एउटा भयानक तूफान भर्खरै सकियो । सहरको भि.आई.पी आवास क्षेत्रको यो भव्य महलमा यस्तो तुफान प्रत्येक रात आउँछ र जान्छ । त्यसो त दिनको उज्यालोमा चाहिँ आउँदैन भन्ने पनि होइन ।
तीन रोपनी क्षेत्रफलमा फैलिएको यो आलिशान महलको दोस्रो तलामा छु म । एक रोपनी जमिनमा त घरै छ । बाँकी जमिनमा आकर्षक बगैँचा छ, देशी/विदेशी विभिन्न जातका ठूलाठूला वृक्षहरू छन् । बीचमा सानो तर आकर्षक नीलो स्विमिङ पुल छ । एघार फिट अग्लो पर्खालले घेरिएको यो महल हत्तपत्त बाहिरबाट देखिँदैन । गेटपालेहरूको ढिलासुस्तीले कहिलेकाहीँ देखिइहाल्यो भने पनि यो भव्य महलमा प्रत्येक पल तूफान मडारिन्छ जस्तो लाग्दैन ।
यस महलको दोस्रो तल्लामा छु म । निकै ठूलो कोठा छ । खानदानी वा सम्पन्न घरमा छु भन्न सुहाउने हरेक चीज छन् यहाँ । आयातीत आकर्षक जर्मनी बेडको विशाल काखको सानो छेउमा लडिरहेकी छु । बेडको आधाभन्दा बढी क्षेत्रफल लिएर अर्को मान्छे पल्टिएको छ । मलाई सिकाइएको भाषामा ‘उहाँ सुकला होइस्या छ’ । अब उठ्नु छ मैले चाहिँ । बिस्तारै आधा उठेर त्यतैपट्टि हेरें । निकै गर्जमानका साथ सुकला होइस्या’छ उहाँ । जङ्गलमा सिंह गर्जेझँै हरेक रात यसरी नै गर्जन्छ ऊ । मानौँ, गर्जनु उसको अधिकार हो र थर्कमान हुनु मेरो धर्म ।
धेरैबेर उसतिर हेर्ने मन छैन, त्यसैले अर्कोपट्टि फकेर्ं । डे्रसिङ टेबुलको ठूलो ऐनामा आँखा पर्यो । फुङ्ग उडेको र लेघ्रालेघ्री भएको अनुहार, पाकेको टमाटरझैँ राता सुन्निएका आँखा र ‘सेल’ लागेको पसलका कपडाझैँ लथालिङ्ग कपाल ऐनामा प्रस्ट देखियो । जताततै दुखेको शिथिल शरीर र मनभरिको ग्लानि केवल महसुस गर्न सकेँ । यो सब त्यही तूफानको उपज हो, जुन हरेक रात आउँछ । आज पनि आएको थियो र सधैँझैँ मलाई उजाडेर गयो ।
मैले जसरी पनि उठ्नु छ । सकी-नसकी उठेँ । साइड टेबुलमा समातेर तामाको आम्खोराबाट सकेजति पानी पिएँ । आम्खोरा टेबुलमा राखेर अन्तिम घुट्को निल्दा थाकेजस्तो लामो निश्वास निस्क्यो । त्यसपछि भने एउटा गहिरो आनन्द आयो र अलिकति बल पनि ।
अब पूरै उठेँ म । खुम्चिएका, च्यापिएका शरीरका लुगा आफैँ तल तानिए । कोठासँगैको एट्याच बाथरुममा पस्ने एउटा खुट्किलो चढ्न पनि गाह्रो भयो । दुईपट्टि भित्ता समाई बिस्तारै भित्र पसेँ । अमेरिकन ब्रान्डको ठूलो बेसिनमा आँखा, अनुहार पखालेपछि झ्यालमा गएर सुस्तरी पर्दा तानेँ । एक झोक्का चिसो हावा मेरो अनुहारमा ठोक्किएर फर्कियो । आँखा चिम्म गरेँ तर भत्भती पोल्न थाल्यो । आँखा उघारेरै बाहिर हेर्दा सारा संसार निदाएको थियो । टिलटिल टल्किएका बत्ती र कुकुरको भुकाइले भने सहर जिउँदै छ भन्ने आभास दिइरहेथ्यो ।
