बनाउनेले बाटो
टेकेर कहिल्यै त्यहाँ हिँड्न पाएनन्
हिँड्नेहरूले कहिल्यै आफैँ बाटो बनाएनन् ।
आफ्नै बलियो मेरुदण्डझैँ
हाम्रा बाबुबाजेले निर्माण गरेका बाटाहरू टेकेर
हिँडिरहे राजा-महाराजा र ठूल्ठूला शासकहरू
जंगलतिर सिकार हान्न, र, गाउँ-गाउँ सुसारे युवती खोज्न
अथवा गौँडा र कुमारी चोकतिर
रैतीहरूको तीरो असुल्न, तिनीहरू कसरी पुग्थे
हाम्रा पुर्खाले नखनेका भए बाटाहरू ।
पटक-पटक हाम्रा पुर्खाले खने मात्र
तर, सुखको भारी बोकेर आफैँ
नाच्दै गाउँदै कहिल्यै हिँड्न पाएनन्
टेक्न पाएनन् आफ्नै पसिनाले भिजेको बाटामा ।
हामी पनि खनिरहेका छौँ नयाँ बाटाहरू
को-को हिँड्लान् हामीले खनेका बाटाहरूमा ?
खेतबारी जोत्ने किसान कि गाउँका मुखियाहरू ?
मायालु जोडीहरू कि कसैलाई लुट्न हिँडेका डाँकाहरू ?
तीरो तिर्ने जनता कि भ्रष्ट सरकारी हाकिमहरू ?
गाउँ फर्किरहेका लाहुरेहरू कि अरब हिँडेका लेबरहरू ?
आन्दोलनलाई ठोक्ने बुट-लाठीहरू कि इन्क्लाबी जुलुस ?
को-को हिँड्लान् हामीले खन्दै गरेका नयाँ बाटाहरूमा ?
नेपाल साप्ताहिक ४५४
