देश,
सिमानामा मात्र हैन
भावनामा पनि हुन्छ
जसको मनमा दुख्छ देश
उसकै मनमा रुन्छ ।
देशको परिभाषा
अब तिमीसँग मात्र छैन
तिमीले टेकेको
त्यो माटो मात्र देश हैन
देश छातीभित्र हुन्छ
खोजिहेर मुटुनेर
देश त्यहीँनेर भेटिन्छ ।
देश, देशमा मात्र हैन
देशावर पनि हुन्छ
देशान्तरमा पनि हुन्छ
देश दूर यो परदेशमा पनि हुन्छ
जसको छातीभित्र देश हुन्छ
हो, उसकै मनमा देश रुन्छ ।
जसको मनमा देश रून्छ,
बसेको हुन्छ उही
आफ्ना दुःखपीडा सबै लुकाई
सधैँ एउटै मन्त्र जपी
जननी त्यो जन्मभूमि
स्वर्गदपि गरियसी !
हो, देशको परिभाषा
अब तिमीसँग मात्र छैन
तिमीले टेकेको माटो मात्र देश हैन ।
शनिबार, गोरखापत्र
पुस ९, २०६८
