Skip to content

राजनीतिज्ञको फुर्सदिलो साहित्यिक यात्रा

  • by


एकीकृत नेकपा माओवादीका उपाध्यक्ष मोहन वैद्य ‘किरण’ लाई पछिल्लो कृति मार्क्सवादी दर्शन प्रकाशन गर्न ११ वर्ष लाग्यो । नेपाली कम्युनिस्ट आन्दोलनका अगुवा यी पाका रूखो मिजासका साहित्यप्रेमीलाई राजनीतिक गतिविधिमा वढी समय खर्चनुपरेकाले पुस्तकाकार दिन त्यति समय लागेको हो रे । सो पुस्तकको सुरूआतमै उनले लेखेका छन्, “दशवर्षे जनयुद्ध र विभिन्न राजनीतिक गतिविधिमा संलग्न रहनुपरेकाले पुस्तक प्रकाशनार्थ यत्रो समय लाग्यो ।”

सायद, साहित्यप्रेमी भएकै कारण पार्टीमा कमरेड “किरण’ले सुपरिचित उनी उपनामका समेत धनी छन् । चैतन्य र अगम पनि उनकै उपनाम हुन् । वि. सं. २०३७ मा लाहुरेको रहर खण्डकाव्यवाट साहित्यिक यात्रा -पुस्तकका रूपमा) सुरू गरेका वैद्यले त्यसकेा १७ वर्षपछि अर्को पुस्तक मार्क्सवादी कलादृष्टि र समीक्षा प्रकासन गर्नसके । कथा, कविता र उपन्यासमा समेत रूचि राख्ने उनका सबैजसो कृति कम्युनिस्ट दर्शनमा आधारित छन् ।

मार्क्सवादी कलादृष्टि र समीक्षा (२०५४), सङ्घर्षको दर्शन (२०६०), नेपाली समाज र संस्कृति (२०६१), क्रान्ति र सौन्दर्य (२०६४) समीक्षा र सौन्दर्य (२०६५) र मार्क्सवाद र संस्कृति (२०६६) उनका कृति हुन् । बाबा राजनीतिक गतिविधिका कारण साहित्यलाई समय दिन नपाएको गुनासो परिवारमा कहिले कहिले गर्नुहुन्छ,” वैद्य पुत्री सृजना शर्मा भन्छिन्, “तैपनि समय मिलाउन सक्नुभएकै छैन ।” प्रमुख पेसा राजनीति बनाएर पनि साहित्यप्रति अगाध स्नेह राख्ने अधिकांशको एउटै गुनासो र दुखेसो छ, “राजनीतिमा लागेकै कारण साहित्यिक गतिविधिमा इच्छा लागेजति समय दिन सकिएन ।”

सभासद एवम् नेपाली काङ्ग्रेसका नेता नरहरि आचार्य राजनीतिमा सक्रिय रहँदा साहित्यिक सिर्जनामा ‘केही न केही समय कम हुने’ भए पनि त्यसकै कारण यस क्षेत्रमा समर्पित रहन सकिँदैन भन्नु ढाट्ने र बहाना बनाउने मेलो मात्र भएको टिप्पणी गर्नुहुन्छ । आचार्यकै शब्दमा भन्दा उहाँ यतिवेला ‘पाठकमा मात्र सीमित हुनुभएको छ ।’ “समय नपाएर मात्रै भन्नु भन्दा पनि अभिमुखीकरण अन्यत्र मोडिएर यस क्षेत्रमा निष्क्रिय बन्नु परेको हो,” साहित्य र राजनीति अन्र्तसम्बन्धित विषय भएको धारणा राख्ने उहाँको अनुभव छ, “साहित्यिक धार र अध्ययनमा भने निरन्तरता दिँदै आएको छु ।”

परिशीलन र सोमनाथ सिग्देलको महाकाब्य साधना गरी दुई वटा समालोचनाका सर्जक उहाँका थुप्रै फुटकर कविता र निबन्ध प्रकाशित छन् भने नेपाली कविता र अलङ्कार सम्बन्धी पाण्डुलिपि प्रकाशनका लागि तयार छ ।

आफूलाई राजनीतिज्ञभन्दा पनि साहित्यकार भन्न रूचाउने एमाले सल्लाहकार कमिटीका सदस्य मोदनाथ प्रश्रित पनि साहित्यमा सक्रिय हुन राजनीतिले कहिलेकाहीँ अल्झाएको अनुभव सुनाउँछन् । “पञ्चायत विरूद्ध सक्रिय हुुँदा साहित्यका लागि समय ठ्याक्कै नपाइने, राजनीतिमा लागेपछि त्यस्तै हो” झण्डै साढे नौ वर्ष जेल विताएका यिनै बामबुद्धिजीवीले अनुभव सुनाए, “जेलभित्र धेरै समय पाइने र खुला राजनीतिमा आएपछि पनि केही समय निकालेँ ।” नाटक, कथा, कविता र संस्मरणलगायतका सबैजसो विधामा झण्डै चार दर्जन भन्दा बढी कृति पस्किइसकेका उनले दक्षिण एसिया र नेपाल नामक पुस्तक प्रकाशनका लागि अन्तिम रूप दिंदै गरेको बताए ।