टेबलको एउटा क्लिप तानेर कपाल समेटेर बाँधेँ । कोठाको दक्षिणपट्टि बेडकै सेट मिलेको उस्तै ठूलो दराजबाट एक जोर कुर्था निकालेँ । कुर्थासँगै मेरो फोटो एल्बम पनि झर्यो । एल्बममा आँखा पर्यो । किनकिन आज मलाई आफ्ना पुराना दिनहरू हेर्ने रहर पलाएर आयो । पूर्वपट्टकिो मेचमा बसेर एल्बम पल्टाएँ । सानो छँदाका अबोध तर सुन्दर तस्बिरहरू थिए । कुनै भावहीन मुद्रामा थिए, कुनै जीवन्तझैँ लाग्थे ।
यी मेरा स्कुल जीवनका तस्बिरहरू । स्कुलमा म सधैँ पाँचौँभित्रै पर्थेँ । एसएलसी फस्र्ट डिभिजनमा पास गरेपछि अनुहारभरि अबिर पोतिएको उल्लासमय फोटो थियो यो । फोटोमा निर्दोष र खुसी केटीलाई देखेपछि त्यसै मुस्कान चुहियो ओठबाट । अर्को फोटोमा नितु, सम्झना, कमल, तुलसी र म थियौँ, उस्तै प्रफुल्लित । कहाँ पुगे कुन्नि अहिले तिनीहरू ?
हातले एल्बमका पाना पल्टाउँदै थिएँ तर मन भने एकएक पानामा आफ्नै जीवन पल्टाइरहेथ्यो । एउटा खुसी जीवन, एउटा सुरुचिपूर्ण ‘मान्छेको’ जीवन ! यो कलेजको वेलकम प्रोग्रामको फोटो थियो । मैले कविता वाचन गर्दै गर्दा खिचिएको फोटो । नेपाली पढाउने सर भन्नुहुन्थ्यो- ‘तिमी एक दिन ठूली साहित्यकार बन्नेछ्यौ ।’ खै ! बन्थेँ पनि होला कि ? तर सबै त्यही तूफानले चुँडिदियो । केही छैन मसँग । न गीत, न कविता, न त मेरो आफ्नो जिन्दगी नै ।
एल्बम पल्टाउँदै गएँ । विगतमा धकेलिँदै गएँ । घरिघरि त्यस तस्बिरकी केटीको रहरलाग्दो जिन्दगी देखेर ईर्ष्या लाग्थ्यो । कस्ती राम्री थिई ऊ तर आज ती सबै सुन्दरतामा बादल लागेको छ । आँखाहरू भासिएका छन्, ओठ कलेटी परेका र नीला भएका छन् । कति उत्साहित थिई ऊ आफ्नो जीवनप्रति तर आज सबै उत्साह मरेका छन् । कुन्नि किन बाँचिरहेकी छु म ? एल्बमका पानासँगै जीवन अगाडि बढ्दै गयो ।
कलेज जीवनको अन्त्यतिरको तस्बिर हो यो । हाम्रो रिसर्च गु्रपको फोटो । स्नातकोत्तर दोस्रो वर्षको रिसर्च गर्ने बेलामा भेटेकी थिएँ मैले उसलाई नेपाली हस्तकला उद्योगको उद्योगपति श्यामदेवको अफिसमा । आफ्नो रिसर्चमा नेपाली हस्तकला उद्योगलाई छानेका थियौँ हामीले । त्यसैबेला श्यामदेवलाई भेट्ने क्रममा ऊ भेटिएको थियो । पछि थाहा भएको थियो ऊ श्यामदेवको छोरो हो । हस्तकला उद्योग उनीहरूको पुर्ख्यौली पेसा थियो जुन अहिले निकै आधुनिक र सफल पनि भइसकेको छ । त्यसैको पछिल्लो पुस्ताको सञ्चालक थियो ऊ । ऊ अर्थात् मलाई अहिले दिइएको नातामा श्रीमान् ।
