्रतिपदालाई आफ्नो नयाँ वर्षको आरम्भको रूपमा सोनाम ल्होसार र शेर्पाहरूले फागुन शुदि प्रतिपदालाई आफ्नो नयाँ वर्षको सुरुको रूपमा ग्याल्पो ल्होसार मनाउने गर्दछन् । तराईका थारूहरूले माघीपर्व माघे सङ्क्रान्तिको दिनलाई नयाँ वर्षको प्रारम्भ भएको दिनको रूपमा मनाउँछन् । यो चाड मनाउन थारूहरूले केही समयअघिदेखि जाँड, रक्सी बनाउने, माछा मार्ने, मीठोमीठो पकवान्न रोटी आदि बनाउने र सुँगुर, कुखुरा, खसी, हाँस आदि काटेर बडो धूमधामसँग मनाउँछन् । मीठो खाने, राम्रो लाउने र नाचगान गर्ने, पवित्र नदीहरूमा गई स्नान गर्ने, इष्टदेवदेवीको पूजाआजा गर्ने र जेठापाका र अन्य मान्यजनहरूको हातबाट सेतो पिठोको टीका लगाई आशीष लिने चलन छ । साथै यो चाडमा छोरीज्वाइँ, भाइभतिजा र इष्टमित्रहरूलाई बोलाएर ख्वाउने पनि चलन छ ।
समष्टिमा भन्नुपर्दा नेपाल अधिराज्यभर नयाँ वर्ष विक्रम संवत्को पहिलो दिन, राम नवमी, चैते दसैं, बुद्ध जयन्ती, साउन सङ्क्रान्ति, नागपञ्चमी, जनैपूणिर्मा, कुसेऔँसी, ऋषिपञ्चमी, बडादसैँ, तिहार, नेपाल संवत् प्रारम्भको दिन (म्हपूजा), छठपर्व, हरिबोधनी र हरिशयनी एकादशीहरू, बालाचतुर्दशी, विवाह पञ्चमी, माघे सङ्क्रान्ति, स्वस्थानी पूणिर्मा, श्रीपञ्चमी, होली, महाशिवरात्रि, घोडेजात्रा, आदि नै हाम्रा प्रचलित चाडहरू हुन् । अधिराज्यका विभिन्न जिल्लाहरूमा विभिन्न जनजातिका मानिसहरूको आ-आफ्नै विशेष प्रकारका चाडहरू पनि छन् । जस्तै ः मकवानपुरका चेपाङहरूले भदौ पूणिर्माको दिन ‘चोनाम’ पर्व मनाउँछन् । पूर्वका राईहरूले वैशाखे चाड, भदौरे चाड, कार्तिके चाड र चण्डी चाड मनाउँछन् । सतारहरूले सौहराई र वहा मनाउँछ । धिमालहरूले असारमा ‘नौवंगी’ र ‘पार्व’ मनाउँछन् । शेर्पाहरूले ल्होसार, दुम्जे र मनिरिम्दु पर्वहरू मनाउँछन् । गुरुङहरूले वैशाख चण्डी पूणिर्माको दिन ठूलो चाड मनाउँछन् । थारूहरूले माघे सङ्क्रान्तिका दिन ‘माघी पर्व मनाउँछन् । पश्चिमका बाहुन क्षेत्रीहरूले गौरा पूजा पर्व मनाउँछन् । मुस्ताङ जिल्लाका लोवाहरू गिने, न्युने, गेन्सु र गेलुङ्ग पर्वहरू मनाउँछन् भने थकालीहरू ‘हल्लाफेवा’ र पुनेलहरू ‘यार्तुङ्ग’, ‘हृयोकासी’ र मनीरिम्दु चाड मनाउँछन् । किराँत लिम्बूहरूको मूख्य चाड पर्वहरू चार ऋतुसँग सम्बन्धित छ । ती हुन् चासोक, यक्वा, कक्फेत्ला र सिसेक्ला । तिनीहरूमध्ये चासोक र यक्वा प्रमुख हुन् । चासोक बालीनाली भित्राइएपछि गरिन्छ र यक्वा बीउबिजन छर्ने याममा मनाइन्छ । पूर्वी नेपालको तराई क्षेत्रमा बसोबास गर्ने थारू समुदायले नयाँ वर्षको प्रारम्भको सँगसँगै वैशाख महिनाभर सिरुवामेला (पर्व) मनाउने गर्दछन् । तामाङहरूको मुख्य बसोबास क्षेत्र बागमती अञ्चल भए पनि यिनीहरू नारायणी, कोसी, मेची र सगरमाथामा पनि ठूलो सङ्ख्यामा छन् । यिनीहरूको मुख्य जात्रा चैते पूणिर्माको अघिल्लो दिन र पूणिर्माको दिन स्वयम्भू र बौद्धमा लाग्ने तिमाल (पर्व) जात्रा हो । यो जात्रा मनाउन भारत, भूटान र वर्मादेखि तामाङहरू काठमाडौँ आउँछन् । तराईका मुसलमानहरूले मनाउने चाड रोजा, इद र मुर्हरम हुन् ।
