ए तँ त नयाँ वर्ष तँ फेरि आइस्
न त गरिबको पेट भराइस्, न त महँगी घटाइस्
खालि डर, त्रास र भय मात्र ल्याइस्
ल भन् त नयाँ वर्ष तँ फेरि किन आइस् ?
सोझा जनतालाई के ल्याइस् ?
आश्वासनका पोका समय-समयका धोका
यस्तै-यस्तै गराइस्
थुइक्क नयाँ वर्ष तँ फेरि किन आइस् ?
कसैलाई सुखसुविधा छैन, दु:खै मात्र ल्याउने गर्छस्
हरेक प्राणीको उमेर करप-करप चपाइस्
भन् त नयाँ वर्ष तँ फेरि किन आइस् ?
विपन्नलाई झनै विपन्न बनाइस्
धेरैले नचाहँदा नचाहँदै पनि
लुमुक-लुमुक
भन् त नयाँ वर्ष तँ फेरि किन आइस् ?
वर्षभरिमा सधैँ लोडसेडिङ् गराइस्
उज्याला दिनहरू धपाइस्
सधैँसधैँ मानिसहरूलाई
दु:ख मात्र दिन तँ फेरि किन आइस् ?
न त तैँले नयाँ संविधान ल्याइस्
न त हामी नेपालीको आकांक्षा पूरा गराइस्
६ सय १ को खेलमा सधैँ झेलैझेल भएको हेर्न
तँ फेरि किन आइस् ?
ल भन् त नयाँ वर्ष तँ फेरि किन आइस् ?
नेपाल साप्ताहिक ४४१