उसलाई म राम्री लागेँ । उसले मलाई फोन गर्यो र गरिरह्यो । मित्रता बढ्यो, भेटघाट बढ्यो । म निडर थिएँ, स्वाभिमानी थिएँ । उसलाई त्यो पनि राम्रो लाग्यो र प्रस्ताव राख्यो, बिहे गरौँ । मलाइ पनि ऊ राम्रो लाग्यो । उसले ‘म धेरै झूठ बोल्छु’ भन्यो । मैले सोचेँ ‘म झूठ बोल्छु’ भन्नु नै साँचो बोल्नु हो । उसले भन्यो, ‘म धेरै बिगि्रएको छु ।’ मलाई लाग्यो, बिगि्रएको महसुस हुनु नै असल बाटोमा लाग्ने पहिलो पाइलो हो ।
परिवारमा प्रस्ताव राखियो, दुवैतिरबाट नाइनास्तीको कुरै थिएन र हाम्रो मगनी भयो । मलाई ‘कस्ती भाग्यमानी रहिछे’ भन्नेको कमी रहेन । मेरो हुनेवाला पति सुन्दर थियो, रसिक थियो र अझ सबैभन्दा ठूलो कुरा त ऊ सम्पन्न थियो । म खुसी थिएँ ।
त्यसको दोस्रो दिन उसले मलाई लन्चमा भेट्ने प्रस्ताव गर्यो । म पनि चाहन्थेँ उसलाई भेट्न । हामी दरबारमार्गको राम्रो रेस्टुरेन्टमा भेट्यौँ । खाना अर्डर गरेपछि उसले मेरो हात समाउँदै भन्यो, ”हामी नयाँ जीवनको सुरुआत गर्दैछौँ । त्यसैले हामी एक-अर्कासँग पूर्ण परिचित हुनु जरुरी छ । हामी आजको जमानाका मान्छे हौँ । के तिमी पहिले कुनै केटालाई मन पराउँथ्यौ ? भए पनि त्यसले मलाई कुनै असर गर्दैन किनकि म वर्तमानमा बाँच्ने मान्छे हुँ ।”
म अलमलमा परेँ । हो मन त पराउँथेँ । सुरुका दिनमा कलेज पढ्ने बेला म एउटा केटालाई मन पराउथेँ तर त्यो प्रेम झाँगिन नपाउँदै सकिएको थियो । अहिले त्यस केटाको धमिलो चित्र मेरो दिमागमा चढाउन खोज्दा पनि म सकिरहेकी छैन । पछि त्यससँग कहिल्यै भेट भएन ।
“के सोचेकी ?” उसले भन्यो अनि हाँस्दै बोल्न थाल्यो- “मेरा त स्कुल पढ्दादेखि नै गर्लफ्रेन्डहरू थिए र त्यो क्रम कलेजसम्म पनि चलिरह्यो तर त्यो प्रेम थिएन आकर्षण थियो, क्षणिक आकर्षण, जुन त्यति नै छिटो सकियो पनि ।”
मलाई लाग्यो, विश्वास र समझदारी बढाउनका लागि मैले पनि सबै कुरा भन्नुपर्छ र मैले भनिदिएँ र यो पनि भनेँ कि प्रसङ्गवश भनेको मात्रै हो तर अहिले त्यसको कुनै असर ममा बाँकी छैन । मलाई लाग्छ, त्यो मेरो असाध्यै केटाकेटीपन थियो ।
‘अफिसमा काम छ, छिटो जाँऊ’ भन्दै उसले लन्च छोटट्यायो । मलाई डर पनि लाग्यो तर उसको कुराले आश्वस्त पनि बनायो कि ऊ वर्तमानमा बाँच्ने मान्छे हो । साँझ उसले फोन गर्यो र तिम्रो ब्वाइफ्रेन्डको नाम भन भन्न थाल्यो । जुन कुरा मैले नै बिर्सिसकेँ त्यही कुरा ऊ किन जान्न चाहिरहेछ, मैले बुझ्न सकिनँ । भोलिपल्ट बिहान जसरी पनि भेट्ने भनेपछि मैले हुन्छ भनेर फोन राखिदिएँ ।
