सप्पै चोर हुन् । सप्पैलाई आगो लाएर जलाइदिनु पर्छ या बमले उडाइ दिनुपर्छ । पार्टी पनि सप्पै चोर ! नेताहरू पनि सप्पै चोर ।’ यस्तो बोल्दै हिँड्ने मान्छेलाई तपाईंले कतै भेट्नु भएको छ ? त्यसले के कारणले सप्पैलाई चोर भनेको होला ? ख्याल गर्नु भएको छ ?
कसैले यो जिन्दगी व्यर्थ छ भन्दै हिँड्छ र साँच्चै हृदयको भाषा बोलेको हो भने त्यसले आत्महत्या गर्नुपर्छ, व्यर्थको जिन्दगी किन बाँच्ने ? हृदयमा आँट र उत्साह केही पनि नभएको मान्छेले मात्र यस्तो भन्दै हिँड्छ । जीवनको कुनै उद्देश्य नभएको, आवश्यक पर्दा कुनै जोखिम बेहोर्ने हिम्मत नभएको र मान्छेहरूको माझमा हेलिएर चुनौतीहरूको सामना गर्ने हुति नभएको मानिसले बोल्ने भाषा हो यो ।
कसैले यो संसार सङ्घर्षको रङ्गमञ्च हो भन्छ भने त्यो अवश्य लडाकु हुनुपर्छ । कायरले सङ्घर्ष नै जीवन हो भनेर परिभाषित गर्न सक्तैन । यो संसारलाई चोरैचोर देख्ने मान्छे कि स्वयं चोर हो कि कुरै नबुझी चोरको हल्लामा बगेको घसेटा हो । यो संसारमा भएका सम्पूर्ण मान्छेलाई सज्जन देख्ने मान्छे सज्जन होइन । सुस्तमनस्थितिको मान्छे हो । यहाँ त सज्जन पनि छन् र दुर्जन पनि छन् । सज्जनलाई सज्जन र दुर्जनलाई देख्न नसक्नु मान्छेको दुर्भाग्य हो । यही दृष्टिदोषका कारणले मान्छेहरूले धोका खान्छन् । सज्जन र दुर्जनको अर्थ पनि सबै ठाउँमा एउटै हुँदैन ।
राजनीति फोहोरी खेल हो भन्ने राजनेताले सफा राजनीति गर्दै गर्दैन । उसले बुझेको राजनीति नै फोहोर छ, अनि कसरी सफा राजनीति गर्छ । आफूले जित्नका लागि जे पनि गर्छ, हुनसम्म फोहोर खेल खेल्छ । जब कसैले किन यस्तो फोहोरी खेल खेलिस् भन्छ अनि जवाफ दिन्छ, राजनीति फोहोरी खेल हो । यस्तो राजनीतिमा सबभन्दा ठूला फोहोरी नै सबभन्दा ठूला राजनेता कहलाउँछन् । सबै चोर हुन् भन्ने हल्लाको मुहानमा पनि यिनै फोहोरी नेताहरू छन् । सबैलाई चोर देख्ने मान्छे त्यही नेता अथवा त्यसैको अन्धो कार्यकर्ता हो ।
सबैलाई चोर भनिसकेपछि उसको नजरमा बुद्ध पनि चोर हुन्, माक्र्स पनि चोर हुन् र उसकी आमा चोर्नी हुन्, उसका बा चोर हुन् र ऊ स्वयं चोर हो । इच्छा लाग्यो र क्षमताले भ्यायो भने चोर जे चोर्न पनि तयार हुन्छ । उसले आमाको सुखहरू पनि चोर्न सक्ने भयो । बाका खुसीहरू चोर्न पनि गाह्रो मान्ने भएन ।
मान्छेले धूर्तता र बेइमानीको पाटोलाई खुब जोडतोडका साथ प्रचार गर्छन् चोरहरू । इमानका, त्यागका, निश्छलताका, निर्मलताका कुराहरू तिनका छलफलका विषयमा पर्दैनन् । आफूजस्तो छ, त्यस्तैलाई उसले प्राथमिकता दिएको कुरा सजिलै बुझ्न सकिन्छ । कुकुरले कलो खान दगुरेको मात्रै देख्छ ऊ, सहिदले बाँचेको महान् जीवनको चित्र उसको नजरमा घुस्तै घुस्तैन । सहिदलाई बुद्धि नभएको मूर्ख ठान्छ । आफूलाई खुब बुद्धिमान मान्छ, मृत्युलाई छलेर अजम्बरी बाँचेझैँ सम्झन्छ । सज्जनतालाई उपेक्षा गर्छ, नदेखेझँै गर्छ र दुर्जनतालाई बढाईचढाईं प्रस्तुत गर्छ । उसको नजर लोभ र पापले दिग्भ्रमित भएको छ ।
