न थापा जागे
न उमा ब्यूँझिन्
कलमको निप जोगाउन
पत्रकारहरूको बैठक छ रे !
विद्रोहीको बमको धूवाँ बनेका
असहाय कलमवीरहरू
न लेख्न सक्छन्
न बोल्न सक्छन् ।
मसी बेचेर नामी बनेका
अनाम ‘सहिदहरू’ ?
न हुँकार गर्न सक्छन्
न पुकारा गर्न सक्छन् ।
शासकसँग अक्षर किन्न
पत्रकारहरूको बैठक छ रे !
अंशबन्डाको राजनीतिमा सेरिएका
राजनीतिक लेखनीहरू
न बाझ्न सक्छन्
न बाँच्न सक्छन् ।
जोशीहरूको जोस निभ्यो
शाहहरूको विजय मर्यो ।
शब्दको मोल बढाउन
पत्रकारहरूको बैठक छ रे !
नेपाल साप्ताहिक ३३५