हिजो बेलुकाको सल्लाहअनुसार भोलिपल्ट मेरो घरबाहिर ऊ मलाई लिन आयो । म तयार भएर निस्किएँ र उसको गाडीमा बसेँ । ऊ एकदम मौन थियो । आफ्नो माज्दा गाडीको स्पिड सकेसम्म बढाइरह्यो र हान्नियो दक्षिणतिर । कहाँ जाने भनेर मैले धेरैपल्ट सोधेँ तर ऊ चुपचाप गाडी चलाइ नै रह्यो । उसको व्यवहारले मेरो मन ज्यादै अत्तालिएको थियो । मैले त्यो कुरा उसलाई भन्नु नहुने रहेछ । त्यसैले ऊ रिसाइरहेको छ । फेरि अर्को मनले भन्यो, उसले पनि त मलाई सबै कुरा सुनायो । म त रिसाएकी छैन नि । उसका कुरा सुनिसकेपछि पनि मैले उसलाई अवमूल्यन गरेकी छैन, खराब ठानेकी छैन । उसको सच्चाइका कारण मेरो आदरभाव झन् बढेको छ । मलाई लाग्यो ऊ मेरो कारणले हैन, अरू नै कुनै कारणले तनावमा छ र आफ्नी भावी जीवनसङ्गीसँग सेयर गर्न चाहन्छ । यस्तो सोचले मनलाई निकै शान्त र हलुको बनायो ।
चोभार डाँडोको खुला चौरमा उसले गाडी रोक्दा बिहानको ८ बजेको हुँदो हो । ऊ ओर्लियो । म पनि खुरुखुरु ओर्लिएर उसको पछि लागेँ । चौरको छेउतिर उभियौँ हामी । प्रभातकालीन बाला घाममा उपत्यका निकै सुन्दर देखिएको थियो । तल खोलामा सानो पानी विनाआवाज बगिरहेथ्यो । गिट्टी र वालुवाका थुप्राबाहेक चोभार डाँडो प्रायः शून्य थियो । घरिघरि मोटरहरू आ-आफ्नो आवाज निकाल्दै आउँथे र गई पनि हाल्थे । चोभारको उचाइमा पाइने बिहानी हावाले मनलाई उल्लासित गरेको थियो तर कताकति मनको कुनामा भने उसको समस्या के होला भन्ने चिन्ताले पनि घर गरेको थियो । ऊ चौरको डिलनेर पुगेर रोकियो र मतिर फर्कियो । उसको अनुहार डर लाग्दो देखिन्थ्यो । बलियोसँग मेरो पाखुरा समातेर ऊ गर्जियो, ‘तिम्रो ब्वाइफ्रेन्डको नाम के हो ? कहाँ बस्छ र अहिले ऊ के गर्दैछ ?
उसको भयानक रूपले म एकदमै डराएँ । म छाँगाबाट खसेजस्ती भएँ । के भन्ने के नभन्ने ? मैले पत्तै पाउन सकिनँ । एक हप्तापछि ऊ मेरो पति बन्दैछ । आज यो के व्यवहार हो ? जुन कुरो कुनै विषय नै होइन, त्यसलाई ऊ किन यत्रो विषय बनाइरहेको छ ? म अकमकिएको देखेर होला, उसले मेरो पाखुरामा समातेर लछार्दै हपार्यो, “तँ त्यस केटोसँग प्रेम गर्थिस् ?”
उसका रिसाहा आँखा देखेपछि म पनि आवेशमा आएँ र उस्तै आवाजमा जवाफ दिएँ, “हो, गर्थें ।”
उसले मेरो गालामा एक थप्पड हान्यो । हो, आजसम्म नछाडेको यो तूफानको सुरुआत त्यही थप्पडबाट भएको थियो जतिबेला मेरो बिहे नै भएको थिएन । मैले सहन सकिनँ, भनिदिएँ “तपाईंका पनि त गर्लफ्रेन्ड थिए के म पनि तपाईंलाई यसैगरी हिर्काऊँ ?”
