Skip to content

प्रमूख शत्रु


अगेनामा मात्र चिसो खरानी देखिन्छ
बालेर निभाईएका दाउराका ठुटा, केही टुक्रा गोल
खाली डेक्ची देखाउनको लागि
बसालिएको हुनुपर्छ
सलाईको बट्टा अगेना छेऊमै मिल्किएको छ
(त्यो पनि शायद खाली हुनसक्छ)
चामलको डिब्बा एकातिर
दालको डिब्बा अर्कोतिर
बेवारिसे बम झैं फालिएको छ
र, लंगोटी सम्मले पनि नभ्याएका
लालाबालाहरू
उमेर भन्दा पनि धेरै अघि चाउरी परेकी
मनमायाको निस्तेज जस्तै आँखा,
धनबहादुरको बाटो कुरी बसेको छ ।

धनबहादुर,
जेठको आगोमा झोसिएर
रिक्शाको पांग्रासँगै दौडिरहेछ
भोकलाई पराजित गर्न
लाजलाई घुम्टो हालिदिन
र उसलाई थाहाछ .
दिनभरिको अथक प्रयासमा
ऊ भोकलाई पूर्णरूपमा परास्त गर्न सक्दैन
उसका लालाबलाहरूको आँग
निश्चित रूपमा ढाक्न सक्दैन
तर पनि ऊ युद्धरत छ
प्रमूख शत्रुलाई पराजित गर्न ।

गोधुलीसँगै
अन्धकार झन ब्याप्त हुन् थाल्छ
थकित मनभित्रै पनि,
दिनभरिको मेहेनतसँग साटेर पाएको
केही मुट्ठी अन्न पोकोपारी
घरतिर हिद्द्छ ऊ !
सँधै झैं,
आज पनि परास्त गर्न नसकेको
पीडाबोधको बोझ मनभरि
हीनताबोधको आँसु परेलीमा थाम्दै
आफ्नो विशालकाय त्यो प्रमूख शत्रुलाई
सम्झिन्दै सम्झिन्दै,
बाटोमा समाचार गुन्जिरहेको थियो
कुन्नि के को हो, म्याद थपेको कुरा !
तर ऊ भने आफ्नो सुरमा जाँदै थियो
पोको पारेको भोक सुम्सुम्याउन्दै थियो !

Leave a Reply

Your email address will not be published. Required fields are marked *