Skip to content


रात परिसकेको थिएन, बत्ती भने बलिसकेका थिए। “के छ हालखबर यार !” अलि हतारिँदै हिक्मत आइपुग्यो। विशाला केही पहिले आइपुगेकी थिइन्।

चल्तीको भाषामा, उनीहरू गर्लफ्रेन्ड-ब्यायफ्रेन्ड हुन्।

“सबै ठीक छ,” सामान्य लबजमा विशालाले भनिन्, “खासै केही छैन नयाँ।” हिक्मतले केही बोल्न नपाउँदै महत्त्वपूर्ण कुरा छुटाएको हडबड शैलीमा विशालाले फेरि भनिन्, “स्मृति प्रिग्नेन्ट भइछ।”

स्मृति विशालाकी साथी हुन्। स्मृतिको बिहे केही वर्षअगाडि भएको थियो।

हिक्मत अचम्ममा पर्‍यो। स्मृति ‘प्रिग्नेन्ट’ भएकाले ऊ अचम्ममा परेको थिएन। हालखबरको सञ्चार दोहोरो हुन नपाउँदै विशालाले त्यसरी आत्तिएर आफ्नी साथी प्रिग्नेन्ट भएको सुनाएकीले ऊ अचम्मित भएको थियो।

“ओ…कङ्ग्रयाच भनिदेऊ है !” हिक्मतले औपचारिकता बोल्यो। स्मृतिलाई उसले अप्रत्यक्ष रूपमा विशालाको साथीका रूपमा चिनेको थियो। स्मृति पनि हिक्मतलाई विशालाको साथीका रूपमा चिन्थिन्।

‘चिसो’ आइपुग्यो। विशालाले अघि नै अर्डर गरेकी रै’छिन्।

“अरू के ल्याऊँ सर?” वेटरले भन्यो। यतिखेर उनीहरू रेस्टुराँमा थिए, हर साँझ यसैगरी भेट्थे। भेट्न अनुकूल नमिलेको दिन उनीहरू मोबाइलमा लामै कुरा गर्थे।

विशाला प्राइभेट बैँकमा जागिरे थिइन्। उनको पद र आम्दानी राम्रै थियो।

वेटरको प्रश्न सरलाई थियो, मिस बोलिन्, चिकेन मःम ल्याऊ एक प्लेट…अहिलेलाई।” अहिलेलाई मःम मात्र मगाउनुको अर्थ थियो, आज लामै समय बस्ने मन रहेछ विशालाको। जबकि, हिक्मत एक घन्टाको समय मिलाएर आएको थियो। ऊ राष्ट्रिय स्तरको दैनिक पत्रिकामा आबद्ध थियो, राति बढी व्यस्त हुन्थ्यो।

वेटर गइसकेपछि विशालाले लाडिएको स्वरमा भनिन्, “मलाई पनि रहर लागिसक्यो।” हिक्मतले बल्ल बुझ्यो, विशालाको मुड। विशालाको दिमागमा स्मृतिको प्रिग्नेन्सी नाचिरहेको रहेछ।

नबुझेको झैँ गरी हिक्मतले भन्यो, “हिजै मात्र खाएको होइन चिकेन मःम, कति रहर लागेको !” हिक्मतलाई अभिनय गर्न त्यति आउन्नथ्यो। अनुहारमा जिस्किएको भाव प्रस्ट थियो, विशालाले बुझिहालिन्।

“के गर्नु, चिकेन मःम खाएर प्रिग्नेन्ट भइँदैन।” विशाला पनि जिस्किइन्। तर, हिक्मतलाई यस्तो सुन्दा बेमज्जा लाग्यो। थोरै रिस पनि उठ्यो उसलाई।

“जिउँदै भाले खाऊ न त…!” यस्तै भन्न खोजेको थियो हिक्मतले तर हिम्मत गरेन।

विशालाले जिस्किएर भनेको कुरालाई उसले पचाउने सामर्थ्य देखायो।

आफूले अलि बढी बोलेछु भन्ने भान विशालालाई भएछ। हिक्मतले अलिकति मन दुखाएको जस्तो बुझिन् उनले। उनी पनि कम होसियार त थिइनन्। ३२ लक्षण त कसमा पो हुन्छ र !

उठेर हिक्मतसँगै आएर टाँसिएर बसिन्। अघिसम्म उनीहरू आमनेसामने बसिरहेका थिए।

विशाला नजिक आएर बस्नासाथ हिक्मतको मुड फ्रेस भयो। नारीको एक स्पर्शले पुरुषहरूमा धेरै ठूलो असर गर्दो रहेछ। जब विशाला हिक्मतको काँधमा ढल्किइन्, उसले एकछिनका लागि संसार नै भुल्यो।

“सरी राजा !” विशालाले स्पष्टीकरण दिइन्, “ठट्टा मात्रै गरेकी।”

“इट्स ओके मैया !”