उस्तै व्यस्त राजनीतिक जीवन छ, साहित्यप्रेमी राजनीतिज्ञ देवेन्द्र पौडेल ‘सुनिल’ को । प्रधानमन्त्री डा. बाबुराम भट्टराईका राजनीतिक सल्लाहकार, सभासद र एकीकृत नेकपा माओवादीका पोलिटव्युरो सदस्यको तेहेरो जिम्मेवारी वहन गरिरहेका सुनिललेे यतिवेला त झन् साहित्य रचना र अध्ययनका लागि समय निकाल्नै पाएका छैनन् रे । “मेरो पनि उस्तै हाल हो, म पनि राजनीतिमा सक्रिय छु नि” उनी सुनाउँछन्, “चाहेर पनि साहित्यिक गतिविधिमा मेरो क्रियाशीलता कम भएको छ तर सकेसम्म संयोजन गरेकै छु ।”

सानैदेखि साहित्यप्रति झुकाव राख्ने पौडेलका उन्यु फुलेन कार्कीनेटोमा, लालीगुराँस फूल, उल्झनलगायतका प्रकाशित कृति हुन् भने एउटा उपन्यासको तयारी अवस्थामा रहेको पाण्डुलिपि पनि समयाभावका कारण तखतामा थन्किएर बसेको छ ।

राजनीति र साहित्यको अन्र्तसम्बन्धका विषयमा सोधिएको प्रश्नमा उनको टिप्पणी थियो, “साहित्य मिठो, सहज र स्वभाविक विधा हो भने राजनीति सीधा, प्रष्ट र खरो तर दुवैको एक अर्कासँग अन्योन्याश्रति सम्बन्ध ।”

नेपाली काङ्ग्रेसका सभासद बलदेव शर्मा मजगैंया पनि अरूकै जस्तो राजनीतिमा सक्रिय रहँदा साहित्यका लागि समय कम हुने गरेको अनुभव सुनाउँछन् । “राजनीतिमा लागेपछि समयभावका कारण सोचेजस्तो साहित्यिक कार्यक्रममा सहभागी हुन, लेख्न र अध्ययनमा लाग्न पाइँदैन,” सक्रिय राजनीतिमा नरहेका मजगैंयाले भने, “मलाई पनि समय नपुगेकै अनुभूति भएको छ ।”

मानुषी, विवशता, नरमणि कुहिरो, चारू, वेलपत्रलगायतका कविता, मुक्तक गीत र कथा सङ्ग्रहले पुस्तकाकार दिइसकेका मजगैंयाले त्रिशूल कविता सङ्ग्रहलाई अन्तिम रूप दिँदै गरेको बताए । “विषयवस्तु र परिवेश एउटै तर प्रस्तुति फरक” राजनीति र साहित्यको अन्र्तसम्बन्धका विषयमा उनको टिप्पणी थियो ।

नेकपा एमाले केन्द्रीय कमिटीका सदस्य एवम् साहित्यकार प्रदीप नेपाल भने साहित्य सिर्जनाका लागि सामग्री जुटाइदिने माध्यम नै राजनीति भएकोले अझ बढी फाइदा लिन सकेकोमा गर्व गर्छन् । “खासै राजनीति गरेकै कारण साहित्यमा समय दिन सकिन भन्ने अनुभव भएको छैन,” उनले राजनीतिक साहित्यको भाषामा अर्थ्याए, “समय समायोजन गरेकै छु ।” उपन्यास, नियात्रा र कथा विधाका उनका ३५ वटा कृति सार्वजनिक भइसकेका छन् ।

साहित्यप्रेमी एकीकृत नेकपा माओवादीका पोलिटब्यूरो सदस्य एवम् सभासद विश्वभक्त दुवाल ‘आहुति’ लाई पनि साहित्यिक यात्रालाई राजनीतिले अल्मल्याएको आभास हुन्छ रे । समयाभावका कारण आफूले लेखनमा पर्याप्त समय खर्चिन नसकेको बताउने उनका नयाँ घर र स्खलन उपन्यास, तपस्वीका गीतहरू कविता सङ्ग्रह, दलन टेलिशृङ्खला सार्वजनिक गरिएका कृति हुन् ।

मधुपर्क २०६८ माघ

Leave a Reply

Your email address will not be published. Required fields are marked *