ती पाखा, पहरा, गुफा र वनमा खोजेँ कुना कन्दरा ।
आमा छन् कि भनी नियाल्दछु सधैँ यी खेत बारी गरा ।।
भेटिन्नौ अझ शान्त ती चउरमा पूर्णेन्दुका रातमा ।
भेटिन्छौ न त यी प्रचण्ड दिनमा आनन्दका साथमा ।।
सोधेँ सुन्दर लाल फूलसित रे, ‘देख्यौ कि आमा’ भनी ?
बोली त्यो नखरा झिकेर नखरे, ‘चिन्दैन आमा’ भनी ।।
हेर्यो शावकले र देख्दिन भनी सङ्केत गर्यो अनि ।
‘देखेमा दिउँला छिटै खबर’झैँ उड्यो र कौवा पनि ।।
कालो कण्टक रातमा सगरले रोयो कठै झर्झरी ।
एक्लो झन्झट साँझमा बगरले रोयो सधैँ धर्धरी ।।
रुन्छन् आज अझै यहाँ कति थरी सम्झेर आमाकन ।
‘हे प्यारा रुनु हुन्न पोल्छ दिलले’ झट्टै भनिद्यौ अब ।।
त्यो मातृत्वबिना त कष्टकर भो यो देहका अङ्गमा ।
यो वात्सल्यबिना कहाँ फरक भो, त्योगालका रङ्गमा ?
आई झ्याल र द्वार बन्द घरका आमा छिटै खोल न ।
अँध्यारा घरमा नयाँ किरणकी आनन्दले ढोल न ।।
भो खेल्दैन लुकीछिपी फगतमा सक्तैन भेटाउन ।
मायाले गर अङ्कमाल, दिलको तृष्णा छ मेटाउन ।।
आमा फर्क न फर्क फर्क अब ता छोरो यहाँ शान्त भो ।
पीडा कण्टक छैन, हुन्न झगडा, यो देशमा शान्त भो ।।
नेपाल साप्ताहिक अंक ३२५