राष्ट्रियस्तरको मेलापातमा काठमाडौँको इन्द्रजात्रा (कुमारीको रथयात्रा) जनैपूणिर्मामा मनाइने गोसाइँकुण्ड मेला, बालाचतुर्दशीमा पशुपति श्लेषमान्तक वनमा सतबिज छर्ने मेला, माघे सङ्क्रान्तिमा मनाइने देवीघाट मेला, नवलपरासी वाल्मीकि आश्रमको त्रिवेणी मेला, पनौती इन्द्रेश्वरको मेला, वराहक्षेत्रको मेला, बाराको गढीमाईको मेला, खोटाङको हलेसी महादेव मेला, स्याङ्जाको छाङ्गछाङ्गदीको मेला आदि हुन् । राष्ट्रियस्तरको जात्रा भन्नाले काठमाडौँको कुमारीको रथ यात्रा र सेतो मच्छिन्द्रनाथको यात्रा, घोडेजात्रा, पाटनको रातो मच्छिन्द्रनाथको जात्रा, भोटोजात्रा आदि हुन् । राष्ट्रियस्तरको परम्परा भन्नाले हरिशयनी र हरिबोधिनी एकादशीहरूमा स्नान गरी व्रत बसी पूजाआजा गर्ने, फलाहार गर्ने, मातृऔँसी र गोर्कणऔँसीमा आमाबाबुको मुख हेर्ने र आमाबाबुहरूलाई मीठोमीठो खाने कुराहरू ख्वाउने र आमाबाबु नभएकाहरूले आमाबाबुको नाममा श्राद्ध गर्ने, दान दक्षिणा गर्ने, श्रावण सङ्क्रान्ति र माघे सङ्क्रान्तिमा नुहाइधुवाइ गरी दानदक्षिणा गरी मीठोमीठो व्यञ्जन खाने र ख्वाउने प्रचलन रहिआएको छ ।
जिल्ला तथा बहुजिल्लास्तरका मेलापातहरूमा भक्तपुरको बिस्केट जात्रा (भैरवको रथ यात्रा) पाटनको मत्याजात्रा (दीप जात्रा), जनकपुरमा मनाइने जानकी विवाह पञ्चमी मेला, काठमाडौँका बौद्धमार्गीहरूले महिनाभर स्वयम्भूमा मनाउने गुँला मेला, बाइसधारा मेला (ल्हुतीपुनी), दोलखा, पाटन र भीमफेदीको भीमसेन जात्रा, बनेपाको चण्डेश्वरी जात्रा, ठिमीको सिन्दूरे जात्रा (बालकुमारी जात्रा) चाँगुनारायणको जात्रा, पलाञ्चोक भगवतीको जात्रा, काठमाडौंँमा कार्तिक शुक्ल द्वादशीका दिन मनाउने बूढानीलकण्ठ नारायणस्थान मेला, कीर्तिपुरको इन्द्रायणीको जात्रा आदि हुन् भने पाल्पाको भगवती जात्रा र सत्यवतीमाईको मेला, तानसेनको नारायणको जात्रा, भीमसेन जात्रा र गणेश जात्रा, पोखरामा गाईजात्राको अवसरमा मनाइने बाघ जात्रा, सल्यान जिल्लाको छायाँछत्र पिठ मेला, गुल्मीको रिडीको कार्तिक मेला र ऋषिकेशव नारायणको रथ यात्रा, प्यूठानको स्वर्गद्वारीको मेला, सल्यानको चपीघाट मेला, तिव्रीकोटको स्वामी कार्तिक ठाकुरज्यूको मेला, दैलेखको पञ्चकोसीको मेला, दाङको गोरक्ष-रत्ननाथ पिठमेला, कैलालीको वाणेश्वर महादेव मेला र बडा बाबा मेला, डोटीको शैलेश्वरी मेला र दुर्गामाण्डौँ मेला, कञ्चनपुरको सिद्धनाथ बाबाको मेला, वालुङको