Skip to content

सद्भाव र सिर्जनासहितको कलासाहित्य यात्रा

  • by


‘हरियो भरियो इलामलाई देख्दा मलाई नेपालभरि अलिअलि इलाम छर्न मन लाग्यो ।’
-भूपी शेरचन

विगत केही वर्षदेखि राजनीतिक दलका भाषण र नारामा मात्र नभएर साहित्य, कला र सङ्गीतका भावमा पनि देश दुखेका कुरा, राष्ट्रिय एकता र अखण्डतामा आँच पुगेका कुरा, सद्भाव र सहअस्तित्व खलबलिएका चिन्ता र चासोहरू अभिव्यक्त हुँदैआएका छन् । चिन्ता सबैलाई छ, खबरदारी आ-आफ्नो क्षेत्रबाट सबैले गरिरहेकै देखिन्छ तर पनि राजनीतिक व्यवस्था परिवर्तनपछिको यो सङ्क्रमणकालीन अवस्थामा आ-आफ्नो स्वार्थसिद्ध गर्न चाहनेहरूका कारण उत्पन्न सङ्कट झन्झन् गहिरिँदै गइरहेको छ । सबैले बोल्ने बोली भनेको जनचाहना अनुसार गर्न चाहेको भन्ने नै हो । अर्थात् जनताले चाहेको भन्नु नै शान्ति र सद्भाव हो । यो नभई देश कसरी समृद्ध हुन्छ ? हो, यसैका लागि साहित्यकार, कलाकार र सङ्गीतकारहरूको खबरदारीका स्वरहरू निरन्तर उरालिइरहेका छन् ।

यसै सन्दर्भमा ‘नेपाली कलासाहित्य डट कम प्रतिष्ठान’ले साहित्य, कला र सङ्गीतको त्रिवेणी देशभर बगाउने अठोटका साथ वि.सं. २०६४ बाट प्रारम्भ गरेको ‘सद्भाव र सिर्जना’ मूल नाराका साथ यसपटक ‘इलाम-यात्रा’ सम्पन्न गरेको छ । ‘राष्ट्रिय ध्येय’ जागृत गराउनु कार्यक्रमको मूल उद्देश्य रहेको प्रतिष्ठानकी अध्यक्ष मोमिलाले कार्यक्रममा बताउनुभयो । हरेक व्यक्तिको मूल ध्येय राष्ट्रिय हुनुपर्छ । राष्ट्रिय चेतना जागृत नभई देश समृद्ध बन्न सक्दैन । यसैले साहित्य, कला र सङ्गीतलाई राष्ट्रिय मूलमुद्दामा केन्द्रित गरेर यो कार्यक्रम गरेका हौँ भन्दै मोमिलाले अगाडि भन्नुभयो- द्वन्द्वपछिको चरम उत्कर्षको निर्माणको क्षणमा प्रत्येक नागरिकमा राष्ट्रिय ध्येयको चिन्तन नभई देश अगाडि बढ्न सक्दैन । राष्ट्रकेन्द्री समर्पण नभई देश बन्दैन । हत्या, हिंसा र अराजकताको अन्त्यका लागि चेतना जागृत गराउन यो सद्भावपूर्ण यात्रा प्रारम्भ गरिएको हो र यसले ठूलो सहयोग पुर्‍याएको छ । हाम्रो पहिलो यात्रा वि.सं. २०६४ मा नेपालगञ्जमा साम्प्रदायिक दङ्गा भड्किएको बेलामा सद्भावका लागि प्रारम्भ भएर वि.सं. २०६५ मा पोखरा, वि.सं. २०६६ मा गैँडाकोट हुँदै यस पटक इलाम आएका हौं । हाम्रो यात्रा र कार्यक्रमहरू सह-अस्तित्वपूर्ण राष्ट्रिय एकता एवं राष्ट्रिय ध्येयमै केन्द्रित छन् ।