विशाला ‘राजा’मा आउँदा, हिक्मत ‘मैया’मा उक्लियो।

राजा भुल्यो, अफिसमा गई पत्रिकाको सेटिङ्मा लाग्नुछ। मैयाले सम्झाइन्, “काममा जानुपर्दैन त !”

मैयाको ज्ञानीपन देखेर राजा खुसी भए। तुरुन्तै मोबाइल झिके, “मलाई अबेला हुन्छ है, तिमी गर्दै गर।” मन खाएकी साथी पाए केटाहरू जे पनि गर्छन्, संसार भुल्छन् भन्ने कुराको प्रमाण बनिदिए राजा। उनले अफिसको साथीलाई फोन गरेका थिए।

त्यो साथीलाई थाहा थियो हिक्मतको ‘चक्कर’। परेको म बेहोरुँला भनी उसले आश्वस्त पारेछ।

मःम सकियो।

“कोठामा गएर अब के खाना पकाउनू…!” विशालाले मात्र सुन्ने गरी हिक्मतले यति मात्र भनेको थियो, विशाला खुसी भइन्, कुरा बुझिन्।

त्यसपछि बर्गर आइपुग्यो। बर्गरपछि अरू पनि थुप्रै परिकारहरू आए। खानेकुराजस्तै उनीहरूका गफहरू पनि मीठा भए।

दुवै छुट्टिए। राजा पत्रिकाको अफिसतिर गए। मैया डेरातिर गइन्।

राति विशाला ९ बजेतिरै बेडमा गइन्। उनलाई निन्द्रा भने लागिरहेको थिएन।

तकिया थिचेर घोप्टो पल्टिरहेकी थिइन्, स्मृतिको प्रिग्नेन्सी याद गर्दै।

“बिहे, बच्चा, सबै वाहियात हुन्,” कुनै बेला उनी आफैँ भन्थिन्। एकचोटि स्मृतिसँगै यही विषयमा विवादसमेत भएको थियो। आज भने उनी बेचैन थिइन्, स्मृतिभन्दा आफूलाई कमजोर महसुस गर्दै थिइन्।

उनको सुत्ने पोजिसन फेरियो। तकियालाई छातीमा राखिन्। विचरा तकिया !

तकियालाई हिक्मत बनाइन् र गफ गर्न थालिन्।

“मलाई त छिट्टै चाहिन्छ है !”

हिक्मतको डायलग पनि उनी आफैँ बोल्दै थिइन्।

“नौ महिनाभन्दा छिटो त कसरी गर्नू र !”

“पृथ्वीनारायण शाह त सातै महिनामा जन्मेका रे नि त !” उनको जिके राम्रै थियो।

“नरभूपाल शाहका श्रीमती त दुईवटा थिए नि !”

दुइटी श्रीमतीको कुरा सुन्नेबित्तिकै विशाला रिसइन्। तकियालाई हिक्मत ठानी दुई-चार मुक्का बर्साइहालिन्, बच्चीले आफ्नो बाबालाई कुटेजस्तो गरी।

राति ११ बजेतिर विशालाले एसएमएस गरिन्, “निन्द्रै लागिरा’छैन डियर…।”

हिक्मतले जवाफ दियो, “सुतिहाल, बिहान छिट्टै उठ्नुछ तिमीले।”

“किन?”

पत्रिका पढ्न जोड दिएर हिक्मत बोल्यो, “मैले दामी कथा लेखेको छु, खास तिम्रै लागि।”

“आफूलाई निन्द्रा लागिरा’छैन, पत्रिका पढ्नुछ, छिट्टै सुत रे !” मैया भित्रभित्रै चूर भइन्, “भोलि त झन् पढि्दन पत्रिका।” कोल्टे फेर्दै एक्लै मुरमुरिँदै थिइन्, “सुत्ने बेला यसो किससिस पनि दिनु छैन…, लेडिज स्टाफसँग गफ मार्दै होला आफू।”

हिक्मत भर्खरै पत्रिकामा आबद्ध भएको थियो। उनले छोटो समयमा आफ्नो फरक लेखनको माध्यमबाट राम्रै नाम बनाएको थियो।

हिक्मत काम गर्ने पत्रिकाको शनिबारको अंक विशेष हुन्थ्यो। जसमा पत्रिकाको नियमित खुराकका अलावा कलासाहित्य र मनोरञ्जनका छुट्टै विशेषांकहरू समाविष्ट हुन्थे।

साहित्यमा हिक्मत अक्सर कथा लेख्थ्यो। कथाको पहिलो रेस्पोन्स सधैँ उसकी मैयाले दिने गर्थिन्। यथार्थमा, हिक्मतका हरेक सिर्जनाहरू पत्रिकामा आउनुअघि नै विशाला पढ्ने गर्थिन्।