कालिका भगवती स्थान मेला र वलेवा पैयँुपाता भैरवस्थान मेला, जलेश्वर महादेव मेला, ढोरपाटन उत्तर गङ्गा वराहस्थान मेला, जङ्गेश्वर महादेव मेला, हटिया बजार मेला र चैत्रदसैँको देवीस्थान मेला, जाजरकोटको मष्टोमेला, डडेल्धुराको घटाल जात्रा, बैतडीको राणा शैनी भगवतीको मेला, मेलौली भगवती मेला, तेह्रथुमको गौखरी मेला, झापाको किचक कुण्ड मेला, सतासिधाम मेला, दार्चुलाको जोलजीवीको मेला, आछामको वरददेवीको मेला, बाजुराको बडीमालिका मेला, धादिङको गुप्तेश्वर महादेव मेला, पर्वतको सेतीवेणी मेला र मोदी वेणी मेला र गुप्तेश्वर मेला, नुवाकोटको दुप्चेश्वर मेला, खोताङको वराह पोखरी मेला, हलेसी महादेव मेला, ओखलढुङ्गाको तीनकन्या पंचवती मेला, इलामको माईवेणी मेला र माई पोखरी मेला, बझाङको सुर्मादेवीको जात्रा, सिन्धुलीको कुशेश्वर महादेव मेला, रौतहटको राजदेवीको मेला, रुकुमको डिङ्ग्रे मेला, तनहुँको व्यास गुफा मेला र खड्ग देवीको मेला, सिराहको सहलेश फुलवारीको मेला, बाराको सिमरौनगढको कङ्काली माईको मेला, सप्तरीको हनुमानजीको मेला आदि हुन् ।
नेपाल अधिराज्यका विभिन्न नगर, सहर र गाउँहरूमा प्रचलित चाडपर्व, मेलापात, जात्रा तथा परम्पराहरूको लेखाजोखा गर्न अति नै कठिन छ । काठमाडौंँ उपत्यका र वरपरका नगर तथा गाउँहरूमा वर्ष दिनभरि नै कतै न कतै कुनै न कुनै चाडपर्व, जात्रा मेला आदि भई नै रहेका हुन्छन् । काठमाडौंँ उपत्यकाका विभिन्न नगर तथा गाउँहरूमा मनाइने जात्राहरूमा सतुङ्गल, बलम्बु, थानकोट, किसिपिडी, कीर्तिपुर, पाँगा र मच्छेगाउँमा मनाउने सातगाउँको जात्रा, लुभुको महालक्ष्मी र महाभैरवको जात्रा, ठिमीको बालकुमारीको जात्रा, बोडेको जिब्रो छेड्ने जात्रा, फर्पिङको हरिशङ्करको जात्रा, बनेपाको टुकुम्प गणेश जात्रा र नमोबुद्धको जात्रा, साँखुको बज्रयोगिनीको जात्रा, टोखा सपनतीर्थ मेला, मातातीर्थको मेला, खोकना रुद्रायणीको जात्रा, चापागाउँको बज्रवाराही जात्रा, लेले सरस्वती कुण्ड मेला, पशुपति देउपाटनको त्रिशूल जात्रा, काठमाडौँको म्हेपीको जात्रा, पचली भैरवको जात्रा, गुहेश्वरीको जात्रा, भद्रकालीको जात्रा, भक्तपुरको दुईमाजु देवी जात्रा, आदि हुन् ।
नुवाकोटको भैरवीको जात्रा र देवीघाटको मेला, काभ्रेपलाञ्चोकको नाला भगवतीको रथयात्रा र भीमसेनको जात्रा, सिन्धुपलाञ्चोकको कपिलेश्वर महादेव मेला, मकवानपुर भीमफेदीको भीमसेन जात्रा, टिस्टुङको बज्रवाराहीको जात्रा, पालुङको तीनतीन वर्षमा हुने इन्द्रायणीमाईको जात्रा, धादिङको त्रिपुरासुन्दरीमाई मेला र गङ्गाजमुना मेल, दोलखाको कुमारी जात्रा, देउलिङ्गेश्वर महादेव जात्रा, खडक जात्रा, मच्छिद्रनाथ जात्रा, नवलपरासीको दाउन्ने देवीको मेला, पर्वतको फलेवास नारायण मेला, महोत्तरीको सोनामाई मेला र रतवारा मेला, सिराहको सारस्वरनाथ मेला, रूपन्देहीको शिवरात्रि मेला, सिलौटियाको मेला र नैरनापुरको धाम मेला, दैलेखको मठदुङ्गेश्वर मेला, विलासपुर डाँडाभैरवको मेला, डाँडीमाडी बजार मेला र गढढुङ्गेश्वरको मेला, जाजरकोटको जगतीपुर दरबार मेला, पैक (मष्टो) को मेला, धारापानी मेला, चिनाकुण्ड मेला, बस्नेत गाउँ मेला, आदि । सुर्खेतको सिद्धपाइला मेला, वयलकाँडा र मालिका मेला, शुभामेला र जोते अमराइ मेला आदि, बर्दियाको ठाकुरद्वार मेला, डडेल्धुराको सस्त्रलिङ्ग मेला, आछामको मष्टमान्डो जात्रा, केदार जात्रा, अनन्ते मेला, माउलाखडीको जात्रा, चैतोला पर्व, बाजुराको त्रिवेणी मेला, देवल जात्रा, नाट्येश्वरी मेला, अनन्ते मेला, म्याग्दीको गलेश्वरको मेला, ढोलथानको मेला, जगन्नाथ मेला, मनाङको चामे मेला, तारु हान्ने पर्व, वतेन पर्व, ङयुङने पर्व, छोँकर पर्व, योरतोङ्ग पर्व, बझाङको वान्ने मष्टो जात्रा, खप्तडको मेला, कोट भैरव जात्रा, रोल्पाको केला वराह मेला र दुईदुई वर्षमा मनाइने नौला देवी पाटेश्वर मेला, जलजलाधुरीको मेला, चतुर्भुज मेला, भोजपुरको वहरेश्वर महादेव मेला, साल्पा पोखरी मेला, नागछाङ्गा मेला, भीमसेन जात्रा, गाईजात्रा, मच्छिन्द्र जात्रा र लाखे जात्रा, सोलुखुम्बुको नुङ्ने पर्व, टुक्पा छेसी पर्व, जुम्लाको गाईजात्रा, रोपाइँ जात्रा, सिपाइ जात्रा, वैरागी जात्रा, पाँचथरको लिम्बूहरूको यासोक सिद्धथान मेला, तीनतीन वर्षमा मनाइने याङनाम मेला, रसुवाको चिलिमेको तातोपानी मेला, डुक्पा छेसी पर्व, पार्वती कुण्ड पर्व, नुङने पर्व, छोच्चा पर्व, ताप्लेजुङको फुटुक जात्रा, संखुवासभाको देवीतार मेला, सभापोखरी मेला, भीमसेन जात्रा, चैनपुर सिद्धकालीको मेला, धनकुटाको मधुगङ्गा मेला, दिक्तेलको भगवती जात्रा, रामेछापको हायुजातिको देवीजात्रा, सिन्धुलीको कमलामाई मेला, सिन्धुपाल्चोकको तातोपानी मेला, इलामको आइतबारेमा लाग्ने ‘झ्याम्टे’ मेला, तेह्रथुमको औँसी डाँडामा लाग्ने रामनवमी मेला, राँके मेला, मदन मेला, म्यालुङ बजारमा लाग्ने भाद्रेमेला, चण्डी मेला, थुइया मेला, महेन्द्र मेला, चतुरे मेला, खोटाङको साप्सुधाप मेला, रभुवा मेला, ओखलढुङ्गाको ककनीमा लाग्ने चम्पादेवी मेला, नर्मदेश्वर महादेव मेला, उदपुरको त्रिवेणी मेला, रौताह मेला, सप्तरीको बडादसैँमा लाग्ने सखडा भगवतीको मेला, कास्कीको ढुङ्गेसाँगुको सीतापाइलाको मेला, स्याङ्जाको राम्दी मेला, डोल्पाको जगदुल्ला ताल मेला, गुल्मीको रेसुङ्गाको मेला, रुद्रवेणीको मेला, बडादसैँमा हुने चोरा घाटकोट मेला, अर्घाखाँचीको अर्घाकोटको मेला, चुत्राबेँसीको त्रिवेणी मेला, रुकुमको मुसिकोटको डिग्रेमेला, प्यूठानको भिग्रीकोटको मेला, पुण्य खोला, डल्ले