Skip to content

मानव जीवनमा संगीतको महत्व

KumarBablu


मानव जीवन संगीतकै साथमा जन्मछ र संगीतकै साथमा अस्त पनि हुन्छ । धर्तीलाई स्पर्श गर्नासाथ बालक सर्वप्रथम रुन्छ । त्यो एक प्रकारको संगीत नै हो । मानिस मर्दा पनि रामनाम सत्य हो भन्ने महामन्त्र जप्दै दाहसंस्कारमा लगिन्छ । त्यो पनि संगीत नै हो । यी दुबै कुराले संगीतलाई सूत्रात्मक तवरले बाँधेको भने पाइन्न किनभने यसको आयाम वृहत् हुन्छ । आजसम्म संसारमा जन्मेका स्वस्थ बच्चा नरोई रहन सकेका छैनन् । त्यस्तै मृत्युसंस्कारमा संगीतको गुञ्जायमान नगरी अर्थीको दाहसंस्कार गरिएको पाइन्न । जीवन नै संगीतले बाँधिएको छ । कोइलीको सुरिलो र कोमल आवाजलाई मन पराएर नै उक्त पक्षीलाई सबैले मन पराएका हुन् । मयुर त सुन्दर पक्षी हो तर यसले आफ्नो सौन्दर्यताभन्दा उत्तम तवरले नृत्य देखाउँछ जसले सबैलाई चकित तुल्याएको हुन्छ । कोमल र सुरिलो स्वर भएका मानिसलाई सबैले मन पराउनुको तात्पर्य पनि संगीतकै हात भएकाले हो । खराव कुरा पनि मीठो भाकामा र स्वरमा भनियो भने मीठै लाग्दछ । यी सम्पूर्ण वास्तविकताहरुमा संगीतको लोकप्रियताको भूमिका छ । मानव सभ्यताको विकासपूर्व या नि मानव भाषाको विकास अघिदेखि नै संगीतको विकास भएको विचार विद्वान् मैक्समूलरको छ । यस कुरालाई काट्ने ठाउँ कतै छैन ।

हिन्दू संस्कारअनुसार नामाकरण, कर्णछेदन, मुन्डन, विद्यारम्भ, जनैधारण, विवाह, मृत्युसंस्कार आदि गरी जम्मा १६ संस्कार छन् । ती सबै संस्कारको शुरुवात र अन्त संगीतबाटै हुन्छ । हामी मनाउने त्यस्तो कुनै पर्व छैन जसमा संगीतको भूमिका नभएको होस् । दिनभरि कठोर श्रमले दिएको थकानलाई बाँसुरीको मीठो धुनले क्षणभरमै मेटाइदिन सक्छ । बालिनाली रोप्न शुरु गर्दा होस् या भित्र्याउँदा होस् संगीतकै आधार लिइन्छ । नाच्दै, गाउँदै, मन बहलाउँदै गरिएका कार्य शुभ हुन्छन् भन्ने मान्यतालाई स्तापित गर्न समेत संगीतकै हात छ । बालिनाली भित्र्याउँदा या भित्र्याएपछि रंगअविर एकअर्कामा दलेर होली मनाउने गरिन्छ । यसरी खुशी साटासाट गरेमा वर्षभरि नै हर्षोल्लास छाउँछ भन्ने जनविश्वास छ ।

संगीतले क्षणिक मनोरञ्जन दिनेमात्र होइन यसले चीरस्थायी रुपमा आनन्द समेत दिन्छ । आत्मसुखको मूल श्रोत नै संगीत हो । भक्तिमार्गको अभिन्न अंग नै संगीत हो । हाम्रो समाजमा देखिएका र महान् कहलिएका साधुसन्तहरु जस्तै सूरदास, मीरा, तुलसी, दार्शनिक ओशो, स्वामी रामदेव, कविर, बैजुबाबरा, तानसेन, स्वामी हरिदास आदिले संसारमा चमत्कारीक कार्य गरेर देखाउनुमा संगीतको श्रेष्ठ हात छ । मान्छेले मात्र संगीतमा आत्मसुख पाउँदैनन् । पशुपंक्षीहरुलाई समेत मोहित पार्ने खुबी संगीतमा छ । भगवान् कृष्णको बासुरीको धुनले पशुपक्षी मोहित भई एकत्रित हुनु, विनबाजाको धुनले सर्पहरु नजिक आउनु यसको प्रमाण हो । यस प्रकार मानव जीवन र संगीतको सम्बन्ध नङ्ग र मासु एवं आत्मा र शरीरकोझैँ रहेको छ भन्दा अतिशयोक्ति गरेको नठहर्ला । जदौ ।