पूर्वाञ्चलको सुन्दर नगरी इलामको वर्णन आ-आफ्नो विचार र ढङ्गले त्यहाँ रहने तथा पुग्नेजति सबैले गरेकै छन् । कवि भूपी शेरचनको ‘हरियो भरियो इलामलाई देख्दा नेपालभरि अलिअलि इलाम छर्न मन लाग्यो’ भन्ने कवितांशले इलामप्रतिको आकर्षण सबैमा जगाउँछ नै । इलामले नेपाली साहित्य, कला र संस्कृतिमा धेरै अघिदेखि नै चर्चा कमाउँदै आएको छ । वि.सं. २०११ सालमा करफोकमा भएको साहित्यिक सम्मेलनलाई नेपाली साहित्यको इतिहासमा ज्यादै महत्वपूर्ण मानिन्छ भने पटकपटक यस्ता स्मरणीय कार्यक्रमहरू इलाममा गरिँदै आएका छन् । यस पटक नेपाली कलासाहित्य डट कम प्रतिष्ठानले ‘स्रष्टा मञ्च नेपाल, इलाम’ को संयोजन र ‘नौलो साहित्यिक बिहान प्रतिष्ठान, पाँचथर’को सहयोगमा गरेको ‘राष्ट्रिय ध्येय’ जागृत गराउने यो त्रिवेणी कार्यक्रमले सहभागीहरूको मन जित्न सफल भयो । कार्यक्रमको पहिलो दिन ‘समकालीन नेपाली कवितामा राष्ट्रिय ध्येय’ विषयक कार्यपत्र समालोचक डा. लक्ष्मण गौतमले प्रस्तुत गर्नुभएको थियो । कार्यपत्रको प्रारम्भ गर्दै डा. गौतमले उल्लेख गर्नुभएको छ-राष्ट्र र राष्ट्रियता प्रतिविम्बित हुनु, राष्ट्रप्रतिको चिन्ता र चासो अभिव्यक्त हुनु तथा सिर्जनामा सर्जकको राष्ट्रिय ध्येय कुनै न कुनै रूपमा प्रस्तुत हुनु कुनै पनि देशको साहित्यको समृद्धिको सूचक हो । पछिल्लो समयमा राष्ट्र हरेक दृष्टिले जर्जर भइरहेका अवस्थामा कवि/स्रष्टाहरू चिन्तित हुनु स्वाभाविक हो । यही राष्ट्रप्रतिको सर्जकको कर्तव्यसँग गाँसिएर समकालीन नेपाली कवितामा राष्ट्रिय ध्येय टड्कारोरूपमा आएको पाइन्छ । राष्ट्र र राष्ट्रियताप्रतिको लक्ष्य, चिन्तन, सोच र समग्रमा राष्ट्रियभावको लक्ष्य राष्ट्रिय ध्येय हो र यो राष्ट्रका नागरिकको लक्ष्य, उद्देश्य र कर्तव्यसँग गाँसिएको हुन्छ । यो एक किसिमको राष्ट्रवाद हो । राष्ट्रप्रति नागरिकको कर्तव्य, उद्देश्य र दायित्वसँग गाँसिएका अनेकाँै प्रश्नहरूको उत्तरसँग राष्ट्रिय ध्येय गाँसिएर आएको हुन्छ । प्रत्येक स्रष्टा राष्ट्रका नागरिक भएकाले सिर्जनामा राष्ट्रिय ध्येय जोडिएको हुन्छ । डा. गौतमको कार्यपत्रमा नेपाली कवितामा राष्ट्रिय ध्येयको सन्दर्भ उठान गर्दै भनिएको छ-नेपाली कविताको इतिहासमा प्राथमिकताकालीन वीर धाराका कवितादेखि नै राष्ट्रिय ध्येयको प्रतिविम्बन पाइन्छ । मूलतः शासक स्तूतिलाई अन्तर्वस्तु बनाइए पनि तत्कालीन कवितामा पाइने राष्ट्रिय ध्येयको भाव गम्भीर देखिन्छ । माध्यमिककालीन कवितामा यो भाव केही सुस्ताए पनि कर्तव्य र राष्ट्रवादको उदात्तता पाइन्छ । प्राथमिक र माध्यमिककालीन कवितामा पाइने राष्ट्रिय ध्येय आदर्शद्वारा अनुप्राणित थियो भने आधुनिक कालमा कवितामा यसको स्वरूपमा केही परिवर्तन आएर कोरा आदर्शका स्थानमा व्यावहारिक आदर्शको राष्ट्रिय चिन्ता र चासो अभिव्यक्त भएको पाइन्छ । समकालीन नेपाली कवितामा पाइने राष्ट्रिय ध्येय कोरा आदर्शको उग्र राष्ट्रवाद नभई देशको युगीन सङ्गतिहीनताका कारण उत्पन्न देशको दुरावस्था र त्यसबाट आहत कविको चेतनाको पीडाको अभिव्यक्तिका रूपमा आएको छ । राष्ट्रप्रतिको चिन्ता र चासो नै समष्टिमा समकालीन नेपाली कविताको राष्ट्रिय ध्येयको रूपमा सङ्केतित भएको पाइन्छ । राष्ट्रप्रतिको कविको कर्तव्य, दायित्व र जिम्मेवारीको ध्येयभन्दा पनि राष्ट्रको युगीन त्रासदीका विम्बहरू देखेर, भोगेर, अनुभव गरेर ती भोगाइ र अनुभूतिका यथार्थलाई कविले अभिव्यक्त गरेका छन् । त्यसैले राष्ट्रले भोग्नुपरेको आततायी समयका विम्बहरूबाट समकालीन नेपाली कविताको राष्ट्रिय ध्येय परिपोषित देखिन्छ । राष्ट्रका लागि केही दिनेभन्दा पनि राष्ट्रबाट सर्वस्व लिन मात्रै जानेका सत्तानायकहरू, सत्ताका अनुगामीहरू र सत्ताचारणहरूबाट राष्ट्र लुटिएको देखेर आक्रान्त भएको कवि संवेदना कविताका शब्दहरूमा रूपायित हुँदा कविता अन्तश्चेतनाबाट युगीन बेथितिका बिरुद्ध अभिव्यञ्जित राष्ट्रिय ध्येय नै आजका कविताको ध्येय हो ।