“गर्लफ्रेन्ड होइन चार सय वटीसँग सुतेको छु म । के गर्छेस् तैँले ?” ऊ निश्चिन्त थियो, म उसलाई केही गर्न सक्दिनँँ ।
मेरो खुट्टामुनिको जमिन तलतल भासिँदै थियो ।
उसले बलपूर्वक मेरो चिउँडो निचोरेर भन्यो, “मलाई हिर्काउँछेस् ? ल छोएर हेर् त ! तँजस्ता रण्डी धेरै देखेको छु । ब्वाइफ्रेन्ड बनाउँदै हिँड्ने ? तँजस्तालाई दुई/पाँच सयमा धेरै किनेको छु ।”
किन्यो होला तर म रण्डी होइन, मलाई किनेको होइन उसले । मेरो अन्तरात्माले चिच्याइरह्यो र आत्मसम्मान माथिको प्रहारबाट रन्थनिएकी मैले उसको मुखमा थुकिदिएँ । ऊ काबुविहीन भयो अब । पुरुषत्त्वमाथिको प्रतिकार सहन उसले कहाँ सिकेको थियो र ! मैले कति थप्पड खाएँ, कति निमोठिएँ अन्दाज लगाउन पनि सकिनँ । जतिञ्जेल सकेँ, उसले हिर्काएको बदलामा छोएर भए पनि प्रतिकारको आभास गरिरहेँ । जब उसले मेरो प्रतिकारको भाव बुझ्यो, त्यसपछि उसमा झन् भूत सवार हुनथाल्यो । पुरुष हुनुको व्यर्थ घमण्डले उसलाई पशु बनाउँदै लग्यो । विना गल्ती म कुटिइरहेँ ।
मेरो जिन्दगीमा मैले खाएको पहिलो र भयानक कुटाइ थियो यो । मेरो भविष्य सम्झेर कहालिँदै थिएँ म । उसको कुटाइबाट बेहोसजस्ती भएकी थिएँ । त्यसपछि मेरो हात तान्दै उसले मलाई गाडीमा हाल्यो । म प्रतिकार गर्न नसक्ने भइसकेकी थिएँ । उसको स्वरूप बुझिसकेकी थिएँ र ऊ कुन हदसम्म गिर्न सक्छ अब पर्खिरहेकी थिएँ । उसले मलाई जबरजस्ती गरिसकेपछि भन्यो “रहरले होइन, तेरो घमण्ड चूर गर्नलाई गरेको तर चिन्ता नगर्, म तँलाई विवाह गर्छु, तेरो निम्ति होइन, आफ्नो परिवारको निम्ति । मेरो इज्जतभन्दा ठूलो मेरा लागि अरू केही छैन ।”
एक हप्तापछि भएको भए सुहागरात हुन्थ्यो होला तर एकाबिहानै उसले मेरो बलात्कार गर्यो । म आफ्नो विवाहको एक हप्ताअगाडि आफ्नै हुनेवाला पतिबाट लुटिएँ ।
हातको एल्बम भुईंमा झर्यो, एक नजर त्यस पुरुषमाथि पुग्यो त्यहाँ आँखाले अडिनै मानेनन् । मनले त उसलाई घृणा मात्रै गर्छ । फेरि अतीतमा पुगेँ ।
त्यस दिन घर पुग्दा विवाहको भव्य तयारी भइरहेको थियो । सबै नातेदारकहाँ निम्ता पुगिसकेको थियो । घरभरि मान्छे भरिभराउ थिए, सबै खुसी, सबै रमाएका मैले कसैलाई केही भन्न सकिनँ । मैले विवाह गर्दिनँ भन्न पनि सकिनँ । आखिर म हुर्केको समाज यही हो । यहाँका मान्छे, यिनका मान्यता र परिवेश सबै सोचेँ । मैले विवाह नगर्दा मेरो परिवारले भोग्नुपर्ने बेइज्जती, लाज र म आफैँले भोग्नुपर्ने अपमानित जिन्दगीदेखि तर्सिएँ । अनि चुपचाप विवाह गरी यो घरमा आएँ ।
शरीर चलाउन खोज्दा उसैगरी दुखिरहेथ्यो तर मैले उठ्नु छ, त्यसैबेला उठ्नुपर्ने, निकै ढिला भइसक्यो । बलजफ्ती उठेँ । पुनः झ्यालमा गएर उभिँदा रात निकै नै ढल्केजस्तो लाग्यो । भित्ताको ठूलो घडीले २ बजाएको रहेछ ।
