Skip to content

यी मेरा हातहरू
कुनै कालिगढले बनाएका
धारिला हतियारहरू होइनन्
कि म यिनै हातहरूको मद्दतले
कुनै निर्दोषको घाँटी छिनाइदिउँ !

यी हातहरू
कुनै कम्पनीले बनाएका
बन्दुकहरू पनि होइनन्
कसैको विशाल छातीमा
म आँखा चिम्लेर पड्काउँ !

म मेरा हातहरूले
कसैको सिउँदो उजाड्न चाहन्नँ
कसैलाई टुहुरा-टुहुरी बनाउन चाहन्नँ ।

यिनै हातहरूले बालेको
टायरको मुस्लोभित्र
म आफैँ हराउन चाहन्नँ
ढुंगाको गोलीबाट
फुटेको सिसाझैँ
म आफ्नो भाग्य
फुटेको हेर्न सक्दिनँ ।

मैले त यो धर्तीमा, यो माटोमा
मेरी आमाको मिहिनेत रोपेर
बाबाको सपना फुलाउनु छ
मेरा यिनै हातहरूले ।

मेरा यिनै हातहरूमा
मेरी आमाको दु:ख पोखिएको छ
मेरा हातका प्रत्येक
नसानसामा
मेरी आमाको आँसु बगेको छ ।

पीडा, दु:ख, वेदना
सबै मनभित्र लुकाएर
मेरो बाबाले छोडेका नासो हुन्
यी मेरा हातहरू ।

नेपाल साप्ताहिक ४६३

Leave a Reply

Your email address will not be published. Required fields are marked *