Skip to content


नेपाली साहित्यमा उपन्यास कम लेखिने र बढी पढिने विधामा पर्दछ । उपन्यास विधा साहित्यको यस्तो विधा हो जसमा जीवनको साङ्गोपाङ्ग वर्णन गरिएको हुन्छ । त्यसैले उपन्यास भन्नु जीवन र जगत्को आद्योपान्त वृत्तान्त भएको लामो कथा हो । उपन्यासका यिनै अभिलक्षणलाई हृदयङ्गम गरी लेखिका ललिता ‘दोषी’ले ‘उन्माद’ नामक उपन्यास साहित्यिक बजारमा ल्याएकी छन् । छब्बीस परिच्छेदसम्म विस्तारित यस उपन्यासमा समसामयिक सामाजिक वस्तुयथार्थ प्रतिबिम्बित भएको देखिन्छ । यस हिसाबले प्रस्तुत उपन्यासलाई सामाजिक यथार्थवादी उपन्यास भन्न सकिन्छ ।

यस उपन्यासमा नारी चरित्रको बाहुल्य रहेको छ । प्रमुख पात्रका रूपमा कान्छी र शालुको भूमिका महत्त्वपूर्ण देखाइएको छ जसको निःस्वार्थ र सहयोगी भावनाले उपन्यासका अरू पात्रमा आएको सङ्कट र समस्याको सजिलै समाधान भएको छ । ‘उन्माद’ शीर्षकको यस उपन्यासमा पात्रहरूमा देखिने धनसम्पत्तिको उन्माद, घमण्ड, अहङ्कार र विलासी जीवनको प्रस्तुतिको यस उपन्यासका मुख्य कथावस्तु बनेका छन् । दीपक र उर्मिलाजस्ता नव धनाढ्य परिवारका महिलाहरू तास खेल्दै र मदिरा पान गरी सम्पत्ति उडाउँछन् छोराछोरीको पढाइ र स्वास्थ्यको ख्याल गर्दैनन् । कान्छीजस्ती सरल नारीलाई विभिन्न लाञ्छना लगाएर घरबाट निकाल्छन् जसको खाँचो शालु र सुजनको भविष्य निर्माण गर्न आवश्यक थियो । केशव र पीताम्बराजस्ता आदर्श दम्पतीले छोरी रोहिणीको इच्छाबमोजिम गरिब प्रसन्नलाई इन्जिनियर बनाउँछन् तर स्वार्थी प्रसन्नले रोहिणीको जीवनमा विश्वासघात गरी बज्रप्रहार गर्छ । मौसमीजस्ती बैंसको उन्माद थेग्न नसक्ने युवतीको खराब सङ्गतमा पर्नाले जीवन नै तहसनहस हुन्छ र ऊ एड्स रोगी हुन्छे । आफूलाई कोठीमा लगेर बेच्ने निमेषलाई बदलामा ऊ एड्स सारिदिन्छे । नाटकीय ढङ्गमा अघि बढेको कथानक एक्कासि अर्कै दिशातर्फ मोडिन्छ । एड्स लागेपछि निमेष विष खाई आत्महत्या गर्छ । विश्वासघाती प्रसन्नको बदलालिन वषर्ाका बाबुले छोरीलाई सम्बन्धविच्छेद गर्न लगाउँछन् र घर सम्पत्ति छोरीका नाममा पास गराइदिन्छन् । लागूपदार्थ सेवन गरी जीवन बर्बाद गर्ने फिरोज शालुलाई पाउने आशामा दुव्र्यसन छुटाउँछ ।

मिलनसार र सहयोगी भावना भएकी कान्छीको पनि जीवनमा नाटकीय परिवर्तन आउँछ चन्द्रकान्तसँग पुनर्विवाह गरेपछि । यौनप्यास र बैंसको उन्माद थेग्न नसक्दा मौसमीजस्ता उच्छृङ्खल युवती कसरी भासमा जाकिएका छन् र घरमा काम गर्न बसेकी मोनालाई गिद्धे दृष्टिले हेर्ने अच्युतले आफ्नै श्रीमतीलाई मारेको घटनाबाट यौन तृष्णाले मानिस कति निर्दयी र अपराधी हुँदोरहेछ भन्ने देखाइएको छ । वर्तमान सहरिया जीवन शैलीमा देखिने विकृति र आडम्बरलाई पनि उपन्यासले एकएक गरी केलाएको छ । तथाकथित अभिजात वर्गको भड्किलो जीवन, सुरा सुन्दरी र लागूपदार्थ सेवनको दुव्र्यसन, नारी शोषणका चरम नमुना पनि यस उपन्यासका कथ्यवस्तु बनेका छन् । खराब चरित्र र आचरण भएका पात्रलाई सही बाटोमा ल्याउन र आफूले गरेका गल्ती र कमजोरीलाई नदोहोर्‍याउने वाचा गराउन उपन्यासको कथानक सफल देखिन्छ भने पात्रहरूको आफ्नो कर्मअनुसार सबैले यथोचित दण्ड-सजाय र पुरस्कार पाएको घटना उपन्यासमा वणिर्त छ । समग्रमा यो उपन्यास रोचक कथानकले भरिएको नारी चरित्रप्रधान, सामाजिक यथार्थवादी र सुधारात्मक सन्देश दिने शिक्षाप्रद उपन्यास हो भन्न सकिन्छ ।

पुस्तकः उन्माद (उपन्यास)
लेखिकाः ललिता ‘दोषी’
प्रकाशकः डीकुरा पब्लिकेशन, काठमाडौँ
संस्करणः प्रथम, २०६६
पृष्ठ सङ्ख्याः १३६
मूल्य ः रु. ९५।-

1 thought on “नारी चरित्रप्रधान उपन्यास”

Leave a Reply

Your email address will not be published. Required fields are marked *