कान्छा तिमीले भन्थ्यौ-
तिम्रो कसम, तिम्रोलागि
म त जे पनि गर्छु,
तिम्रै निम्ति हाँस्छु, तिम्रै निम्ति रुन्छु
तिम्रैलागि बाँच्छु, म त
तिम्रैलागि मर्छु,
तिमी एकैपल्ट मर्यौ,
म त बारबार मरेँ
अनि मर्दैछु, कहिले आफ्नाहरूको
नमिठो वचनमा
कहिले धेरै गाह्रोमा
कहिले शून्यताको भारीले थिचिएर मरेँ
कहिले तिम्रो मायाको प्यासले मरेँ
कहिले सम्झनाको रापले मरेँ
कहिले अभावले मरेँ, कहिले महँगीले मरेँ
मर्दै व्यूतिदै, मर्दै व्यूतिदै
धेरैचोटि मरेँ
तिमी एकपल्ट मरेर पनि
बाँचिरहेका छौ, मेरो सम्झनामा
मेरो मनको हृदयमा, मेरो साँझमा
विहानमा अनि रातमा, दुःखमा
सुखमा, हरेक पलपल, घडीघडीमा
मेरो श्वासपश्वासमा, हरेक वासमा
पाइला-पाइलामा, तन्द्रामा, निद्रामा
कोठामा, चोटामा, भान्सामा, छोराछोरीको
निर्दोष अनुहारमा, घरमा, अफिसमा, व्यापारमा
सडकमा जहाँतहीँ चाडबाडमा हरेक जमघटमा
आफन्तकोमा अनि मन्दिरमा, फूलमा, देउतामा,
हरेक क्षणमा
अनि म बाँचेर पनि-
मरिरहेँछु हजारचोटि मर्नुको पीडा
महसुस गर्छु, तिम्री कान्छी मरिरहिछे
हरेक क्षण-क्षणमा, कण-कणमा,
कान्छा तिमीले भन्थ्यौ, तिम्रो कसम
हामी सँगै बाँचौ, सँगै मरौँ
तर म आज, एक्लै मर्दैछु
अनि फेरि व्यूँतिदैछु, फेरि मर्दैछु
योक्रम दोहोरिरहेछ
मेरा आँखाको आँसु देख्न नसक्ने तिमी
मेरो ओठको लवज सुन्न नसक्ने तिमी
म जिउँदै मरेको आज
देख्यौ तिमीले ?
कान्छा तिम्रो कसम
तिम्री कान्छी मरिरहिछे ।
-काठमाडौँ
