Skip to content


आकाङ्क्षाका भारी बोकेर मनभरि
सपनाको स्वणिर्म जीवन देखेर आँखाभरि !
झर्न लागेका आँसुका थोपालाई
लुकाएर आँखाभित्रै
रसिला आँखाले मुस्कुराएर
बिदा गरी
भर्खरै उसकी भएर
भित्रिएकी नवदुलहीले
अरबको ‘लाहुरे’ बन्न
जोसिएको उसको नवदुलाहालाई !

जीवनको रमाइलो यात्रा
अभावविहीन जिन्दगी
त्यसमा फुल्ने सुवासित, सुन्दर फूलहरू
उन्मुक्तताको बतासमा उड्ने
स्वच्छन्द पलहरू !
उसको नवदुलाहा फर्केर आएको दिन !

कल्पनामै सीमित रहे
वर्षैपिच्छे दोहोरिएका दिन-रात
उषाको किरणका पोलाइहरू
पूर्णेको रातका डसाइहरू ।
मनसुनको वर्षाले पनि
नभिजेको तन लिएर
घुम्दैछ उही नवदुलही
अस्पताल अस्पतालका ढोका ढक्ढकाउँदै
लाग्दै नलागेको रोग बुझाउँदै
अतृप्त रित्तो मन लिएर ।

उजाडिएको आफ्नो आँगन देख्दा
झस्कन्छे !
विक्षिप्त उही नवदुलही
जिन्दगीको स्वणिर्म यात्रा अभावमै पूर्ण थियो कि ?
मरुभूमिमा फूल फुलाउने यात्रा
कठोर रै’छ/निर्दयी रै’छ
सबै कुरा साझा नै छन् ।

नेपाल साप्ताहिक अंक ४७४

Leave a Reply

Your email address will not be published. Required fields are marked *