उसलाई आफू चोर भएको कुरा राम्ररी थाहा छ । उसको चोरीकर्म कसै न कसैले थाहा पाएको पनि उसलाई थाहा छ । थाहा नपाउनेहरूले पनि कुनै दिन थाहा पाउने कुरा उसले बुझेको छ । सज्जनहरूको बोलवाला भयो भने आफ्नो सम्मान रहँदैन भन्ने ज्ञान पनि उसलाई छ । वास्तवमा ऊ डराइरहेको छ र निडर भएको नाटक गरिरहेको छ । ‘चोर मानिसको स्वाभाविक धर्म हो, सबै मान्छे चोर हुन्’ भन्ने तर्कलाई जिताउन सके त्यसले आफ्नो चोरीलाई अपराधमुक्त गराउँथ्यो भन्ने बुझेर सम्भाव्य दुर्घटनाबाट बच्नका निम्ति उसले निकालेको गुप्त चलाखी अर्थात् मनोविज्ञान हो सर्वचोर दर्शन । यो कुरा उसले लुकाउन चाहेको छ तर लुक्न सकेको छैन ।
ऊ जुन पार्टीमा छ, त्यो पार्टी खत्तम छ । उसका नेताहरू वैयक्तिक वैभवका निमित्त राजनीति गरिरहेका छन् । तसर्थ तिनका पक्षमा उभिएर बोल्ने एउटा पनि बलियो तर्क ऊसित छैन । जब उसका पार्टी र त्यसका नेताका गलत विचारका बारेमा आलोचना हुन्छ तब ऊ तिल्मिलाउँछ । ऊसित जित्ने नैतिकता र हार्ने हिम्मत छैन । ‘हाम्रा नेता चोर हैनन्’ भन्न सक्तैन अनि अन्य दलका समेत जम्मै नेता चोर हुन् भनिदिन्छ । अर्काको कमजोरीलाई पछ्यौरा बनाएर आफ्नो अपराध ढाक्नु उसको आदतै बनिसकेको छ । प्रमाण ऊसित केही हुँदैन, हचुवामा बोलिदिन्छ ।
शब्द जसरी प्रयोग गरे पनि सारमा उसले दुनियाँलाई दिन खोजेको सन्देश यही नै हो -‘सबै चोर हुन् त्यसकारण कसैका कुरा पनि नपत्याऊ । सबै चोर हुन्, त्यसकारण कसैलाई चोर भनेर किटान गर्ने काम नगर । तिमीले जसलाई सज्जन भन्छौ त्यो पनि चोर नै हो । संसारमा कोही पनि सज्जन छैन । त्यसकारण हरेकले हरेकलाई अविश्वास गर । मैले पनि चोरिहेको छु । तिमीले पनि चोरिरहेका छौ । छैनौं भने चोर । यो चोरहरूको संसार हो । यहाँ विजय हासिल गर्नका निमित्त चोर्नु पर्छ ।’
चोरेर सुखी हुनु उसको सोख हो । आफ्नो खुट्टामा गद्दादार जुत्ता भिर्न पाएपछि उसलाई पुग्यो । तीखा, बलिया र लामालामा काँडामा झार्यामझर्याम् टेक्दै वनवनै दगुरेको बच्चा देखेर पनि उसको मनमा माया पलाउँदैन । बरू अरूलाई आइपरेको आपत्ति देखेर आनन्द आउँछ ।
जबजब देशमा परिवर्तनका लागि युद्ध र आन्दोलन हुन्छ र त्यसले निणर्ायक मोड लिन खोज्छ, तबतब चोरहरू यस्तै हल्ला फिजाउँछन् र परिवर्तनलाई गलत बाटातिर मोड्न खोज्छन् । मलाई अझ अचम्म लाग्छ जब कवि भनिएका केही मान्छेहरू पनि बेसुराको यही राग अलापेर कविताको नामको अकर्मण्यता सुनाउँछन्, सप्पै नेतालाई हालेहुलेमा एउटै आरोप लाउँन्छन् । अहिले पनि यस्तै हुन खोजिरहेको छ । विना छानविछ्यान सबैलाई एकै ठाउँमा मिसाउने यो गोलमालको दर्शनको विरुद्धमा धावा बोलौं । हामीले प्रतिवाद गर्नै पर्छ ः ‘यो संसारमा विष मात्रै छैन, अमृत पनि छ । रात मात्रै छैन दिन पनि छ । विनास मात्रै छैन, सिर्जना पनि छ । चोरी मात्रै छैन, त्याग र समर्पण पनि छ । अबको दुनियाँ श्रमजीवी क्रान्तिकारी सज्जनहरूले हाँक्ने छन् ।’
मधुपर्क २०६८ असार
