Skip to content


हिजोआज प्रत्येक पल
मृत्युसँगैको जम्काभेटले
म बदलिएकी छु ।

मैले देखेँ
पानीले आत्महत्या गर्दै
माथिमाथि
आकासिएर कुइरो बनेको
अनि
कुइरोले आत्महत्या गर्दै
तलतल
झरेर पानी बनेको ।

आहा…
कति आनन्ददायी रूपान्तरण
प्रकृतिसँग प्रकृतिको !

म पनि कुइरो भएरै उडी हेरेँ
पानी भएरै बगी हेरेँ
बालीलाई सञ्चित गर्दै
माटोभित्रै पसी हेरेँ
सासहरूलाई बचाउँदै
रगतभित्रै पसी हेरेँ ।

तर अफसोस !
बगरेहरू भाँडा थापिरहेछन्
म रगत भएर बग्छु
बुद्धिजीवीहरू
पैसा हातमा लिएर बसिरहेछन्
म त मासु भएरै बिक्छु
जब स्वादिष्ट भोजनसरी
म भुटिन्छु
तब म पुनः
आफ्नो अस्तित्वलाई बचाउँदै
बाफ बनेर
उनीहरूबाट छुटिन्छु ।

कसले भन्न सक्छ मैले मृत्यु देखेकी छैन !
कसले भन्न सक्छ मैले मृत्यु भोगेकी छैन !
कसले भन्न सक्छ मैले मृत्यु बोकेकी छैन !

त्यसैले त म मात्र उनीहरूबाट बँच्न
चिसोभन्दा पनि चिसो
बरफको चट्टान बनेकी छु
जसलाई छुन खोज्नेहरू
आफैँ कठ्याँगि्रएर मर्छन्
स्नेह बर्साउनेहरूको तापले
म आफैँ पग्लिएर झर्छु ।

हो,
त्यसैले हिजोआज प्रत्येक पल
मृत्युसँगको जम्काभेटले
म बदलिएकी छु
यसैलाई भनिन्छ सायद रूपान्तरण ।

नेपाल साप्ताहिक अंक ४७२

Leave a Reply

Your email address will not be published. Required fields are marked *