एउटा भोको बोको
सिंहदरबार पस्यो
र त साँझ-बिहान जेजे पाउँछ
त्यैत्यै चपाउँछ, मरमर्ती चपाउँछ
अघाउँजी चपाउँछ, निदाइलो चपाउँछ
चपाइरहन्छ ।
गर्नेलाई भन्दा देख्नेलाई लाज भनेझैँ गर्दै
कैले मन्त्रिपरिषद्को बैठकमै
एकदम आत्तिएर तुक्र्याउँछ
कैले बहस चलिरहेकैबीच योजना आयोगको
लोकप्रिय नामको योजनाको फाइलमै
चेतनाले शून्य भएर
एकदम मात्तिएर तुक्र्याउँछ
र मौका पायो कि चपाउँछ
मरमर्ती चपाउँछ
अघाउँजी चपाउँछ
निदाइलो चपाउँछ
चपाइरहन्छ ।
यी सब जो म आफैँले देखेको छु
र त देखेकैले जस्ताको तस्तै भन्न सकेको हुँ ः
साँच्चै कैले त्यो रोल्पाको चामल
कैले रुकुमको न्यानो कपास
कैले चुरेभावरको स्वच्छ बतास
कैले दार्चुलाको पाठशालामा गुरुहरूले पढाउनुपर्ने
र पढाइसकेपछि कक्षामा पढिसकेका
नानीबाबुहरूले जस्ताको तस्तै गरी
कण्ठस्थ सुनाउनुपर्ने पाठहरूको किताब
गृहकार्य गरी देखाउनुपर्ने गृहकार्यहरूको
किताब त
कैले जाजरकोटको जीवनजलको प्याकेटसमेत चपाउँछ
लाजमर्दो पाराले चपाउँछ, म्याँम्याँ गर्दै चपाउँछ
अघाउँजी चपाउँछ, निदाइलो चपाउँछ, चपाइरहन्छ ।
यसरी यी सब आफूले चपाइरहँदा, चपाउँदै गर्दा, गरिरहँदा
सामु सोझो हुन आइपुगे भने फेरि पनि रोल्पाका भोकाहरू
रुकुम, चुरेभावर, दार्चुला र जाजरकोटे सोझाहरू
तब फेरि आफ्नो दुई खुट्टा उचाल्दै
उनीहरूमाथि सिङसहितको आफ्नो टाउको तेस्र्याउँछ
तर उताका साहेबहरूलाई
निद्राको तन्द्रामै देख्यो भने, भेट्यो भने
हतपत स्वाँस्वाँ र फ्वाँफ्वाँ गर्दै
आफ्नो चार हातखुट्टा पसारेर
म्याँम्याँ गर्दै स्वाभिमान बिनाको पुच्छर हल्लाउँछ
खुब हल्लाउँछ, हल्लाइरहन्छ ।
-गोल्फुटार, काठमाडौँ ।
मधुपर्क २०६८ साउन