सराय, कवाडी सराय (चिटी खोला) र दाखाकुवाडी हिकमतेश्वर बगैँचामा लाग्ने मेलाहरू, सल्यानको चारदाइ खलङ्गा बजारको कृष्णाष्टमी मेला र कृष्णको रथ यात्रा, शिवरात्रिको छायाँ-छत्र मेला, खैरावाङ भगवतीको मेला, कुभिन्डे दहमेला, दाङ देउखुरीको चौघेरा मेला, हुम्लाको रेलिङ गुम्बामा लाग्ने जेष्ठ पूणिर्माको मेला, खार्पुनाथ मेला, मुगुको रारादह मेला, तिवि्रकोटको गणेश गुफाको मेला, गरुड नाहिनीको मेला, जुम्लाको दानसाँगुको मेला, बाँके नेपालगन्जको बागेश्वरीमा लाग्ने चैत्रको मेला, बर्दिया खसपद नाहाको भैरवको मेला, डोटीको शैलेश्वरी मेला, दार्चुलाको गोकुलेश्वर र तपोवनको शिवरात्रिको मेला, मलिकार्जुनको मेला, बैतडीको जगन्नाथको मेला, ईश्वरी गङ्गाको मेला, देहीमाण्डौ भगवतीको मेला, धुराकेदारको मेला, नङ्थारा र दोगडेको मेला, डडेल्धुराको देवमाण्डौको मेला, लमजुङ दरबारस्थित कालिका मन्दिरमा चैते दसैँ र बडादसैँमा लाग्ने मेलाहरू आदि हुन् ।
यी चाडपर्व, मेला, जात्राहरू कुनै प्रत्येक वर्ष हुन्छ भने कुनै दुईदुई वर्षमा, कुनै तीनतीन वर्षमा, कुनै पाँचपाँच वर्ष र कुनै बाह्रबाह्र वर्षमा पनि हुने गर्दछन् । जस्तै, पाटनको मच्छिन्द्रनाथको रथ यात्रा प्रत्येक वर्ष गर्ने भए पनि प्रत्येक बाह्र बाह्र वर्षमा बुङ्मतीदेखि नै रथयात्रा गर्ने चलन छ । पनौतीको त्रिवेणीमा पनि प्रत्येक वर्ष मकर सङ्क्रान्तिका दिन मेला लागे पनि प्रत्येक बाह्रबाह्र वर्षमा त्यहाँ भारतको कुम्भ मेलाझैँ एक महिनासम्म ठूलो मेला लाग्दछ । मुस्ताङका थकालीहरूको पनि प्रत्येक बाह्रबाह्र वर्षमा आफ्नै किसिमको कुम्भ मेला मनाउने गरिन्छ । काठमाडौँको गोदावरी कुण्डमा प्रत्येक बाहबाह्र वर्षमा ठूलो मेला लाग्दछ । मकवानपुरको इन्द्रायणी जात्रा प्रत्येक तीनतीन वर्षमा मनाइन्छ । रोल्पाको नौला देवीको पाटेश्वर मेला प्रत्येक दुईदुई वर्षमा हुने गर्दछ ।
सहर, नगर-गाउँहरूका परम्पराहरूको लेखाजोखा गर्न सकिँदैन । यस्ता परम्पराहरू ठाउँ, जातजाति, धर्म, समुदाय र परिवारहरूमा समेत फरकफरक र विविध प्रकार हुन्छन् । जस्तै, काठमाडौँका नेवारहरूमा गाईजात्राको समयमा नौ प्रकारका गेडागुडीहरू मिसाई तयार गरिएको ‘क्वाटी’ खाने चलन छ । धान्य पूणिर्माको दिन नयाँ चामलको ‘योमरी” रोटी बनाएर खाने चलन छ । कुमार षष्टि सिठी नखको दिन चामलको पिठोको चक्के रोटी चटामरी र मासको बारा खाने चलन छ । बिस्केट जात्रामा भक्तपुर, ठिमी, बोडे आदि सहरहरूमा बलि दिएर भोज खाने चलन छ । मच्छिन्द्रनाथको भोटो जात्रामा पाटनमा भोज खाने चलन छ । त्यस्तै विभिन्न जिल्लामा नगर तथा सहरमा र गाउँमा मनाइने आ-आफ्ना मुख्यमुख्य चाडपर्व र जात्राहरूमा आ-आफ्नै किसिमबाट मीठो परिकारहरू बनाइ भोज खाने चलन छ । नेपाल