डाढा २, सप्तरी

लेखक परिचय
नाम ः रामनारायण खङ्ग
साहित्यिक नाम ः कुमार बब्लु
स्थायी ठेगाना ः डाढा २, सप्तरी, मो नं ९८०४७०९८४३
हाल ः दुर्गा मा. वि. राजविराज ः ८, सप्तरी, फोन नं ः ०३१५२०३७६
शैक्षिक योग्यता ः आइ. ए. (मानविकी), स्नातक (संगीतमा)

4 thoughts on “मानव जीवनमा संगीतको महत्व”

  1. सर namaskaar !!
    हजुरको लेख

    सर namaskaar !!
    हजुरको लेख पढे मैले !! संगित सम्बंधिको थप ग्यान मिल्यो !!
    हजुर संगीतको ज्ञाता हुनु भएको नाताले मलाई एउटा जिज्ञासा राख्न मन लाग्यो- आशा ६ हजुरले जिज्ञासा निवारण गरिदिनुहुनेछ !
    मानौँ कि कुनै व्यक्तिले आफै गुनगुनाएर आफ्नो सब्द ( गित भनी लेखिएको ) मा नया धुन उत्पादन गर्यो जुन धुन अरु कुनै पुराना गित संग मिल्दैन ! तर त्यो मान्छेलाई कुनै पनि किसिमको सांगीतिक साधन बजाउन आउदैन !! अब उसले त्यो धुन मा कुनै गायक मार्फत स्वर भराउन चाह्यो भने संगीतकारको नाम मा उसकै नाम आउछ कि आउदैन? (मेरो आशय गुनगुनाएर धुन बनाउन सक्ने खुबी भएको मान्छेले संगितका साधन बजाउन नजानेको आधारमा संगीतकार हुनबाट बन्चित हुनुपर्छ कि पर्दैन? )
    जवाफको अपेक्षा गर्नेछु !!

  2. भट्टराईजी तपाईँले उठाउनुभएको
    भट्टराईजी तपाईँले उठाउनुभएको मननीय कुरो कुमार बब्लु कहाँ म पुर्याउँला
    उहाँले यो वेभ भिजिट गरे पनि प्रतिउत्तर लेख्न तर्फ चासो राख्नुहुन्नजस्तो छ
    तपाईँको जिज्ञाशा हामी सबैको भएकोले म जे उत्तर पाउँला यहाँलाई यहीँ भनूला है त
    नन्दलाल आचार्य

  3. दीपेन्द्रजी जिज्ञासाका लागि
    दीपेन्द्रजी जिज्ञासाका लागि धन्यवाद
    धुन दिनेले मान्छेले सोहीअनुसार दिशानिर्देश गरी अन्य बाजागाजा बजाउन लगायो
    गायकगायिकाले ठीकरूपमा गाए नगाएको ठहर गरी उपयुक्त सल्लाह दिन सक्यो भने ऊ अवश्य संगीतकार कहलाउँछ
    यसको अर्थ बजाउनै जान्नुपर्छ भन्ने छैन
    अर्को कुरा लोकभाका संकलकहरूले लोकगीतका शब्दसँगै भाका संकलन गर्ने हुनाले संकलक नै सर्वेसर्वा हुन्छन्
    अरू केही बाँकी भए सम्झनुहोला ! धन्यवाद
    कुमार बब्लु
    08.27

    1. thank u thank u very much
      thank u thank u very much nandalaal sir 4 ur information !!actually i was trying 2 know about this clearly, since long time before !! finally i could know today, due to u !! i m really faithful toward u sir!! thank u very much once again!!

Leave a Reply

Your email address will not be published. Required fields are marked *