हामी प्रथमतः नेपाली हौँ र त्यसपछि मात्र हिमाली, पहाडी, तराईली हौँ भन्ने भावनालाई अबका कविताले आत्मसात गर्नुपर्छ । क्षेत्र, जाति, धर्म, वर्ण, वर्ग, लिङ्ग, सम्प्रदाय आदि जेमा छरिएर रहे पनि सर्वप्रथम हाम्रो पहिचान र परिचय नेपाली हुनुमा छ भन्ने ध्येयलाई समकालीन नेपाली कविताले दिशानिर्देश गर्नुपर्छ । सह-अस्तित्वबिना सद्भावको सिर्जना हुनसक्दैन । सह-आस्तित्व र सद्भावको राष्ट्रिय ध्येयले मात्र नेपालीत्व अमर रहनसक्छ । कवितामा यिनै वाणीको अभिव्यक्ति आजको अपेक्षा हो । कार्यपत्रमा राष्ट्रिय ध्येयभाव बोकेका केही कवितांशका उदाहरणहरू पनि प्रस्तुत छन् ।

डा. लक्ष्मण गौतमको कार्यपत्रमाथि डा. देवी क्षेत्री दुलाल, अमर गिरी, डा.नृसिंहकुमार खत्री, धर्मेन्द्रविक्रम नेम्वाङ र तुलसीहरि कोइरालाले टिप्पणी गर्नुभएको थियो । टिप्पणीकर्ताहरूले कार्यपत्रमा छुटेका पक्ष र समावेश गर्नैपर्ने केही कुराहरू पनि उल्लेख गर्नुभएको थियो । समकालीन कविताका केही प्रवृत्ति, धार र केही कविहरूको नाम छुटाउनै नहुनेजस्ता कुराहरू टिप्पणीमा आएका थिए ।

पहिलो दिनको यो कार्यक्रमको सभापतित्व स्रष्टा मञ्चका अध्यक्ष कवि विमल वैद्य र नेपाली कलासाहित्य डट कम प्रतिष्ठानकी अध्यक्ष मोमिलाले संयुक्तरूपमा गर्नुभएको थियो । कार्यक्रममा अतिथिका रूपमा गणेश रसिक, राम बिहारी, बुद्धिप्रसाद घिमिरे, धर्म गौतम, उषा शेरचन, राधेश्याम लेकाली, सत्येन्द्र जगेजूलगायतका व्यक्तिहरू मञ्चासिन हुनुहुन्थ्यो भने काठमाडौँबाट गएका कवि/पत्रकारहरू पनि अतिथिका रूपमा रहेका थिए । कार्यक्रममा दक्षिण कोरियाबाट आउनुभएका कोरियन बुबाआमा भनेर चिनिनु हुने समाजसेवी जोडीलाई सम्मान गरिएको थियो । विगत २० वर्षदेखि कोरियामा रहेका नेपालीलाई सहयोग गर्दै आएको यो जोडी नेपालप्रति आकषिर्त हुनुमा गौतमबुद्धको जन्मभूमि नेपाल भएको कारणले पनि ज्यादा हो भनेर सो अवसरमा जोडीले बताए । यसै कार्यक्रमका लागि सिक्किमबाट कवयित्री सुधा एम राई र मिरिकबाट सिद्धार्थ राई आउनुभएको थियो ।