अधिराज्यभर क्षेत्री बाहुनहरूले साउन सङ्क्रान्ति र माघे सङ्क्रान्तिमा मीठो परिकारहरू खाने गर्दछ । नेपाल अधिराज्यभर माघे सङ्क्रन्तिमा घिउ, चाकु र तरुल खाने चलन छ । बडादसैँको पर्वमा बलि दिएर भोज खाने चलन पनि अधिराज्यभर नै प्रचलित छ । तराईमा खास गरी पूर्वी तराईको मैथिली समुदायमा मेष सङ्क्रान्तिको ठूलो महत्त्व छ । उक्त दिन तरुवा, वरी, दही, आँपको टिकोलाको चटनी र सातु खाने चलन छ । अक्षय तृतियाको दिन सर्वत र सातु खाने र बाँड्ने चलनलाई पनि हामीले राष्ट्रिय परम्परा नै भने पनि हुन्छ । त्यस्तै, देशभरमा बौद्धमार्गीहरूले खास गरी महायानी बौद्धमार्गीहरूले मनाउने पञ्चदान परम्परालाई पनि राष्ट्रियस्तरको परम्परा भन्न सकिन्छ । सूर्यग्रहण र चन्द्रग्रहणको दिनहरूमा स्नान गरी दानदक्षिणा दिने चलनलाई पनि राष्ट्रिय परम्परा नै भन्न सकिन्छ । यी परम्पराहरूले मानव जीवनमा जन्मेदेखि मृत्युपर्यन्त पनि र जन्मनुअघि आमाको गर्भ रहँदा पनि हामीहरूलाई प्रभावित गरिरहेका हुन्छन् । तसर्थ नेपालमा प्रचलित चाडपर्व, मेलापात जात्रा र परम्पराहरू विशाल तथा बहुआयामिक विषयहरू हुन् । यी विषयहरूमा पूर्ण विराम कहिले पनि लगाउन सकिँदैन । यिनीहरू साँच्चै नै हाम्रो समाज र संस्कृतिको ढुकढुकीहरू हुन् प्राण वायुहरू हुन् । यिनीहरूलाई कसैले पनि राजनीतिक विचारधार र दृष्ट्रिकोणले हेर्न र नाप्न हुँदैन । राजनीति र संस्कृति दुई यस्ता विषयहरू हुन् जसलाई साथै लिएर जान सक्यो भने त्यस देशको विकास र उन्नति चाँडो र द्रूतगतिमा हुन्छ र त्यो दिगो पनि रहन्छ ।
सन्दर्भ ग्रन्थहरु ः-
१. सुरेन्द्रमान श्रेष्ठ, नेवाः संस्कृतिया नखः चखः (नेवारी), काठमाडौँ, सन् २००१
२. लीलाभक्त मुनकर्मी, हाम्रा सांस्कृतिक पर्व र जात्राहरू, काठमाडौँ, २०४३
३. कुलचन्द्र कोइराला, नेपाली सांस्कृतिक जात्रा पर्व, काठमाडौँ, २०५३
४. हरिराम जोशी, हाम्रो संस्कृति, काठमाडौँ, २०३७
५.सत्यमोहन जोशी, नेपाली चाडपर्व, काठमाडौँ, २०३९
६.श्री ५ को सरकार, पुरातत्व विभाग, सांस्कृतिक सम्पदाको प्रारम्भिक सर्वेक्षण प्रतिवेदन, नम्बर एक देखि आठसम्म, काठमाडौँ, २०४२ देखि २०४६/०४७. श्री ५ को सरकार, सञ्चार मन्त्रालय, मेचीदेखि महाकाली, भाग एकदेखि चार, काठमाडौँ, २०३१
८.पुण्य निरौला, पर्वमाला, काठमाडौँ, २०५४
९.डा. साफल्य अमात्य, काठमाडौँ, नगरायण, काठमाडौँ, २०५३
१०.हरिराम जोशी, नेपालका चाडपर्व, काठमाडौँ, २०६०
11.D.B.Shrestha & C.B.Singh, “estivals In Nepal, Kathmandu, 1970
12.Mary M. Anderson, The “estivals Of Nepal, Delhi, 1988
13.Ram Dayal Rakesh, Cultural Heritage of Nepal Terai, Delhi, 1994
14. Hemanta K. Jha, Hindu Buddhist “estivals of Nepal, Delhi, 1996.
