Skip to content

कविताको शक्ति र नेपाली कविता

  • by


साहित्यको इतिहासमा कविताको सुदीर्घ परम्परा रहेको छ । पूर्व र पश्चिम दुवैतिर यसलाई साहित्यको सर्वप्राचीन विधा मानिन्छ । संसारका प्रायः सबै मुलुकहरूको साहित्यको इतिहास कविताबाटै आरम्भ भएको पाइन्छ । समय बित्दै जाँदा कविताको स्वरूपमा परिवर्तन आएको छ तर यसको मूल प्रकृति आज पनि अक्ष्क्षुण छ । समयको परिवर्तनले यसको मूल प्रकृति बद्लिएको छैन, अझ समृद्ध बनेको छ । कविताको शक्ति र लोकप्रियता एक-अर्काका परिपूरक हुन् । कविताको शक्ति कविताको प्रभाव हो, प्रभाव नै लोकप्रियताको आधार पनि हो । कविता नै सर्वप्राचीन विधा किन बन्यो ? मनुष्यले जीवन र जगत्को सम्मूर्तन कवितामै पहिले किन खोज्यो ? प्राचीन समयमा भिन्नभिन्न शास्त्र कवितामा नै किन लेखिए र पढिए ? मनुष्यले सबैभन्दा बढी कविताकै महिमागान किन गर्‍यो ? आदिजस्ता प्रश्नहरूले कविताको शक्ति र लोकप्रियतातर्फ नै सङ्केत गर्छन् । कविताले जीवन र जगत्को पुनर्रचना आफ्नो विशिष्टतामा अत्यन्त सजीव ढङ्गले गर्दै आएको छ । कविताको प्रभावको मूल आधार यही हो । यही कविताको सौन्दर्यको अक्षय स्रोत पनि हो । जीवन र जगत्को पुनर्रचना प्रकृति, जीवन र सामाजिक यथार्थसँगको सङ्घर्ष, तीबाट प्राप्त अनुभूतिहरूको विपुल संसार, उदात्त कल्पना, आकाङ्क्षा र स्वप्नहरू, नयाँ रचनाको उद्दाम आवेग, सत्यं, शिवं र सुन्दरम्को प्राप्ति आदिमा सार्थक हुन्छ । यही कारण हो शास्त्र कवितामा लेखिएर पनि कविता बनेन, मानिएन । कविता आफूलाई पाउनु र नियाल्नुको अर्को नाम हो, कविता एक विशिष्ट दर्पण, एक विश्मयकारी गतिशीलता र कहिल्यै नसकिने ऊर्जाको अक्षय स्रोत हो । यसैले मनुष्यले आफूलाई कवितामा व्यक्त गर्‍यो, गायो र मन्त्रमुग्ध भयो । कवितामा आफूलाई हेर्‍यो साँच्यो र बाँच्यो । कविता उसको हृदयबाट प्रस्फुटित सामूहिक र उदात्त आवेग थियो । हृदयको आवाजले कवितालाई कहिल्यै नमासिने गरी अमर मात्र बनाएन, यसले मनुष्यलाई सबैभन्दा बढी झङ्कृत पनि गर्‍यो । कविता मनुष्यको इतिहास हो-उसको हृदयको तस्वीर, उसका स्वप्नहरूको विम्ब हो तर के आज कवितासँग त्यो शक्ति र लोकप्रियता बाँकी छ जो कुनैबेला यससँग थियो र यो त्यसैबाट निःसृत आक्रोश, इर्ष्या र घृणाको बेलाबखत चरम शिकार पनि हुन्थ्यो ? कविता आज सीमित पाठक, यसका अध्येता, अनुसन्धाता, साहित्यका अध्यापक र विद्यार्थीहरूका माझ सीमित त बन्दै छैन ? कविताको शक्ति र लोकप्रियताका सन्दर्भमा यस्ता प्रश्नहरू अलि पहिल्यैदेखि उठ्दै आएका हुन् र आज पनि उठ्दै छन् ।

विख्यात कवि अक्टोभियो पाजले केही वर्षअघि आफू बाँचेको समयसँग एक मार्मिक प्रश्न गरेका थिए- कविता कसले पढ्छ ? यस्तै अनुभव बीसौँ शताब्दीको तेस्रो दशकतिर ‘विभ्रम र यथार्थ’ लेख्दै गर्दा प्रसिद्ध वेलायती चिन्तक क्रिस्टोफर कड्बेललाई पनि भएको थियो । उनले आफ्नो पुस्तकमा धेरै मानिसले कविता नै पढ्दैनन्, पढ्ने इच्छा नै देखाउँदैनन् र आवश्यकता नै महसुस गर्दैनन् भन्ने तिखो टिप्पणी गरेका छन् । कवितामा मात्र होइन साहित्यका अन्य विधाहरूमा पनि यो प्रश्न उठाइएको छ । एक रूसी आलोचकले कुनै बेला जुत्ता बनाउने मानिसलाई सेक्सपियरभन्दा धेरै उपयोगी भनेका थिए । आफ्ना महान् कृतिहरूलाई लिएर जीवनको अन्तिम वर्षतिर तोल्सतोयमा सघन आशङ्का जन्मिएको थियो । कलाको अर्थवत्ता माथि टिप्पणी र आशङ्काका आ-आफ्ना कटु सन्दर्भहरू भए पनि कला जीवित छ । कविताको शक्ति र लोकप्रियता माथि समान ढङ्गले प्रश्न उठाउने पाज र कड्वेलका दृष्टिहरू भिन्न छन् । कड्वेल कविताको प्रविधि र त्यसमा देखिएको जटिलता, अति वैयक्तिकीकरण, यथार्थको विद्रुपीकरण र सत्यको भ्रष्टीकरणका कारण यसो भन्दै थिए, पाजका अगाडि कविताप्रति बढ्दो उदासिनता र कटु उपेक्षा थियो । कविताको शक्ति र लोकप्रियता माथि आज प्रश्न उठाउनेहरू धेरै छन् । यस्ता प्रश्नहरू कतिपयले भन्ने गरेजस्तै हास्यास्पद मात्र छैनन् । यिनमा सत्यको केही अंश छ र त्यसैले कवितालाई प्रेम गर्नेहरूलाई त्यसले संवेदनशील बनाउँछ ।

बेलाबखत नेपाली कविताका सन्दर्भमा पनि यस्ता प्रश्नहरू गम्भीररूपले उठ्ने गरेका छन् । नेपाली कविताका पाठकहरू कति छन् ? कविताका पुस्तकहरू कति बिक्छन् ? पाठ्यक्रममा राखिएका कविताका पुस्तकहरू पाठ्यक्रमबाट झिकिदिने हो भने कति बिक्लान् ? कविताका गोष्ठीहरूमा मानिसहरूको उपस्थिति किन कम हुन्छ ? किन कविताको शक्ति कमजोर भएको छ ? किन यसको लोकप्रियतामा ह्रास आएको छ ? कतिपय त यसलाई कवितामाथिको सङ्कट भन्न पनि रूचाउँछन् । नेपाली कविताका सन्दर्भमा उठ्ने यी प्रश्नहरू पनि पूर्णतया निरर्थक छैनन् । इतिहासमा कविताको जुन स्थान थियो, यसमा जुन शक्ति थियो र यसले लोकप्रियताको जुन उचाइ प्राप्त गरेको थियो, त्यो त्यहीरूपमा आज यससँग छैन । देवकोटा, रिमाल, भूपि आदिले आफ्नो समयलाई जुनरूपमा प्रभावित गरेका थिए, आम मानिससँग उनीहरूका कविताको संवाद जति शक्तिशाली थियो, आजका स्रष्टा र उनीहरूका रचनामा त्यो देखिन्न । अतीत र वर्तमानको तस्बिरका बीचमा देखिने भिन्नताको यो दूरी निश्चय नै धेरै लामो छैन तर दूरी विद्यमान भने छ र यसैकारण प्रश्नहरू पनि उठ्ने गरेका छन् । हामी कहाँ या बाहिर, प्रश्नहरू जहाँसुकै उठुन्, तिनले सत्यको थोरै या धेरै जुनसुकै अंशलाई व्यक्त गरून्, ती हाम्रा सरोकारका जीवन्त विषय हुन् । कविताको शक्ति र लोकप्रियता आज केही कमजोर भए पनि, यसको अवस्था त्यस्तो भने छैन, जस्तो कतिपयले प्रस्तुत गर्ने गर्छन् । कतिपय मानिस र स्वयं कविताका स्रष्टा अरू विषयमा जस्तै यसमा पनि अतिरञ्जनाको शिकार छन्, आत्मपरकताको दुनियाँमा अलि धेरै खुम्चिएका अनुभव हुन्छ । कविताको शक्ति र लोकप्रियता हिजोजस्तो आज अवश्य छैन तर आज पनि कविताको शक्तिलाई अनुभव गर्न सकिन्छ, यसको लोकप्रियतालाई पनि देख्न सकिन्छ । यो जीवित मात्र छैन, सानदाररूपमा जीवित छ । यसको भाषामा अहिले पनि ओज छ, यसको हृदयमा अहिले पनि भर्भराउँदो आगो र आगोको आँचमा जाग्रत एक स्वप्नप्रदेश छ । यो अहिले पनि हाम्रो हृदयको आवाज, हाम्रो सौन्दर्यको स्रोत र कष्टमय संसारमा हाम्रो अजस्र ऊर्जाको मुहान हो । आज पनि संसारमा कविताका सुन्दर पङ्क्तिहरू गुनगुनाउँदै पीडाका बीचमा निदाउने, अकथनीय कष्टका बीचमा हिँड्ने र शिखर आरोहण गर्ने लाखौँ मानिसहरू छन् । कविता अहिले पनि मनुष्यको स्वतन्त्रताको, समानता र सामाजिक न्यायको, गरिमा र सौन्दर्यको एक स्वप्न विम्ब हो । उसको अस्तित्वको पर्याय, उसको अस्तित्वको विस्तार हो । यो त्यो हतियार हो जसबाट ऊ आफ्नानिम्ति एक मुक्त प्रदेशको निर्माण गर्छ र त्यहाँ एक सुन्दर वस्ती बसाउँछ । निश्चिय नै मनुष्यको यस ओजश्वी भाषालाई एक निर्जीव पुतलीमा बदल्ने, अशुभ, असत्य र असुन्दरको उपकरण बनाइने क्रीडा पनि चलेको छ तर कविताले यसको प्रतिरोध पनि गर्दै आएको छ । कविता आफ्नो प्रतिरोधमा विजयी छ । मसाल बनेर अँध्यारोलाई चिर्ने आफ्नो प्रकृतिलाई यसले यथावत मात्र राखेको छैन, अझ धारिलो पनि बनाएको छ ।

कविताको शक्ति यसको लोकप्रियता नै हो । अर्थसंसारले पनि आफ्नो मुनाफा-प्रदेशमा यसलाई निर्बाध प्रवेश दिएको छ । आज वस्तुको विज्ञापन कवितात्मक भाषामा पनि गरिन्छ । कवितामय विज्ञापनले विज्ञापनप्रति आम मानिसको ध्यानाकर्षण मात्र गर्दैन, त्यसप्रति अभिरूचिको निर्माणमा समेत सहयोग पुर्‍याउँछ । कविताको विज्ञापनमा प्रयोग कवितासँग मनुष्यको आत्मिक सम्बन्ध र त्यसबाट निस्कने सार्थक परिणामका कारण गरिएको हो । व्यवसाय मुनाफासँग जोडिन्छ । नाफाका निम्ति ती सबै उपकरणहरू त्याज्य हुन्छन् जो मुनाफा आर्जनमा सहयोगी सिद्ध हुँदैनन् । कवितात्मक भाषामा विज्ञापन लाभदायक भएकाले नै यसको प्रयोग गरिएको हो । कवितामा संरचित र प्रसारित विज्ञापनको भाषाले कविताको जुन छद्म आभाष दिन्छ, त्यसले मानिसको मनलाई प्रभावित गर्छ । कविताको भाषाको ओजश्वीता, यसको लयात्मकता र गेयता विज्ञापनका निम्ति यसको प्रयोगका आधार हुन् । कवितालाई आर्थिक लाभका लागि विज्ञापनका रूपमा मात्र प्रयोग गरिएको छैन, वातावरणको संरक्षण, कृषि उत्पादन, मानव अधिकारलगायतका क्षेत्रहरूमा पनि प्रयोग गरिएको छ । ती क्षेत्रमा जागरण ल्याउने दृष्टिले कविताको भाषामा पर्याप्त प्रचार सामग्रीहरू निर्माण गरिएका छन् । यस्तो प्रयोग नेपालमा मात्र गरिएको छैन, अन्यत्र पनि गरिएको छ । विज्ञापन वा चेतनामूलक प्रचार सामग्रीमा कविताको प्रयोगले कविताको शक्ति र लोकप्रियतालाई देखाउँछ । कविताको शक्ति र लोकप्रियतालाई प्रमाणित गर्ने यी अवश्य नै उपयुक्त आधारहरू होइनन् तर यी कविताको शक्तिशाली र लोकप्रिय छविसँग अभिन्नरूपमा गाँसिएका छन् । होइन भने विज्ञापन र प्रचार सामग्रीका रूपमा यसको प्रयोग किन गरिन्थ्यो ? यस प्रकारको प्रयोगले कविताको मर्ममाथि प्रहार गर्छ कि गर्दैन ? कविताप्रति बनेको र बन्नुपर्ने धारणालाई विकृत गर्छ कि गर्दैन ? के यो कविताको ‘कमोडिफिकेसन’ होइन ? के यो कविताको सत्तामाथि प्रहार र त्यसको विद्रुपीकरण होइन ? यी प्रश्नहरू अवश्य पनि गम्भीर छन् । निश्चय नै आज यस्तो उपभोक्तावाद शक्तिशाली छ जसले निसङ्कोच र निर्भय कलाको विशिष्ट प्रकृति र प्रकार्यसँग खेलाँची गर्छ र त्यसलाई उपयोगिताको तल्लो आसनमा झार्छ । यसले कलाको छद्म प्रतिरूपलाई अघि सार्छ र वास्तविकलाई उदरस्थ गर्छ । फलतः कला आफ्नो सत्ता र शक्तिबाट च्यूत हुन्छ । कलाको आसनमा चरम उपयोगितावाद आरूढ हुन्छ । हामी यस दारूण, लज्जाजनक र अपमानपूर्ण क्रियालाई हेर्न विवश छौँ । कला द्रौपदी बनाइँदैछ तर सायद ऊसँग कुनै कृष्ण छैन । कवितामा पनि यो धेरथोर लागू हुन्छ ।

कविता आफ्नो स्वरूपमा विविधतापूर्ण छ । महाकाव्य अर्थात् कविताको रूपदेखि बृहत्तम कविताका लघुत्तम रूपहरू पनि यसभित्र पर्छन् । फुटकर कविता नै आज बढी लेखिदै छन् । कविताका संरचनात्मक स्वरूप एक साथ अस्तित्वमा आएका थिएनन् । कविता कुनै योजनाबद्ध प्रयत्नको परिणाम पनि थिएन । मानव चेतनाको विकाससँगसँगै श्रमको प्रक्रियामा यो अस्तित्वमा आएको थियो । यो हृदयको आदिम आवाजका रूपमा प्रकट भएको थियो । आवाजको आफ्नै भाषा थियो, आफ्नै लय थियो, अनेकन भाव र स्वप्नहरूको एक आत्मप्रदेश थियो । वीणाको झङ्कारले झैँ यसले आफ्नो प्रिय स्रष्टालाई, मानिसहरूको समूहलाई मन्त्रमुग्ध पारेको थियो । आखिर कवितामा कुन शक्ति छ जसले मनुष्यलाई भित्रैदेखि प्रभावित गर्‍यो र गर्दै छ ? यस विविधतापूर्ण र विभाजित संसारमा यसका उत्तर पनि अनेक छन् तर कविताको शक्ति जीवनसँग यसको प्रेम, हृदयसँग यसको संवाद, जीवनका स्वप्न र सङ्घर्षहरूमा अन्तर्हित रहेको छ । कविता एउटा यस्तो सेतु हो जसले मनुष्यलाई बहृमाण्डसँग, प्रकृतिसँग, सामाजिक यथार्थ र त्यसका विलक्षणताहरूसँग जोड्छ । एक विशिष्ट भाषामा, एक विशिष्ट लय र पद्धतिमा कविताले यो कार्य सम्पन्न गर्छ । विश्वविख्यात कवि पाब्लो नेरूदाले नोबेल पुरस्कार ग्रहण गर्दै गर्दा भनेका थिए, “कविता यस्तो कारवाही हो जहाँ अल्पस्थायी वा पवित्र, एकान्त र एकात्मकता, भाव र व्यवहार, आफैँ र मानवताप्रतिको निकटता, प्रकृतिको रहस्यमयी अभिव्यक्तिप्रतिको सान्निध्य, सबै समान अंशियारका रूपमा प्रवेश गर्छन् । यी सबै मानिस र उसको छायाँ, मानिस र उसको आचरण, मानिस र उसका कविता, वृहत्तर अर्थमा समुदायको चेतनामा टिकेका छन् । यस्तो प्रयत्नमा टिकेका छन् जसले हामीभित्र सधैँ यथार्थ र स्वप्नलाई मिलाउँछन् किनकि कविताले पनि यसैगरी सबैलाई मिलाउँछ र मिश्रति गर्छ । यसैकारण मैले यति वर्षपछि पनि कविता पाठ कहिले गरँे भनेर भन्न सकिरहेको छैन । जब मैले उर्लदै गरेको नदी तरेँ, गोरुको खप्पर वरिपरि नाचेँ र सबैभन्दा माथिबाट झरेको झरनामा स्नान गरेँ, के मैले त्यसैबेला कविता पाठ गरेँ ?….म जान्दिन मैले अनुभूति गरेँ वा सिर्जना । यस अवधिमा मैले कविताको जुन अनुभूति गरेँ, त्यसलाई पद्यको जुन रूप दिएँ, त्यो यथार्थ थियो वा कविता, त्यो अस्थायी थियो वा स्थायी, म भन्न सक्दिन । ……. मैले सधैँ त्यसैलाई प्यारो कवि मानेको छु जसले हाम्रानिम्ति प्रत्येक दिन रोटी पकाउँछ ।” नेरूदाको कवितासम्बन्धी यस कथनले कवितालाई जीवनको यथार्थ र त्यसको पुनर्निर्माणसँग, सामूहिक चेतना र त्यसको प्रयत्नसँग, सत्य र इमान्दारितासँग, अभिव्यञ्जनाको झलक र त्यसको सार्थकतासँग जोड्छ । चिनियाँ कवि आइछिङ भन्छन्, “कविले सत्य बोल्नुपर्छ । मानिसहरूले यीयी कविताहरू लोकप्रिय छन् किनकि तिनले जनताको हृदयको कुरा गर्छन् भनेको सुनिन्छ । मलाई यो व्याख्या सम्पूर्ण छ भन्ने लाग्दैन । म भन्छु, यीयी कविता लोकप्रिय छन् किनकि ती सत्य बोल्छन्, सीधै हृदयबाट निस्किएको सत्य ।” आइछिङको सत्य हृदयको सचेतन र परिष्कृत स्पन्दन हो अर्थात् कविताको आत्मप्रदेश ।

कविताको संरचनामा बनोट र बुनोट पर्छन् । बनोट स्थूल संरचनासँग सम्बन्धित छ, बुनोट सूक्ष्म संरचनासँग । आख्यानात्मक, नाटकीय र प्रगीतात्मक संरचना बनोटअन्तर्गत पर्छन् । कविताको भाषा बुनोटसँग जोडिन्छ । भाषा पनि सामान्य र विशिष्ट हुन्छ । सामान्य भाषिक बुनोट लक्ष्य आधारित ओजस्वी कथन हो, विशिष्ट भाषिक बुनोट वर्णनात्मकता, उक्तिवैचित्र्य, व्यङ्ग्यपूर्ण कथन, विपर्यास र विचलनका साथसाथै विम्बविधान, प्रतीक विधान, अलङ्कार विधानको समष्टि हो । कवितामा कविताको विशिष्ट संरचनाले महìवपूर्ण अर्थ राख्छ तर यसले मात्र कवितालाई सजीव बनाउँदैन । मनुष्यले कविताको सिर्जना र पठन संरचनात्मक ‘जादू’ को आस्वादनका निम्ति गर्दैन, हृदयसँगको संवादका निम्ति गर्छ । हृदयप्रदेश मनुष्यको अगोचर, अदृश्य र अमूर्त एकाइ होइन । यो भाव, विचार, स्वप्न र यथार्थको अन्तः संसार हो जसको निर्माण बाहृयप्रकृति र सामाजिक यथार्थसँगको अन्तर्घुलन, मिश्रण र क्रियाप्रतिक्रियाहरूका बीचबाट हुन्छ । वैयक्तिकता समष्टिसँग जोडिन्छ, समष्टि वैयक्तिकतासँग । यसैबाट सामूहिक आवेग, सामूहिक चेतनाको निर्माण हुन्छ । कविताले विशिष्ट भाषामा जीवन र जगत्को पुनर्रचना गर्छ । कविताको शक्ति र लोकप्रियता यथार्थको सूक्ष्म भेदन, आफ्नो समयसँगको श्रेष्ठ संवाद, उदात्त अनुभूति, स्वप्नहरूको सजीव मूर्तिकरण, सुन्दरको गान र नयाँ निर्माणमा व्यक्त हुन्छ । कविताले शक्ति र लोकप्रियता यिनैबाट प्राप्त गरेको हो । आज पनि यसको शक्ति र लोकप्रियता यिनै कुराहरूमा अडेको छ । कविताबाट प्राप्त हुने सौन्दर्य यी सबैको प्रतिफल हो । यी सबैको मूर्तिकरण र सजीवीकरणमा संरचनाले योगदान पुर्‍याउँछ । जब कविताको शक्ति र लोकप्रियताको प्रश्न अगाडि आउँछ र यसको उत्तरमा निराशाजनक तस्बिर हात लाग्छ, त्यसबेला कविताको संरचनाका साथसाथै यसको आत्मप्रदेशअघि आउँछ । प्रश्न उठ्छ -कतै कविता कविताजस्तो हुन सकेको छैन कि ? कवितासँग अहिले पनि त्यो शक्ति छ जो अतीतमा यससँग थियो । सायद यसमा साँध लगाउने र धारिलो बनाउने कुरामा कमी छ, कमी छ भने यस विरूद्धको हमलासँग प्रतिरोध गर्ने कुरामा कमी छ ।

नेपाली कविता आज पनि शक्तिशाली र लोकप्रिय छ । कहीँ पनि सबै कवि, सबै कविता शक्तिशाली हुँदैनन् । देवकोटा, रिमाल, भूपि आदि मात्र आज रूचिपूर्वक पढिदैनन्, समकालीन कविहरू पनि पढिन्छन् । नेपाली साहित्यको इतिहासमा कविता सधैँ सर्वाधिक शक्तिशाली र लोकप्रिय विधा रहृयो । अहिले पनि यो आफ्नो पूर्ववर्ती इतिहासभन्दा अलि कमजोर तर समग्र नेपाली साहित्यका सन्दर्भमा सबैभन्दा शक्तिशाली र लोकप्रिय देखिन्छ । कविता अहिले पनि आम मानिससँग सबैभन्दा निकट छ, कविताका कृतिहरू नै सबैभन्दा बढी प्रकाशित छन्, कविताका कार्यक्रम नै सबैभन्दा बढी हुन्छन्, चर्चा-परिचर्चा पनि यसका विषयमा नै बढी हुन्छन् । यी सबैले कविताको उपस्थितिलाई सवल देखाउँछन् र यसको निराशाजनक तस्बिरलाई बढाइचढाइ प्रस्तुत गर्नेहरूलाई मुखभरिको जवाफ पनि दिन्छन्, तर एउटा कुरा निसङ्कोच स्वीकार गर्नुपर्छ, नेपाली कविताको समकालीन दृश्य अत्यन्त उत्साहप्रद अवश्य छैन । आजको समय लाग्छ कविताका निम्ति निकै उर्वर छ तर यो हातबाट माछो फुत्किएझैँ फुत्किरहेछ । आफ्नो समयलाई, यसको आवेगको गहिराइ र त्यसको व्यापक फलकलाई, यसका आकाङ्क्षा र स्वप्नहरूलाई, यसका आशा-निराशा, घात-प्रतिघात, उकाली-ओराली, आँसु-हाँसोलाई, कुरूपविरूद्धको सङ्घर्ष र सुन्दरको आहृवानलाई, यथार्थको विविधतापूर्ण. विशाल बटवृक्षलाई के कवितामा शक्तिशालीरूपमा अङ्कन गर्न सकिएको छ ? वा कविताहरू प्रायः सतहीकरण, अतिवैयक्तिकीकरण र स्थूल आदर्शीकरणको सिकार भएका छन् ?

कवितामा विशाल नेपाल बढी बोल्छ कि सहरीया मध्यमवर्गीय कुण्ठा ? नेपाली जीवनको विविधता, विपुलता र विलक्षणता नेपाली कवितामा कति प्रकट भएको छ वा यो सीमित विषयहरूको अत्यासलाग्दो कारागारको कैदी बनेको छ ? कतै जीवनप्रतिको स्थूल, सीमित र एकाङ्गी काव्यिक सरोकारले कविताको शक्ति र लोकप्रियतालाई क्षीण त गर्दै छैन ? यी आजका मननीय प्रश्नहरू हुन् जसको समुचित उत्तरले नेपाली कवितालाई अझ शक्तिशाली, लोकप्रिय र समृद्ध बनाउन मद्दत गर्ने छन् ।

मधुपर्क २०६८ साउन

Leave a Reply

Your email address will not be published. Required fields are marked *