बाहिर बगैँचा सुनसान थियो । चराचुरुङ्गीको आवाजसमेत थिएन । मैले पुरानै घाउलाई कोट्याइरहेँ । विवाहपछिको हरेक समय कठोरमय बिती रहे । उसले खराब लत छुटाउन चाहेन, मैले त्यसलाई स्वीकार गर्न सकिनँ । अन्तर्द्वन्द्व चल्ने नै भयो । न त उसको संस्कारले गल्ती स्वीकार्न सिकायो, न मेरो संस्कारले आफूमाथिको अत्याचारको विरोध गर्न सिकायो । मेरो पढाइ, शिक्षा मेरा लागि मूल्यहीन भए । उसले आफूलाई माथि ठान्यो र मनपरी गरिरह्यो, मेरो कहीँ अस्तित्व थिएन, मैले खालि सहिरहेँ ।
डिस्को, डान्स, लेटनाइट पार्टी उसका सभ्यताका प्रतीक हुन् । सयौँ महिलासँग सम्बन्ध राख्यो, अहँ व्यभिचारी भएन । आधा रात बितेपछि घर फर्कनु र मन नअघाउन्जेल लुछिरहनु उसको नियमितता । प्रतिकार गरेर उसलाई जित्ने हैसियत मलाई प्रकृतिले नै दिएको छैन, कसरी गरुँ ? घरको कामका लागि नोकर-चाकर प्रशस्त छन् । बाहिर काम गर्न मलाई प्रतिबन्ध थियो । गेटबाहिर निस्कनु परे मैले उसको आज्ञा लिनु पर्थ्यो । मैले त्यसैत्यसै गरिरहेँ, जसो-जसो ऊ चाहन्थ्यो । म पढेलेखेकी मान्छे, आफ्नो खुट्टामा उभिन चाहन्थेँ । एउटा जिउँदो सार्थक जीवन बाँच्न चाहन्थेँ । त्यसको प्रतिफलमा मैले गृहबन्दीको जीवन पाएँ । मास्टर डिग्री पढेकी कुलीन घरकी छोरी, सभ्य घरानाकी बुहारी र एउटा आधुनिक श्रीमान्की श्रीमती रातदिन कुटिइरहेँ । आँसु बगाइरहेँ र एउटा तूफानमा लछारिइरहेँ । अहँ, कसैले देखेन, कसैले बुझेन । कसैले बुझेन पनि के भन्नु जसले बुझ्नु पर्ने हो उसले कहिल्यै बुझ्नै चाहेन । बाँकी कसैलाई सुनाएर केही हुनेवाला पनि थिएन । बुबाआमालाई यो सुनाएर म दुःख थप्न चाहन्नथेँ । उहाँहरूले गर्न सक्ने यसमा केही थिएन ।
बाहिर उज्यालो अलि बढेजस्तो भयो । केही हुँकारका साथमा ऊ मस्तसँग गर्जिरहेछ । उसको अनुहार हेरेँ अहँ ऊ यति क्रूर छ भन्ने कहीँ देखिँदैन । निदाएको बेलामा राक्षस पनि कति निर्दोष देखिँदोरहेछ । अघि भर्खरको उसको सिंहको अनुहार अहिले शिकार खाइसकेपछि शान्त भएको छ । हर रात तूफान मच्चाउनुलाई ऊ आफ्नो पुरुषार्थ ठान्छ । जहिले पनि ऊ त्यसै गर्छ र आज पनि उसले छोडेन ।
बन्द कोठाभित्रको एक्लो जीवनबाट म अत्तालिन थालेकी थिएँ । हिजो बिहानको खाना खाइसकेपछि कोठामा बस्दै गर्दा मेरो मन अनियन्त्रित भइरह्यो । मैले पढेलेखेको के यही दिन भोग्नका लागि हो ? खालि सभ्यता र पैसाको खोल ओढेको एउटा हृदयविहीन पुरुषबाट कुटिइरहनका लागि हो ? सोच्दासोच्दै मेरो टाउको फुट्लाजस्तो भयो । आज किन-किन मलाई छिट्टै नै निदाउन मन लाग्यो तर अशान्त मन बोकेर को निदाउन सक्ला र ? सोचेँ, स्लिपिङ ट्याबलेट खान्छु र निदाउँछु । राति निदाउन नसकेर स्लिपिङ ट्याबलेट खाएर सुत्न थालेको दुई वर्ष भइसकेको थियो । एउटा खाएँ, कुनै प्रभाव देखिएन । अर्को खाएँ र सुतेँ, तैपनि निद्रा आएन । छट्पटिएकी मैले अरू तीनवटा ट्याबलेट एकैचोटि खाइदिएँ र सुतेँ । आखिर म पराजित आइमाई न थिएँ ।