“तिमी मेरो पहिलो पाठक,” हिक्मत सधैँ विशालालाई भन्थ्यो। विशाला पनि मख्ख पर्थिन् र पाठकको दायित्वबोध गर्थिन्। कतिपल्ट त हिक्मत आफ्नै मैयालाई कथामा जोड्ने पनि गर्थ्यो।

आजको कथाबारे भने विशालालाई जानकारी थिएन।

विशालालाई बिहान पत्रिका लिन जान हतार थियो। किनभने, यो पहिलो सिर्जना होला हिक्मतको, जसलाई उनले पत्रिकामा आउनुपूर्व पढेकी थिइनन्। उनी ज्यादा उत्सुक थिइन्।

सबेरै पसलबाट ब्रेड, अन्डा, दूधसँगै उनले पत्रिका ल्याइन्।

‘आमा बन्ने रहर’ शीर्षकमा कथा छापिएको थियो। हुनेवाला जीवनसाथीले कथाको रूप दिएर पत्रिकामा आफ्नै सन्दर्भ छापेकामा उनी साह्रै खुसी भइन्।

तुरुन्त हिक्मतलाई फोन गरिन्। हिक्मत सुतिरहेको थियो। बिहान उठेर एकैचोटि भात खान्छ ऊ।

“अनि, किन नाम चेन्ज गरेको त?” विशालाले गुनासो गरिन्।

विशालासँग ९९ खुसी थियो, एक गुनासो। तर, उनले सुरुवात खुसीबाट नगरी गुनासोबाट गरिन्। सम्भवतः यो नारी चरत्रि थियो।

कथामा हिक्मतले आफूलाई हार्दिक र विशालालाई शृंखला नामले चिनाएको थियो। यसमा विशाला असन्तुष्ट थिइन्।

“कि कोही छ, शृंखला भन्ने अर्कै केटी !” विशालाको यस्तो ठट्टा सुन्दा हिक्मतलाई बेमज्जा लाग्यो।

दुवैलाई थाहा थियो, पवित्रतामा उनीहरूबीच प्रतिस्पर्धा थियो।

हिक्मतलाई निन्द्रा परेन। समयभन्दा अगाडि नै ऊ उठ्यो।

हिक्मत नुहाउँदै थियो। गुन्गुनाउँदै थियो, ‘रहने दो छोडो भी जाने दो यार, हम ना करेंगे प्यार !’

विशालामाथि बेलाबेला भूत सवार हुने गर्थ्यो। जे पायो त्यही बोल्थिन्। पहिले शंका गर्थिन्, पछि ठट्टा हो भन्थिन् र माफी माग्थिन्।

नुहाउँदै गर्दा हिक्मतको मुड त्यति फ्रेस हुन सकेको थिएन। “कि कोही छ, शृंखला भन्ने अर्कै केटी !” यही सम्भिरहेको थियो ऊ।

एकछिनमा एसएमएस आयो, “थ्यांकयू राजा ! मैले कथा चारपटक पढेँ, जति पढ्यो, पढूँ-पढूँ लाग्छ।”

हिम्मत जहाँ गए पनि मोबाइल साथमै राख्छ। उसलाई गाली खानु छैन, मैयाबाट ! कतिपल्ट त, ट्वाइलेटमा बसेको बेलामा समेत कुरा हुने गरेको छ उनीहरूबीच।

हिक्मतले पत्रिकामा लेखेको कथा उनीहरूको वास्तविकताभन्दा दुई कदम अगाडि थियो। कथामा शृंखलाको आमा बन्ने रहर पूरा भइसकेको हुन्छ।

“बधाई छ हार्दिकजी, तपाईं बाबु बन्नुभएको छ,” नर्सको यही संवादसँगै कथा सकिएको हुन्छ।

हिक्मतले एसएमएसका अक्षरहरूभित्रै विशालाको अनुहार देख्यो।

विशाला भन्दै थिइन्, “अनि छोरा भयो कि छोरी, त्योचाहिँ खुलाउनु पर्दैन कथामा।”

हिक्मतलाई थोरै रिस उठ्यो, आजीत भएझैँ गरी भन्यो, “होइन मैया, जुम्ल्याहा भएका छन्, एउटा छोरा, एउटा छोरी ! अब भयो।”

“यू आर माई स्वीट डियर !”

विशाला मोबाइलबाट बाहिर निस्किएर हिक्मतको भिजेको गालामा किस गरिन्।

उसले पनि मोबाइलभित्रकी मैयालाई किस गर्‍यो।

आफ्नो पागलपनदेखि हिक्मत मुस्कुरायो ।

उसलाई लाग्यो, संसार धेरै सुन्दर छ ।

नेपाल साप्ताहिक ४३४

Leave a Reply

Your email address will not be published. Required fields are marked *