Skip to content


कृष्ण आचार्य/बारपाक(गोरखा)

घले तथा गुरुङ जातिको संस्कृति, रहनसहन र पहिचान बुझ्न एकपटक पुग्नैपर्ने ठाउँ हो, गोरखाको बारपाक जिल्लाकै प्रमुख पर्यटकीय गाउँको पहिचान कमाएको बारपाक गोरखा सदरमुकामदेखि एकदिनको पैदल दूरीमा पर्छ। सार्वजनिक सवारीसाधन प्रयोग गरेर जानेहरूका लागि छ देखि आठ घन्टा लाग्छ। निजी सवारी लिएर जानेहरू चारदेखि छ घन्टामै पुग्न सक्छन् बारपाक।

गोरखा सदरमुकाम वा काठमाडौँका सार्वजनिक सवारी साधनमा जानेहरूले बालुवा गाविसमा पुगेर सवारी फेर्नुपर्ने हुन्छ। कच्ची मोटरबाटो भएकाले टाटासुमो चढेपछि मात्र पुगिन्छ। बालुवामा राङराङु खोलाको स्वादिलो असला माछासमेत खान पाइन्छ। दरौदीे नदीको किनारैकिनार पुगिने बारपाक जाँदा प्रसिद्ध स्वतीलगायतका दर्जनौँ झरना र धेरै हिमशृंखला देख्न सकिन्छ।

१ हजार १ सय ५० घरधुरी भएको बारपाकमा घले जातिको बाहुल्य छ। स्थानीय लघु जलविद्युत्बाट विद्युत् निकालिएको हुनाले कहिल्यै बत्ती जाँदैन, बारपाकमा। नेपालकै सुन्दर गाउँहरूमध्ये अग्रस्थानमा रहेको बारपाकमा स्थानीयहरूले पर्यटकका लागि होम स्टेको समेत व्यवस्था गरेका छन्। पर्यटन वर्ष सुरु भएलगत्तै सुरु गरिएको होम स्टेले सयाँै देशी तथा विदेशी पर्यटकहरू भित्र्याइसकेको छ।

होम स्टे बसेबापत स्थानीयहरूले विद्यार्थीबाट तीन सय र अन्यबाट पाँच सय शुल्क लिन्छन्। शुल्क लिएबापत उनीहरूले स्थानीय परिकार खान दिने, मनोरञ्जन दिने र समूह बनाएर गाउँ घुमाउने गरेको महिला अगुवा दलकुमारी घले बताउँछिन्। उनका अनुसार, महिला समूह, युवा समूह र गाउँ समूहले समूह विभाजन गरी आएका पर्यटकका लागि काम गर्छन्। पर्यटकलाई बारपाक प्रवेशद्वारबाट झ्याइझ्याई बाजा बजाएर स्वागत गरिन्छ।

बाजागाजासँगसँगै गाउँ घुमाई स्थानीय परिकार गहुँको केक खान दिने, अन्तरक्रिया कार्यक्रम गर्नेसमेत गर्ने गरेका छन् महिला समूहका दिदीबहिनीले। एक घरमा चार पर्यटक मात्र राख्छन् बारपाकीहरूले। सबैजसो घरहरूमा भेडाको मासु, सिस्नुको तरकारी, ढिँडो, खान पाउँछन् बारपाक जाने आन्तरिक तथा बाह्य पर्यटकले। मदिराका पारखीहरूलाई चाख्नकै लागि मात्र स्थानीयस्तरमा बनाइएको आधा गिलास रक्सी दिइन्छ।

पर्यटकहरूको खानापछिको समय भने बारपाकका युवा समूहले लिन्छन्। सांस्कृतिक कार्यक्रम देखाउँछन् युवा समूहले पर्यटकलाई। उनीहरूले रातको १२ बजेसम्म झाँकी, मारुनी नाच, घाटु नाच, लाहुरे नाच, तोमो, झाँक्री, मकै विवाह, तुक्लुङ, ठाडो भाकालगायतका गीत तथा नाच देखाएर मनोरञ्जन दिन्छन्।

विद्युत्, सडक, इन्टरनेटलगायतका पूर्वाधार रहेको बारपाक सदरमुकामबाट १८ कोस टाढा छ। १ हजार ८ सय मिटर उचाइमै रहेको बारपाकमा पर्यटक लोभ्याउने ढुंगा, घरहरूमा संस्कृति झल्काउने आकृतिहरूसमेत प्रशस्तै छन्। दोस्रो विश्वयुद्धताका बर्मासँगको लडाइँमा वीरता कमाई भीसी पदक पाएका गजे घलेको गाउँ हो बारपाक।

नेपाल साप्ताहिक ४३१

Leave a Reply

Your email address will not be published. Required fields are marked *