ऊ कति बेला आयो, थाहा भएन । म बेहोसजस्तै भएर सुतेकी रहिछु सायद । बिउँझिँदा ऊ घच्घच्याउँदै च्याँठिइरहेको थियो, ‘के नाटक हो फेरि यो ?’ मैले हलचल नगरेपछि उसले मलाई जबरजस्ती उठायो । म उभिन खोजेँ तर तत्कालै बान्ता भयो । उसलाई शङ्का लागेछ क्यार । के खाइस् भन्यो । निद्रा नलागेर स्लिपिङ ट्याबलेट खाएर सुतेकी हँु भनेँ ।
उसले आफ्नो निहुँ पाइहाल्यो । स्लिपिङ ट्याबलेटबाट लठ्ठिएकी मलाई उसले आफ्नो गल्फ लठ्ठी झिकेर बर्साउन थाल्यो- “तँ मलाई ज्यानमारा बनाउन चाहन्छेस् । तँ मर्न चाहन्छेस् होइन ? मै मारिदिन्छु तँलाई ।”
उसले कति हिर्कायो यादै रहेन । म भुइँमा पछारिएकी थिएँ । लठ्ठिएकै अवस्थामा पनि मलाई यति धेरै दुख्यो कि मैले उसलाई हात जोड्दै भनेँ- “प्लिज मलाई नकुट्नुस्, म अब खप्न सक्दिनँ ।”
कति निरीह थिएँ म ! अहिले पनि बरर्र आँसु झर्यो । खुट्टाको नली हाडतिर अझैे सुन्निइरहेको छ । शरीरमा नदुखेको कुनै ठाउँ नै छैन । कस्तो लाचार जिन्दगी बाँचे मैले । आफैँलाई विश्वास लाग्दैन कहिलेकाहीँ, के यो मैले नै भोगिरहेँछु ?
दुनियाँको नजरमा हरेक कोणबाट सफल देखिने एउटा पुरुषले आफनो मनलागी गरिरह्यो । स-साना घटनालाई पनि पहाड बनाइरह्यो । आत्मसम्मानलाई चुनौती दिइरह्यो । भो अब पुग्यो । फरक्क फर्कें झ्यालबाट । तूफान मच्चाएर ऊ गर्वसाथ गर्जिरहेछ । अहिले मलाई यस पुरुषप्रति घृणा पनि लागेन । माया लाग्नुपर्ने त कुनै कारण नै छोडेको छैन उसले । सरासर दराजतिर गएँ जुन अघिदेखि खुल्लै थियो । आफ्ना शैक्षिक प्रमाणपत्रहरू झिकेँ र सानो झोलामा राखेँ । बुवाआमालाई मनमनै धन्यवाद दिएँ, मैले मेरो हो भनेर गर्वसाथ राख्नसक्ने यी प्रमाणपत्रहरू उहाँहरूले नै दिनुभएको हो मलाई । मैले आज उठ्नै पर्छ । आज मैले मनको आवाजलाई सुनेकी छु, अब यसैलाई पछ्याउनु छ । विना कारण भोगेको यो सजायबाट मुक्ति लिनै पर्छ ।
मेरो केही छुट्यो र यहाँ ? त्यो अजङ्गको कोठामा एकचोटि नजर घुमाएँ । भौतिक सामान त मेरो केही थिएन, जुन छुटोस् । हो, पाँच वर्षसम्मका आँसु, पीडा र जलन भने त्यो कोठाभरि हुन सक्छन् । खप्न नसक्दा निस्किएका चीत्कारहरू कुनै कुनाबाट अझै पनि गुञ्जन सक्छन् । नरम तकिया एक्लो थियो वेडमा । प्रत्येक रात मेरा आँसु आफूले सोसेर दुनियाँको नजरबाट बचाइरह्यो मलाई । बिचरालाई एकपटक छोऊँ कि ! भैगो, त्यो निर्जीव तकियामाथि केको मोह ? भोलिदेखि कुनै अर्कीको आँसुले त्यसरी नै नुहाउला त्यो ।
घडीले बिहानको चार बजेको सङ्केत दियो । अहो ! अब निस्कनुपर्छ । तर कुनै हतार छैन मलाई । ऐनाअगाडि पुगेँ । अघिको एल्बमकी केटीजस्तै लाग्यो आफैँलाई । हासौं कि जस्तो लाग्यो । साँच्चि कति समय भएछ मैले नहाँसेको ? धेरै बेर अडिन सकिनँ त्यहाँ । ढोकानिर पुगेर ढोका खोलेँ । चकमन्न थियो चारैतिर । एकपटक फर्किएर बिस्तारामा लडिरहेको त्यो पुरुषलाई हेरेँ जो केवल आफू मात्रै मान्छे हुँ भन्ने सम्झन्छ । सपनामा पनि कुनै कुकृत्यमा रम्दै होला, रमिरहोस्, अब कुनै अफसोच छैन । ढोका बाहिरबाट तानिदिएँ र सरासर तल झरेँ ।
