Skip to content


तिमी
मेरो सर्वस्व हौ भनेर
मैले गलत सोचेको थिएँ ।

तिम्रो अनुपस्थितिमा पनि
झ्यालबाट सुस्तरी ओर्लेर
मसँगै सुत्न आउँछे चन्द्रमा
र, मधुर गीत गाउँदै सुताउँछन् जूनकीरीहरू
बिहानीको संकेत दिँदै
बिच्छ्यौनामै स्पर्श गर्न आइपुग्छन्
स्नेही सूर्य किरणहरू ।

तिमीबिना नै आएको छ वसन्त
मेरो आँगनमा
सुवासित फूलहरू बोकेर
र, सञ्चो-बिसञ्चो सोध्न आइपुग्छन्
सेता परेवाहरू
प्रत्येक दिन ।

सत्य प्रिय एक्लै पनि
तरंगित हुँदै उडान भर्छ मेरो मन
कल्पनाको आकाशमा
भर्खरै फूल चुमेर उडेको भँवराजस्तै
साँच्चै तिम्रो अँगालोभन्दा पनि
न्यानो र मायालु कुरा
अरू पनि छ संसारमा ।

तर, तिमी केही थिइनौ भन्ने हैन प्रिय
तिमी गजबकी नशा थियौ
हिजोआज मैले पिउने गरेका
लोकल रक्सीजस्तै
फरक यति हो
तिम्रो ह्याङ्ओभर लामो रह्यो ।

नेपाल साप्ताहिक ४१०

Leave a Reply

Your email address will not be published. Required fields are marked *