तिम्रो बचन टार्न पनि गाह्रो
फेरि माया मार्न पनि गाह्रो
भन्छौ यसो गर्नु, त्यसो नगर्नू
लागेको बानी सुधार्न पनि गाह्रो
हजार टुक्रा पार सुन सुनै हो
जीवनलाई सुनझैँ खार्न पनि गाह्रो
सुझाउँछन् साथीहरू दूतावास धाउन
आफ्नै देशमा जीवन गुजार्न पनि गाह्रो
चाहना त थियो नि घरबार जोड्न
पटकपटक डेरा सार्न पनि गाह्रो
जति पीडा छन् सहेकै छु आफैँले
दोषजति तिमीलाई थुपार्न पनि गाह्रो
सायद जित्नकै लागि लडिन्छ युद्ध
बाजी थापेपछि हार्न पनि गाह्रो
सल्यानटार १, धादिङ,
हालः चितवन
मधुपर्क २०६८ साउन