पाँच वर्षअगाडि छिरेकी थिएँ यस घरमा । सुनौलो जिन्दगीको सपना त त्यतिबेला पनि थिएन तर यसरी निस्केर हिँडुँलाजस्तो पनि लागेको थिएन तर निस्किएँ, म हिँडेँ । मुगल दरबारको जस्तो भीमकाय मूलढोका एक झट्कामा खोलेँ र बाहिर निस्किएँ । चिसो हावाले अझ स्फूर्ति दियो शरीरमा । लामो बगैँचा छिचोलेर मूलढोकासम्म आइपुग्दा कोही भेटिएनन् । कुन्नि कहाँ छन् आज यो कठोर महलका निरीह पहरेदारहरू ! गेट खोलेँ र एक पाइला बाहिर राखेपछि फर्किएर भित्र हेरेँ । अहँ, मलाई रोक्ने कुनै चीज थिएन त्यहाँ । छोराछोरी जन्मिएका भए तिनको मायाले छेक्थ्यो होला । राम्रै भयो मलाई कमजोर बनाउने कुनै चीज छैनन् मेरो जिन्दगीमा । पाँच वर्षसम्म निसास्सिएको तनमनमा आज ताजा श्वास भर्नेछु । पाँच वर्षसम्म धेरै लुट्यो यो महलले मलाई । अब दुवै पाइला बाहिर छन् । मूलढोका बन्द गरेँ- गरिनँ याद भएन ।
बिहानीपखको चन्द्रमाको प्रकाश कस्तो राम्रो देखिएको धर्तीमा ! कुनै प्रचण्ड ताप छैन, न त कालो अन्धकार नै छ । तनमनमा पीडाको कुनै आभास भएन । खोई, कसरी हरायो वर्षौँदेखि थुप्रिएको त्यो दुखाइ एक्कासि ?
धेरैबेर हिँडिसकेपछि फाट्टफुट्ट मान्छे देखिन थाले बाटोमा । गरिबहरू यति सबेरै आफ्नो पेट पाल्न उठेका होलान्, धनीहरू सायद पेट घटाउन । कतातिर लागूँ भन्ने कुनै दोधार छैन मनमा । जता गए पनि हुन्छ मैले तर माइती चाहिँ जाने छैन । सानोमा एक दिन दाइसँग झगडा पर्दा ‘यो घर मेरो हो, तँ त अर्कैको घर जान्छेस्’ भनेको थियो उसले । म रुँदै गएर आमालाई सोधेकी थिएँ, ‘मेरो घर कुन हो आमा ?’ आमाले टाउकोमा मायाले मुसार्दै भन्नुभएको थियो, “छोरीको दुईवटा घर हुन्छन् बा । एउटा जन्मघर, अर्को कर्मघर ।” आज निकै ठूली भएपछि थाहा भयो, छोरीको त कुनै घर नै हुँदैन आमा । त्यो त यो समाजले बनाइदिएको जेल पो रहेछ । मेरो घर मैले बनाए मात्रै हुन्छ । त्यही त गर्न जाँदैछु आज । उज्यालोसँगै मान्छेको चहलपहल पनि अलिअलि बढ्न थाल्यो । अझ पनि अँध्यारोले नै जितिरहेको छ तर यो चाँहि अवश्यम्भावी छ, उज्यालो छिट्टै हुनेछ ।
मधुपर्क २०६८ असार

निकै नै हृदय स्पर्सी रहेछ
निकै नै हृदय स्पर्सी रहेछ अहिले सम्म मझेरीमा पढे जती म साह्रै राम्रो लाग्यो ।
अझै यस्तै गरी कलम ले सार्थक्ता पाइरहोस् ।
Thank you
Aastha Jee
Thank you very very much
nikai ramro lagyo
nikai ramro lagyo
Ramro chha
Ramro chha
Thank you
Thank you very much
Ramro.
Nari nirihata and purush nistur le nimtiyeko pida… ramro lagyo….
Thank you
Thank you very much for your real comment.
A path where u lost … at
A path where u lost … at last u decide and work out with alone force its amazing and grateful all the words are smooth. Wish all the best ….