विवश वस्ती नेपाली साहित्यकारका चिरपरिचित स्रष्टा हुन् । सिन्धुलीमा जन्मेर काठमाडौँमा बसोबास गर्ने उनका आधा दर्जनभन्दा बढी कृतिहरू प्रकाशित छन् ।उनको हाल प्रकाशित ‘यस पटक फुलेनछ गुराँस’ भित्र विभिन्न आकारका १८ वटा कथाहरू समेटिएका छन् । प्रस्तुत सङ्ग्रहका कथाहरूले जनयसुद्धको अनुभूति भोगाइ, जनआन्दोलनका घाइतेहरूको जीवन व्यथा, समाजमा रहेको छुवाछूतप्रथा आदिको यथार्थ चिरफार गर्ने प्रयास गरेका छन् । मान्छेले मान्छेमाथि गर्ने थिचोमिचो, कालाबजारी, भ्रष्टाचारजस्ता समसामयिक विषयवस्तुलाई कथामा जस्ताको तस्तै उतारिएको छ ।
‘यसपटक फुलेनछ गुराँस’ भित्रका अधिकांश कथाहरूले कथाकारको मानवतावादी सोचको मान्यताहरू बोकेका छन् । उनका यी कथाहरूले सामाजिक, राजनीतिक र चाकडीचाप्लुसीको प्रवृत्तिमाथि व्यङ्ग्य प्रहार गरेको छ । जनआन्दोलनमा घाइते भएको छोराको पीडाबाट बाहिर निस्कन नसकेको ‘म’ पात्र र उसैको धोकेवाज मित्रले जनआन्दोलनको घाइतेको रूपमा सम्मान पाएको विषयवस्तुलाई समेटेर लेखिएको कथा ‘मेरो छोराको लोकतन्त्र’ बाट सुरु गरेर आजका मानिसहरूमा बढ्दै गइरहेको अमर्यादित क्रियाकलाप, राजनीतिक दल र नेताका अमानवीयता, मानिसहरूमा बढ्दै गएको लोभको कारण बढेको भ्रष्टतालाई ‘मिथिलामा जनकको अपहरण’ कथा अन्तिममा समावेश गरिएका प्रस्तुत सङ्ग्रहले जनक अर्थात् रामलखनको अपहरित भएको छोराको बेहाल अवस्थाको चित्र उतारेको छ ।
जातीय विभेदले जरो गाडेको समाज, ठूलाबडाले सानालाई गर्ने हेपाहा व्यवहार र साज परिवर्तन गर्न चाहनेले चालेको कदमबाट थर्कमान बनेको ठूलाबडाको बारे लेखिएको ‘भोग’ कथा हो, जसमा सेते र पिताम्बर बाजेको कथा रहेको छ । जनयुद्धको बेला जनताले पाएका कष्ट र परिवर्तनका लालसा दुवै नै वस्तीका कथामा पाइन्छन् । आफ्नो श्रीमानलाई अपहरण गरेर लगेपछि फूलमायाले फर्काएर ल्याउनको लागि चालेको साहसिक यात्राले सम्पूर्ण नारीहरूको प्रतिनिधित्व गरेको छ र नारीले गरेको साहसिक यात्राको कथा ‘फूलमायाले लिखु तरिन’ हो भने प्रस्तुत सङ्ग्रहको शीर्ष कथा’ यसपटक फुलेनछ गुराँस’ मा ‘म’ पात्र पुख्र्यौली घर फर्केर आउँदा गाउँगाउँमा भएक्ो राजनीतिक परिवर्तनले पूरा गाउँ नै विस्थापित भएर गाउँ नै शून्य भएको छ । जनआन्दोलनले प्रकृतिलाई पनि स्वतन्त्ररूपमा फूलन डर भएको दुःखको कुरा अभिव्यक्त गरिएको छ ।
जनआन्दोलनको परिवेश र सामाजिक घटनाहरूलाई यथार्थरूपमा कथाहरूमा उतारेका छन् । जनआन्दोलनको परिवेशलाई छोएर लेखिए पनि तिनमा रहेका जीवन्त पात्र, तिनका समस्या, उनीहरूका अध्यारा र उज्याला पाटाहरूलाई यथार्थपरक ढङ्गले टिपेर विवश वस्तीका कथामा राखिएका छन् । साझा प्रकाशनबाट प्रकाशित ९३ पृष्ठको यस सङ्ग्रहको मूल्य १ सय ५५ रुपियाँ राखिएको छ ।
मधुपर्क २०६८ मंसीर
