Skip to content

वाघा बोर्डरमा एक साँझ

  • by


झन्डै ३० वर्षपछि पन्जाब घुम्ने मौका मिल्यो । विद्यार्थी उमेरमा घुमेको थिएँ । श्रीमती र कान्छो छोरोसित चण्डीगढबाट बसमा अमृतसर पुग्दा मध्याह्न भइसकेको थियो । होटेल रिसेप्सनमा मालिकले नाम लेख्न कापी तेर्साए । आफ्नो नाम लेखेँ, ठेगाना काठमाडौँ लेख्नेबित्तिकै उनले पहिचान मागे । पुलुक्क उनको अनुहार हेरेँ । उनले भने, “तपाईंले काठमाडौँ लेख्नुभयो, के गरौँ ?” मैले जवाफ दिएँ, “म नेपाली हुँ, काठमाडौँ नै त लेख्न पर्‍यो नि होइन ?” उनी हाँसे । राहदानी थियो, समस्या भएन । साँझमा वाघा लागियो, भारतीय र पाकिस्तानी गार्डको दैनिक कवाज हेर्न ।

मध्यपूर्व, युरोप एवम् मध्यएसियाका अध्ययनकर्ता, व्यापारी, सन्त, जनसाधारण, राजा-महाराजा, आक्रमणकारीहरू यसै क्षेत्रबाट गङ्गाको मैदानी भागतिर आए, गए । सन् १९७० पछि अफगानिस्तानमा पूर्वसोभियत सङ्घले हस्तक्षेप गर्नुअघि र मध्यपूर्वको राजनीतिले हिंसात्मक झुकाउ लिनुअघि नेपाल आउने युरोपेली पर्यटकहरू गाडी लिएर यतैबाट आउँथे । हिजोआजको स्थिति भिन्नै छ ।

वाघाछेउ आइपुग्ने क्रममा तारबार र काँडेतारले स्वागत गरे । यद्यपि, पटाङ्गिनी साह्रै सफा-सुग्घर थियो । भारतपट्टबिाट पाकिस्तानी सीमा हेरी हामी दर्शकदीर्घापट्ट िलाग्यौँ । महिला । पुरुषका लागि भिन्नाभिन्नै दीर्घा थिए ।

कवाज सुरु भएको थिएन । तारबारले मलाई अमेरिका-मेक्सीको सिमानामा सन् २००२ मार्चको साँझमा पुर्‍यायो । अन्तर्देशीय वातावरणीय चुनौतीहरू अध्ययन गर्ने क्रममा त्यतिबेला म संयुक्त राज्य अमेरिकाको सहर एलपासो पुगेको थिएँ । भ्रमण समूहमा वोस्तवाना, क्रोएसिया, प्यालेस्टाइन, सिरिया, जोर्डन, मेक्सिको र नाइजेरियाका सहभागीहरू पनि थिए । हामीहरू आईभीपी प्रोग्रामअन्तर्गत अमेरिकी सरकारका विशेष पाहुना -जे भिसावाला) थियौँ र हामीसँग अमेरिकी स्टेट डिपार्टमेन्टले खटाएका अमेरिकी सहयोगी साथमै थिए ।

हाम्रो समूहलाई मेक्सिकोका मित्रले सीमापारि मेक्सिकोको सहर व्हारेस घुम्ने निम्तो दिए । उनी त्यहीँ काम गर्थे । अध्यागमनमा कुरा गरी मेक्सिकोको भिसा मिलाइयो । हामी सबैको अमेरिकाका लागि मल्टी एन्ट्री भिसा थियो, फर्किने समस्या थिएन । उता लाग्यौँ र दिनभरि घुम्यौँ । साँझमा रियो ग्रान्डे नदीमाथिको पुल हुँदै एलपासो फर्कियौँ । दुवै किनारामा ठूलठूला तारबार थिए । संयोगले हाम्रो समूहको सबैभन्दा अगाडि प्यालेस्टाइनका बन्धु थिए, त्यसपछि सिरियाका अब्दुल मुसा । प्यालेस्टाइनी बन्धुको पासपोर्टमा अधिकारीले छाप लगाइदियो । दोस्रोको पासपोर्ट हेर्नेबित्तिकै ऊ अत्तालिएर चिच्यायो, गोमन सर्पले डसेजस्तै गरी । एकछिन हाहा-हुहु भयो, तुरुन्तै बाँकी रहेका हामी सबैलाई छेउको खास कोठामा लगियो । मुख्य हाकिम आइन्, हामी सबैलाई सशङ्कित आँखाले हेरिन् र सहायकलाई भनिन्, “वासिङ्टन फोन गर, जेटीटी लगाउनुपर्ला ।” हामी सबैले एकैपल्ट सोध्यौँ, “जेटीटी, भनेको के ?” जवाफ आयो, “ज्वाइन्ट टास्क फोर्स अन टेरोरिजम ।”

सेप्टेम्बर ११ को घटना भएको सात महिना मात्रै भएको थियो । मैले प्वाक्क जवाफ दिएँ, “लेडी यू आर ओभर डुइङ् इट ।” उनी झडङ्ग रिसाइन् । झन्डै तीन घण्टा लामो छानबिनपछि हामी निस्कियौँ । नयाँ र्फम भर्न लगाइयो । फोटा खिचिए, औँलाहरूको छाप कम्प्युटरमा राखिए । आफूलाई त्यस्तो निरीह अवस्थामा कहिल्यै पनि पाएको थिइनँ । सहयोगीले अध्यागमनमा कुरा गर्ने भनेका थिए, गरेका रहेनछन् । गरे-गरेनन् पहिले नै नसोधेर मुख्र्याइँ गरिएछ । राती होटलको झ्यालबाट तारबारबीच रहेको पुल काटी व्हारेसबाट एलपासो आउने गाडी र मान्छेको ताँती हेरिरहँे । त्यस माहौलमा आफैँ भुक्तभोगी भएको सम्झँे ।

विगुलको आवाजले मलाई वर्तमानमा ल्यायो । कवाज सुरु भयो । बोर्डर रक्षक निकै अग्ला, चुस्त र फुर्तिला थिए । त्यत्तिकैमा सामान्य पोसाक लगाएका एक व्यक्ति भट्याउन थाले, ‘माता कि जय !’, ‘जिन्दावाद’ । उनले दर्शकलाई बताए, “हाम्रा गार्डहरूलाई हौस्याउनुपर्‍यो, म भट्याउँछु, तपाईंहरू दोहोर्‍याउनुस् ।” सबै ताली पिट्न थाले । झन्डा फरफराउँदै सिमानातर्फ दौडिने काम पनि सुरु भयो । उतापट्ट िपनि कसैले दौडेर हिँडाएपछि फरफराइरहेको पाकिस्तानी झन्डा देखियो तर उस्तै खाले पाकिस्तानी नारा भने झिनो मात्रै सुनिन्थ्यो ।

पाँच नदीको डोब पन्जाब दुई देशमा विभाजित भएको वास्तविकता वाघामा जीवित थियो । भौतिक सिमानालाई मानसिक सिमानाले झन् तिखारेको । यद्यपि, दुवैपट्टकिाले आफ्नो मातृभूमिप्रति देखाएको समर्पण आफ्नो ठाउँमा ठीक । मैले आफ्ना सिमानाहरू सम्झेँ हिमाली भेगको र दक्षिणपट्टकिो मैदानी सिमाना ! भारतमा इन्जिनियरिङ् अध्ययन गर्न जाने क्रममा १९७२ मा दक्षिणी सिमाना काटेको सामान्य अनुभव रह्यो । त्यसै वर्ष दसैँको बिदा मनाएर उता जाँदा भने सीमा साँच्चिकै अनुभूति भयो । साथीहरूले मागेका दुईवटा र आफ्नो एक गरी मेरा साथमा तीनवटा जर्मनीमा बनेको स्टेडलर स्लाइड रुल थिए, त्यसबेलाको कम्प्युटर । साह्रै झन्झट गर्‍यो रक्सौल कस्टममा । टुटे-फुटेको हिन्दीमा हार-गुहार गरेको सम्झन्छु, पढाइका लागि चाहिन्छ भनेर तर मानेनन् । नेपाल फर्किने साथीलाई फिर्ता गराउनुपरेको थियो । पछिपछि कुरा गर्न जानियो, सिमाना वारिपारि गर्न गाह्रो भएन ।

बिनाभिसा आवतजावत गर्न पाइने नेपाल-भारत सिमाना । दुई देश, समाज र जनताबीच रहेको आत्मीयता जीवन्त रहिरहेको वर्तमान, एक हिसाबले छरपस्ट र अस्तव्यस्त छ । यताउता पारिवारिक सम्बन्धहरू छन्, बिहेवारी चल्छ, तीर्थाटन गर्न लाखौँ ओहोर-दोहोर गर्छन् । केही महिनाअघि पश्चिम नेपालमा नाका व्यवस्थित गर्ने कार्य सुरु भयो, सुरक्षाकर्मीले पाल टाँग्दै गरेका फोटाहरू छापिए । केही दिनपछि छापाहरूले लेखे, “आवतजावत स्वात्तै घट्यो ।”

यो परिवर्तनको सङ्केत हो । व्यवस्थित गर्दा कस्तो होला भविष्य भन्ने प्रश्न मेरो मनमा उठिरहन्छ । सफा-सुग्घर त होला तर वाघामा जस्तो सिमाना वारिपारि बसेर भट्याउने र नारा लगाउने वा ‘जेटीटी लगाउनुपर्‍यो’ भन्नेजस्तो भविष्यचाहिँ नहोस् । आफ्नो देशको अत्यन्तै चञ्चल सामाजिक चहलपहल विश्लेषण गर्दै भारतीय समाजशास्त्री आशिष नन्दीले भनेका छन्, “म यसमा आफ्नै खाले मिठास पाउँछु ।” उनकै भनाइ चोरेर मलाई भन्न मन लागेको छ, “नेपाल-भारत सिमानाको अस्त-व्यस्ततामा मैले पनि आफ्नै खाले सुरताल अनुभव गर्ने गर्छु ।” व्यवस्थित गर्ने क्रममा यसको माधुर्य नमरोस् ।

नेपाल साप्ताहिक
अंक १७९

Leave a Reply

Your email address will not be published. Required fields are marked *