राष्ट्रिय ध्येयको मूल विषयलाई कला र सङ्गीतले पनि समेटेकाले कार्यक्रमको त्रिवेणी स्वर इलामको जिल्ला विकास समितिको हलमा गुञ्जिएको थियो । फोटोग्राफर सुन्दर बस्नेतका चित्रहरूले सहभागीहरूको ध्यान खिचिरहेका थिए भने सुकर्म समूहको साङ्गीतिक धुन सुन्नका लागि हलमा अटाइनअटाइको उपस्थिति थियो । डा. धु्रवेशचन्द्र रेग्मीको साङ्गीतिक टोलीले राष्ट्रिय ध्येय जागृत गराउने विभिन्न धुनहरू प्रस्तुत गरेको थियो । दुवै दिनका कार्यक्रमको समापन साङ्गीतिक धुनहरूबाट भएको थियो ।

दोस्रो दिनको कार्यक्रमलाई ‘सिर्जना उत्सव’का रूपमा लिइएको थियो । मोमिलाको सभापतित्वमा आयोजित सिर्जना उत्सवमा प्रमुख अतिथिको रूपमा गणेश रसिक हुनुहुन्थ्यो भने काठमाडौँबाट गएका अतिथिहरू-राधेश्याम लेकाली, तुलसीहरि कोइराला, चंकी श्रेष्ठ, मणि लोहनी, छविरमण सिलवाल, अनन्त वाग्ले, केदार शर्मा, वाला राई, राजेश्वर कार्की, उषा शेरचन, मोमिलालगायतले कविता वाचन गर्नुभएको थियो । सिर्जना उत्सवमा कविता वाचन गर्ने स्थानीय स्रष्टाहरूमा विमल वैद्य, प्रेम ओझा, नेमष गुरुङ, देवेन्द्र सोक्तेन, धर्मेन्द्र नेम्वाङ, वसन्तकुमार बस्नेत, शान्ता गौतम, प्रकाश थाम्सुहाङ, साङ्वा एवाइ राई, संझना घिमिरे, नारायण थुलुङलगायत दुई दर्जनभन्दा बढी स्रष्टाहरू हुनुहुन्थ्यो । राष्ट्र र ध्येय शीर्षक केन्द्रित इलाम जिल्लाव्यापी कविता प्रतियोगितासमेत गरिएको त्यस कार्यक्रममा विजयी कविहरूलाई पुरस्कृत गरिएको थियो । पुरस्कृत हुनुहुनेमा सुनुमिङ्सो नेम्वाङ प्रथम, कल्पना कल्पु द्वितीय, गिरिराज बास्कोटा तृतीय र गीता रसाइली सान्त्वनामा पर्नुभएको थियो ।

दुई दिने कार्यक्रमको अर्को थप आकर्षण भनेको कार्यक्रमको उद्देश्यसहितको मूलमर्मलाई आत्मसात गर्दै जारी गरिएको सातबूँदे इलाम घोषणापत्र रहेको छ । घोषणापत्रले स्रष्टाका सिर्जनाका माध्यमबाट अभिव्यक्त हुने राष्ट्रियध्येयले बोलेका आवाजको सुनुवाई हुनुपर्ने कुरामा जोड दिएको छ । कवि भूपी शेरचनले भनेझैँ इलामको सन्देश नेपालभरि छरेर शान्ति र सद्भाव कायम गराउन पहल पुगेमा कार्यक्रमको सार्थकता पुष्टि हुने थियो । नेपाली कलासाहित्य डट कम प्रतिष्ठानले स्वदेशी सद्भावयात्रा मात्र नभएर विदेशमा पनि नेपाली स्रष्टायात्रा प्रारम्भ गरेको छ । प्रतिष्ठानको मूल ध्येय नै सिर्जनाका माध्यमबाट सद्भाव बाँड्नु भएकोले यसले निरन्तरता पाउनेमा विश्वास गर्न सकिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *