Skip to content


माइला दाइ
के फरक छ
साथी र मीत्रमा
थाहा छ तिमीलाई ?
के थाहा पाउनु
तिमी सोझो गाउँले
गाउँले भएर नै तिमी माइला दाइ
भएका छौ
नत्र माइकल ब्रो हुन्थेउ होला नि
होइन र ?
सुनेको थिएँ–
साथीको साथ केही क्षणको,
मीत्रको साथ युगौयुगको,
जीवनभरिको
तर
होइन रहेछ
माइला दाइ
यो झूठो रहेछ
फगत झूठो
यो कुरो थाहा थियो त तिमीलाई ?
के थाहा
तिमी सोझो गाउँले
गाउँले भएर नै तिमी माइला दाइ
भएका छौ
नत्र माइकल ब्रो हुन्थेउ होला नि
होइन र ?
सम्झन्छौ होला
आकाश एउटै, धर्ती एउटै
पानी एउटै, माटो एउटै
मैले भनेको बिश्वास लाग्दैन होला
तिमीलाई
तर
होइन रहेछ
माइला दाइ
होइन रहेछ
तिमी यो कुरामा त बिश्वास गर्छौ हौला नि
गाउँ र शहरको,
शहरको भब्य महल र गाउँको झुप्रो,
कुनै कविको काल्पनिक कविताजस्तै,
आकाशको तारा हेरेर
रमाउने प्रेमि–प्रेमिका वा
भित्तामा सजाइराखेको रोमान्टिक तस्वीर जस्तो
हुन्न रहेछ वास्तविक जीवन,
एकदिन
पल्लाघरे ठुल्दाइले
भनेका थिए
मायाप्रेमको कुरा गर्दा
हेर भाइ
शहरको भब्य महल र गाउँको झुप्रोमा
जस्तो फरक छ
त्यस्तै फरक छ मायामा पनि
होइन जस्तो लागेको थियो
तर
हो रहेछ
माइला दाइ
हो रहेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *