Skip to content


अन्धाहरू
सिङ्गै हात्ती खोज्छन्
नाक, कान, पुच्छर, सुँड खुट्टा छामेर
बोल्नेहरू, भन्नेहरू
देशको रूपान्तरण खोज्छन्
रिसोर्ट पाँचतारे होटलका झ्याल, ढोका, खम्बा
बार, डाइनिङ टेवलका ग्लासहरू समाएर
छुन्छन् धामी झाँक्रीको हातपाउ टुनामुना
मधेश पहाडको आलो घाउ
छाम्छन्
अतिवर्षा/अनावृष्टिको नीलडाम
जडौरी लुगा भएर फाटेका अनुहार
हिउँले खाएको काला पत्थर
दुःखिरहने आला घाउहरू
थोत्रो लुगा फाटेका आङहरू
अझ पर पुग्छन्
सम्पूर्ण एशिया, युरोप र अमेरिका
कोपनहेगन काटेर
रमिता पल्टिदिन्छ अनजान माटोमा
फ्रेम बिगि्रएको तस्बिर भएर
एउटा सानो भूगोल
सिङ्गै नेपाल
समर्पित हुन्छ बन्धक बसिदिन्छ
विदेशी चेकमा
भुइँचालो कमाएर छातीमा
कोशी, कर्णाली बगाएर आँखामा
देखाउँदैन त्यो सानो भूगोलले
मुटु चिरेर
आँखा भिजाएर
परायाहरू भन्छन्
देख्दा सुन्दा र पढ्दा
रूप अर्कै थियो, अनुहार यसको उज्यालो थियो
पटकपटक गैँडाले चाटेछ, गोहीले टोकेछ
सोध्छ अनुराधाको माइती नेपाल पुग्ने बाटो
गाँस, बास, कपासको आग्रह गर्छ
चेक ल्याउनेहरू
गोबर्द्धन पहाड उठाएको कृष्णलीला बोल्छन्
देश बोक्छु, देश उठाउँछु
नाच्छन् अपचलनको लीला
गाउँछन् विचलनको लीला
जप्छन् कुर्ची मोह, पटकपटक सत्ता मोह रुन्छन्
कृष्ण प्रभुहरू फिका बनाइदिन्छन्
मदनकृष्ण हरिवंशका प्रहसन
उत्तेजनहीन बनाई दिन्छन्
रेखाका नृत्यमग्न अङ्गहरूलाई
प्रभुजी ! अन्धा बनाउ, बहिरा बनाउ हामीलाई
हेर्न नपरोस्
छल्ने छक्याउने फिरङ्गी मञ्चन
सुन्न नपरोस्
ढाँट्ने फकाउने कर्मकाण्ड प्रवचन
सङ्लिएको छैन अहिलेसम्म
मस्तिष्कभरि पोखिदिएको धमिलो पानी
घर भएर उठेका छैनन् गाउँघरमा कुनै झुप्राहरू
तिमीहरूले निर्माण गरिदिएका बालुवाका महलहरू
अझ अँध्यारो हुँदैछन् हाम्रा अनुहार
अझ दुख्दैछन्
आला घाउ र फाटेका आङहरू
अझ निचोरिँदैछ चेकको क्रूर हातहरूबाट
सबै आँखाकी नानी मानिएको यो सानो भूगोल
असत्य फिरौती कबुल्न पर्दैन
कृष्ण प्रभुहरू !
लीलामयी अपहरण गरिदेउ रूपान्तरणलाई
कुनै शब्दकोशबाट
टाँसिदेउ सबै अनुहार, रूप र आङहरूमा
रूपान्तरण रूपान्तरण ।

मधुपर्क २०६८ साउन

Leave a Reply

Your email address will not be published. Required fields are marked *