‘…समेटी लग्यो मलाई राती तुसारे लहर
इन्द्रेणी बग्ने बादलभित्र जूनको सहर…।’
उज्यालोको रंग अनेकथरी
गोधूलि साँझमा उज्यालो छरी
मिर्मिराउँदो तिमी तारा जसरी
जसरी तिर्मिराउँछ विम्ब आँखाभरि
तर, हराउँदै क्यानभासको पानीसरी ।
तुसारे रातले माग्दा
तिम्रो आँखाको झरी
शीतको रंगमा पनि भिज्ने
तिम्रो रातको पछ्यौरी ।
स्नायुमा झन्कन्छ सारंगी रागको रती
मुटु पछ्याउँदै मेघको गति
अमूर्तताभित्र
आयाम बन्छन् कतिकति
कठ्यांग्रिंदै मेरो आँखाको झरी
मुटुभित्र डुब्दै जान्छ जति ।
रगतको तापले मुटुमा
पग्लदै तिम्रो छवि
ढुकढुकीको शब्द कोर्ने
अमूर्त कवि
चेतनाको उत्सर्गभित्र
तरंगित पल्लवी ।
नेपाल साप्ताहिक ४३१
