रामप्रसाद विद्यार्थी छँदा सधैँ देवीको मन्दिरमा प्रार्थना गर्ने र प्रथम बनाइदिन बरदान माग्ने । परिणाममा स्कुलदेखि क्याम्पससम्मको पढाइमा उनले कहिल्यै दोस्रो हुनु परेन ।
रामप्रसादले पढाइ सकेपछि राम्रो जागिर खान सकूँ भनी पुनः देवीको मन्दिरमा धाउन थाले । परिणाममा उनले लोकसेवा आयोगको शाखा अधिकृतको परीक्षा पास गरे र राम्रो ठाउँमा पोस्टिङ हुन पाए ।
रामप्रसादले जागिरबाट राम्रै पैसा कमाएर धन-सम्पत्ति जोड्न सकूँ भनेर पुनः देवीको प्रार्थना गरिरहे । परिणाममा जागिर खाएको छोटो समयमै घर, गाडी, जग्गा, बैंक, मौज्दादलगायतका सम्पूर्ण कुराहरू जोड्न सफल भए ।
रामप्रसादले देवीको प्रार्थना गर्न बिर्सिए अब । परिणाममा उनको सुखी-सम्पन्न पारिवारिक जीवनमा एक्कासी ग्रहण लाग्यो । उनले कमाएको अकुत सम्पत्ति भ्रष्टाचार गरेर कमाएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको छानबिनले जेल परे । उनको सम्पूर्ण सम्पत्ति जफत् भयो ।
रामप्रसादलाई आशा छ-आफ्नो सबै मनोकामना पुर्याइदिने देवीको मन्दिरमा गएर प्रार्थना गर्न पाएमा छुट्न सक्थें कि । त्यसैले अहिले उनी मन्दिर जान पाउनका लागि जेलरको प्रार्थना गरिरहेका छन् । परिणाममा उनलाई देवीको मन्दिरमा जान पाउने अनुमति मिल्यो ।
रामप्रसाद पुलिसकै गाडीमा चढेर आफूले भनेकै मन्दिरमा पुगे । उनले देवीका अगाडि प्रार्थना गरे- “परमेश्वरी देवी, मलाई यो विपत्तिबाट मुक्ति दिलाइ दिनुस् । यो नै देवीमातासँग मेरो अन्तिम माग हो । यति भए अब अरू केही पनि माग्ने छैन ।”
रामप्रसादको देवीको प्रार्थना सकिएपछि पुनः गाडीमै राखेर जेलतिरै ल्याइँदै गर्दा बाटोमा उनी चढेको गाडी दुर्घटनामा पर्यो । परिणाममा एकजनाको घटनास्थलमै मृत्यु भयो र अरू चाहिँ घाइते मात्र भए । त्यो दुर्घटनामा मर्ने व्यक्ति चाहिँ रामप्रसाद थिए ।
